News Summary
Generated by OK AI. Editorially reviewed.- पेल्भिक इन्फ्लामेटरी डिजिज (पीआईडी) महिलाको प्रजनन प्रणालीमा ब्याक्टेरिया संक्रमणले हुने रोग हो, जसले गर्भाशय, डिम्बवाहीनी नली र अण्डाशयलाई असर गर्छ।
पेटको तल्लो भागमा लगातार दुखाइ हुनु, योनिबाट असामान्य स्राव आउनु, वा यौन सम्पर्क गर्दा दुखाइ महसुस हुनु । यी सबै लक्षणहरूलाई धेरै महिलाले सामान्य समस्या ठानेर बेवास्ता गर्छन् । तर यस्ता लक्षणहरू कहिलेकाहीँ ‘पेल्भिक इन्फ्लामेटरी डिजिज’जस्तो प्रजनन् अंगमा हुने संक्रमणका कारण पनि हुन सक्छन् ।
यो समस्या सुरुमा सामान्य जस्तो देखिए पनि, समयमै ध्यान नदिँदा यसले गम्भीर रूप लिनसक्छ र भविष्यमा प्रजनन स्वास्थ्यमा असर पुर्याउन सक्छ।
के हो ‘पेल्भिक इन्फ्लामेटरी डिजिज (पीआईडी)’ ?
पेल्भिक इन्फ्लामेटरी डिजिज (पीआईडी) महिलाको प्रजनन प्रणालीमा हुने संक्रमण हो, जसले मुख्य रूपमा गर्भाशय, डिम्बवाहीनीनली र अण्डाशयलाई असर गर्छ ।
यो रोग हानिकारक ब्याक्टेरिया योनिबाटभित्र प्रवेश गरेर माथिल्लो प्रजनन अंगहरूमा फैलिएर हुनसक्छ । सामान्य अवस्थामा शरीरको प्राकृतिक संरचनाले यी ब्याक्टेरियालाई रोक्ने काम गर्छ, तर कुनै कारणले यो सुरक्षा प्रणाली कमजोर भएमा संक्रमण फैलिन सक्छ । यो रोगको विशेषता भनेको यसको प्रभाव क्रमशः बढ्दै जानु हो ।
सुरुमा सामान्य संक्रमणजस्तो देखिए पनि, समयसँगै यसले डिम्बवाहीनी नलीमाा दाग बनाउँछ, जसले अण्डाको गतिलाई अवरोध गर्न सक्छ । यसले गर्भधारण प्रक्रियामा बाधा पुर्याउँछ । यसलाई केवल शारीरिक मात्र नभई मानसिक रूपमा पनि असर पार्ने रोग मानिन्छ, किनकि यसले महिलामा तनाव र चिन्ता बढाउन सक्छ ।
पीआईडी कति सामान्य छ ?
प्रजनन् उमेरका महिलाहरूमा पेल्भिक इन्फ्लामेटरी डिजिज विश्वभरि देखिने एक सामान्य समस्या हो । अध्ययनहरूका अनुसार, हरेक वर्ष लाखौं महिलाहरू पीआईडीबाट प्रभावित हुन्छन् ।
यो रोग विशेषगरी १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरूमा बढी देखिन्छ, किनकि यस उमेरमा यौन सक्रियता बढी हुने गर्छ । यसको व्यापकता विभिन्न देश र समाज अनुसार फरक हुन सक्छ, तर यसको प्रभाव सर्वत्र देखिन्छ । धेरै महिलाहरूलाई यो समस्या भएको थाहा नै हुँदैन, किनकि यसको लक्षणहरू कहिलेकाहीँ स्पष्ट हुँदैनन् । यसले गर्दा रोग पहिचान हुन ढिला हुन्छ र जटिलता बढ्ने सम्भावना रहन्छ । ।
किन हुन्छ ?
