News Summary
Generated by OK AI. Editorially reviewed.- क्यान्सरको उपचारका लागि भारत जाँदा आफन्तको असहयोग र समाजमा व्याप्त त्रासलाई चिर्दै बिरामीका श्रीमानले अदम्य साहस र सतर्कतापूर्वक उपचार प्रक्रिया अगाडि बढाएका छन्।
श्रीमतीको क्यान्सर उपचारका लागि भारततर्फ लैजाने तयारीमा लागेको थिएँ । म यसरी नेपाल छाडेर भारत जान लाग्दै गर्दा न कसैले ‘नजाऊ’ भने, न कसैले ‘एकदम ठिक गर्यौ’ भनेर ढाडस नै दिए ।
यो सम्पूर्ण अनुसन्धान र अस्पतालको खोजीका क्रममा कसैले पनि ‘फलाना ठाउँमा चाहिँ शतप्रतिशत विश्वासिलो उपचार हुन्छ’ भनेर ठोकुवा गर्न सकेनन् ।
यसको पछाडि कुनै रिस वा द्वेष थिएन, यसको एकमात्र कारण थियो– हाम्रो समाजमा क्यान्सरको नाममा फैलाइएको भयावह त्रास । मानिसहरूलाई लाग्छ, यदि क्यान्सरको बिरामीलाई यो अस्पताल जाऊ भनियो र भोलि उपचारकै क्रममा तल-माथि भयो भने जवाफदेही हुनुपर्छ ।
यही डरका कारण मानिसहरू क्यान्सरको प्रश्नमा सीधा उत्तर दिनबाट पन्छिँदा रहेछन् । क्यान्सरको सामाजिक र मानसिक पाटो कति जटिल छ भन्ने कुरा मैले यो यात्रामा भुक्तभोगी भएर बुझ्दै गएँ।
आफन्तबाट असहयोग
अब एउटा विरानो देशमा जानु थियो, जहाँ भाषा, भूगोल र मानिसहरू सबै अपरिचित थिए । कुनै पनि अस्पतालले क्यान्सरको उपचारमा ‘ठ्याक्कै यति नै पैसा लाग्छ’ भनेर सुरुमा भन्न सक्दैन । तर, बिरामीको परिवारले आफ्नो आर्थिक हैसियत (ल्याकत) ले भ्याउँछ कि भ्याउँदैन भनेर बजेट अनुमान गर्नै पर्ने हुन्छ । मैले यसपटक आफ्नो आर्थिक हैसियत हेरिनँ, बस ‘चार तहको अर्थ नीति’ लिएर अगाडि बढेँ ।
हामी एउटा निम्न-मध्यम वर्गीय परिवार। बुबाको स्वर्गारोहण भइसकेको थियो । परिवारमा अदालतबाट अंशबण्डाको फैसला त भइसकेको थियो, तर दाजुभाइ मिलेर जमिन छुट्टाउन बाँकी नै थियो । कतिपय जग्गामा मोहीको समस्या सुल्झिन बाँकी थियो । सम्पत्तिको नाममा जमिन त थियो, तर त्यो तत्कालीन अवस्थामा बैंकिङ कारोबारका लागि काम नलाग्ने कागजी खोस्टोजस्तै थियो ।
मेरो मनमा लागेको थियो– यस्तो कठिन परिस्थितिमा दाजुभाइले अवश्य पनि साथ दिनेछन् । तर जग्गा बन्धकी राखेर ऋण निकाल्नका लागि गरिने एउटा सामान्य कागजातमा समेत दाजुहरूले हस्ताक्षर गर्न मानेनन् । यो पीडा आज पनि मेरो हृदयमा एउटा मानसिक ‘क्यान्सर’ को चोट बनेर बसेको छ ।
मैले श्रीमतीको शरीरको क्यान्सरसँगै आफ्नै परिवारभित्र लुकेको स्वार्थ र अहंकारको अर्को डरलाग्दो क्यान्सरसँग पनि साक्षात्कार गर्नुपर्यो मैले । दाजुहरूको त्यो सोच र आफन्तहरूको मौनताले मलाई भित्रभित्रै अर्को पीडाको खाडलमा धकेल्यो । सायद उहाँहरूको पनि आफ्नै व्यवहारिक समस्या थियो होला भनेर चित्त बुझाउनुको विकल्प थिएन ।
अन्ततः, कसैका अगाडि दुई हात नथापी, म केवल एउटा अदम्य साहस र माता कालिकाप्रतिको अगाध विश्वासको भरमा आकाशको बाटो हुँदै दिल्लीतर्फ उडेँ । अब मेरो अगाडि एउटा मात्र होइन, धेरै मोर्चाहरूमा युद्ध लड्नु थियो— दिल्लीको नयाँ हावापानीसँगको युद्ध, अस्पताल प्रशासनको कडा सिस्टमसँगको युद्ध, नेपाली भनेर नजिकिने र ठग्ने नेपाली व्यापारीहरूसँगको युद्ध, र सबैभन्दा मुख्य कुरा उपचारका क्रममा बिरामीको मानसिक र शारीरिक अवस्थालाई सन्तुलनमा राख्ने युद्ध । अर्को मुख्य युद्ध आर्थिक व्यवस्थापन त छँदै थियो ।