पीआईडीको मुख्य कारण ब्याक्टेरियाको संक्रमण हो, जुन प्रायः यौन सम्पर्कमार्फत शरीरभित्र प्रवेश गर्छ ।विशेषगरी गोनोरिया र क्लामाइडिया जस्ता यौनजन्य संक्रमणहरू पीआईडीका प्रमुख कारण मानिन्छन् ।
यी ब्याक्टेरिया योनिबाट प्रवेश गरेर गर्भाशय र अन्य प्रजनन अंगहरूमा फैलिन्छन्, जसले संक्रमण र सूजन उत्पन्न गर्छ ।यो केवल यौन सम्पर्कबाट मात्र हुने होइन । केही अवस्थामा प्रसूति, गर्भपतन, वा शल्यक्रिया पछि पनि ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेर पीआईडी गराउन सक्छ । सामान्य रूपमा योनिमा पाइने ब्याक्टेरियाले पनि असन्तुलन हुँदा यो समस्या गराउन सक्छ ।
कस्ता लक्षण देखिन्छन् ?
केही अवस्थामा संक्रमण केही दिनमै देखिन सक्छ भने केही अवस्थामा महिनौँ लाग्न सक्छ । कहिलेकाहीँ स्पष्ट नदेखिन सक्छन्, जसले गर्दा धेरै महिलाहरूलाई रोग भएको थाहा हुँदैन । तर केही अवस्थामा लक्षणहरू अचानक र गम्भीर रूपमा देखा पर्न सक्छन् ।
सबैभन्दा सामान्य लक्षण भनेको पेटको तल्लो भागमा हुने दुखाइ हो, जुन निरन्तर वा हल्का–बलियो रूपमा हुनसक्छ ।योनिबाट असामान्य स्राव पनि अर्को महत्वपूर्ण संकेत हो । यो स्राव प्रायः पहेंलो वा हरियो रंगको हुन्छ र दुर्गन्धयुक्त हुन सक्छ ।
ज्वरो, वाकवाकी, बान्ता र शरीरमा कमजोरी पनि देखिन सक्छ । यौन सम्पर्क गर्दा दुखाइ हुनु र पिसाब गर्दा पोल्नु पनि सामान्य लक्षणहरू हुन् । महिनावारी अनियमित हुनु वा बीच–बीचमा रगत बग्नु पनि पीआईडीको संकेत हुन सक्छ ।
जोखिममा को बढी ?
पीआईडी सबै महिलामा हुनसक्छ, तर केही समूहहरूमा यसको जोखिम बढी हुन्छ । विशेषगरी यौन सक्रिय र कम उमेरका महिलाहरू यसको उच्च जोखिममा पर्छन् ।
धेरै यौनसाथी बनाउनु वा आफ्नो यौनसाथी बनाउनुको पनि धेरै पार्टनर हुनुको सम्भावना बढाउने प्रमुख कारण हो । पहिले यो समस्या भइसकेका महिलाहरूमा पुनः यो रोग हुने सम्भावना बढी हुन्छ । केही शल्यक्रिया वा प्रजनन प्रणालीसँग सम्बन्धित उपचार गराएका महिलाहरू पनि जोखिममा पर्न सक्छन् ।
जोखिमको अर्को महत्वपूर्ण पक्ष भनेको स्वास्थ्यसम्बन्धी जानकारीको अभाव हो । यदि व्यक्तिले सुरक्षित यौन व्यवहार अपनाउँदैन वा नियमित स्वास्थ्य परीक्षण गर्दैन भने पीआईडी हुने सम्भावना बढ्छ ।
के कस्ता परीक्षण आवश्यक पर्छ ?
पीआईडीको पहिचान गर्न कुनै एउटा मात्र निश्चित परीक्षण हुँदैन, त्यसैले चिकित्सकले विभिन्न विधिहरू प्रयोग गर्छन् । सबैभन्दा पहिले बिरामीको स्वास्थ्य इतिहास र लक्षणहरूबारे जानकारी लिइन्छ । त्यसपछि पाठेघरबाट प्रजनन अंगहरूको अवस्था जाँच गरिन्छ ।
योनिबाट स्रावको नमूना लिएर ब्याक्टेरियाको परीक्षण गरिन्छ । साथै, रगत र पिसाब परीक्षण गरेर अन्य सम्भावित संक्रमणहरू हटाइन्छ । कहिलेकाहीँ थप परीक्षणहरू जस्तै एन्डोमेट्रयल बायोप्सी पनि आवश्यक पर्न सक्छ । यी परीक्षणहरूले पीआईडीको पुष्टि गर्न र अन्य समस्याहरू छुट्याउन मद्दत गर्छन् ।
के छ उपचार ?
पीआईडीको उपचार मुख्य रूपमा एन्टीबायोटिक्स प्रयोग गरेर गरिन्छ । चिकित्सकले प्रायः १४ दिनसम्म औषधि सेवन गर्न सल्लाह दिन्छन् । लक्षण कम भए पनि औषधि पूरा गर्नु अत्यन्त आवश्यक हुन्छ, किनकि संक्रमण पूर्ण रूपमा निको नभए पुनः समस्या देखिन सक्छ ।
गम्भीर अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना गरेर आईभीमार्फत औषधि दिनुपर्छ । यदि संक्रमण धेरै फैलिएको छ भने थप उपचार आवश्यक पर्न सक्छ । दुर्लभ अवस्थामा शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको यसको उपचारमा यौन पार्टनरको पनि भूमिका महत्वपूर्ण हुन्छ । यदि पार्टनरले उपचार नगरेमा पुनः संक्रमण हुने सम्भावना रहन्छ ।
त्यसैले, दुवैले उपचार पूरा गरेपछि मात्र यौन सम्पर्क गर्नु सुरक्षित हुन्छ ।त्यस्तै, यदि रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भने संक्रमण हुने सम्भावना कम हुन्छ । शरीरले भाइरस र ब्याक्टेरियासँग राम्रोसँग लड्न सक्छ । स्वस्थ खाना, आराम र व्यायामले प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
उपचार नहुँदा देखिन सक्छन् यस्ता समस्या
पेल्भिक इन्फ्लामेटरी डिजिज समयमै उपचार नगरिएमा यसको असर बिस्तारै गम्भीर हुँदै जान सक्छ । सुरुमा सामान्य संक्रमण जस्तो देखिए पनि, लामो समयसम्म रहँदा यसले प्रजनन अंगहरूमा स्थायी क्षति पुर्याउन सक्छ ।
विशेषगरी डिम्बवाहीनी नलीमा दाग बन्न थाल्छ, जसले प्रजनन प्रक्रियामा बाधा पुर्याउँछ र विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । सबैभन्दा सामान्य जटिलता भनेको दीर्घकालीन पेल्भिक दुखाइ हो । धेरै महिलाहरूमा संक्रमण निको भइसकेपछि पनि लामो समयसम्म पेटको तल्लो भागमा दुखाइ रहिरहन्छ ।
अध्ययनहरूका अनुसार करिब २० प्रतिशत महिलाहरूमा यस्तो प्रकारको दीर्घकालीन दुखाइ देखिन सक्छ, जसले दैनिक जीवनमा असर पुर्याउँछ ।
त्यसैगरी, पीआईडीको कारण एक्टोपिक प्रेगनेन्सी (गर्भाशय बाहिर हुने गर्भ) को जोखिम पनि बढ्छ । डिम्बवाहीनी नलीमा बनेको दागका कारण निषेचित अण्डा गर्भाशयसम्म पुग्न नसकी ट्युबमै अड्किन्छ । यस्तो अवस्था अत्यन्त जोखिमपूर्ण हुन्छ र तुरुन्त उपचार आवश्यक पर्छ ।
यसको अर्को गम्भीर असर भनेको बाँझोपन हो । फेलोपियन ट्युब बन्द हुने वा क्षति पुग्ने कारणले अण्डा र शुक्रकीटको भेट हुन नसक्ने हुन्छ, जसले गर्भधारण असम्भव बनाउँछ । करिब १० प्रतिशत महिलाहरू पीआईडीका कारण सन्तान प्राप्त गर्न असमर्थ हुन सक्छन् ।
प्रतिक्रिया 4