दिल्ली अवतरण र अस्पतालको ‘सिस्टम’
शिवरात्रीको बिहान, अर्थात् आइतबार हामी दिल्ली पुग्यौँ । राजीव गान्धी अस्पतालको नजिकै रहेको ‘सोमबजार’ भन्ने ठाउँमा दैनिक ८०० भारतीय रुपैयाँ (भारु) मा एउटा कोठा भाडामा लियौँ । कोठामा खाना पकाउने भाँडाकुँडादेखि लिएर ओछ्यानसम्मका सबै आवश्यक सामानहरू थिए । श्रीमतीलाई खाना खुवाएर आराम गराएपछि म अस्पतालको वस्तुस्थिति बुझ्न एक्लै निस्किएँ ।
आइतबार भएकाले अस्पतालका ओपिडी सेवाहरू बन्द थिए । बिरामीलाई पहिलोपटक कहाँ लैजाने, कुन डाक्टरलाई भेटाउने, र के-के रिपोर्टहरू देखाउने ? यी सबै कुरा मैले नेपालमै छँदा अध्ययन गरिसकेको थिएँ ।
मेरा डाक्टर साथी, कोलन क्यान्सरका सर्जन डा. बिबुश शर्मासँग धेरै सल्लाह लिएको थिएँ । नेपालबाट हिँड्ने बेला काठमाडौँको सम्यक डायग्नोस्टिकका डा. देविश प्याकुरेलले मलाई उपचारका लागि चाहिने सिटी स्क्यानको सिडी र बायोप्सीको सक्कल बट्टा अनिवार्य रूपमा साथमै लिएर जान विशेष सल्लाह दिनुभएको थियो, जुन मेरो लागि महामन्त्र साबित भयो ।
सोमबार बिहानै अस्पताल पुग्यौँ । अस्पतालको हेल्प डेस्कमा रहेका कर्मचारीहरूले हाम्रो कागजात हेरेर निकै सहयोग गरे । दर्ता शुल्कबापत १६०० भारु बुझाएपछि हाम्रो सीआई नम्बर अर्थात् बिरामीको स्थायी पहिचान पत्र तयार भयो । त्यसपछि अस्पताल प्रशासनले नै हामीलाई सम्बन्धित रोगको विशेषज्ञ डाक्टरको ढोकासम्म पुर्याइदियो । यो चुस्त र व्यवस्थित प्रणाली निकै मनपर्यो।
त्यहाँ डाक्टरहरूको एउटा उत्कृष्ट ‘टिम वर्क’ हुँदोरहेछ । पहिलो चरणमा जुनियर डाक्टरहरूले हाम्रो सम्पूर्ण इतिहास र रिपोर्टहरू बुझ्दै कम्प्युटरमा डिजिटल फाइल तयार गरे । पुराना रिपोर्टका आवश्यक फोटोकपीहरू लिए । त्यसपछि उनीहरूले हामीलाई सिटी स्क्यानको सिडी र बायोप्सीको बट्टा अस्पतालकै ल्याबमा पुनः परीक्षणका लागि बुझाउन निर्देशन दिए । साथै, रगतको विस्तृत जाँच र छाती तथा पेटको नयाँ सिटी स्क्यान गराउन भन्दै सकेसम्म आजै यी सबै प्रक्रिया सकाउन आग्रह गरे।
हामी तुरुन्तै परीक्षणतर्फ लाग्यौँ । ११ हजार भारु तिरेर रगतको जाँच गरायौँ भने सिटी स्क्यानका लागि २7 हजार भारुको बिल काटेर भोलि बिहानको समय तय गर्यौँ । नेपालबाट ल्याएको बायोप्सीको बट्टा रिभ्यूका लागि १७ हजार भारु बुझाएर ल्याबमा दियौँ । सुरुमा मेरो मनमा लाग्यो— नेपालमा बायोप्सी गर्दा जम्मा २ हजार नेपाली रुपैयाँ मात्र खर्च भएको थियो, यहाँ रिभ्यू गर्न मात्र किन यति धेरै महँगो ? तर, आज यो अनुभव लेखिरहँदा मैले बुझिसकेको छु— त्यो रिभ्यू केवल क्यान्सर छ कि छैन भन्नका लागि मात्र होइन, बरु क्यान्सरको गहिराइ, त्यसको सूक्ष्म प्रकार र फैलावटको अवस्था जस्ता वृहत् विषयमा निर्धक्क हुनका लागि गरिँदो रहेछ।
हामी रिपोर्टहरूको प्रतीक्षा गर्दै कोठामा फर्किएका मात्र थियौँ, हस्पिटलबाट आकस्मिक फोन आयो– ‘बिरामीको हेमोग्लोबिन निकै कम छ, भोलि बिहानै हस्पिटल आएर रगत चढाउनुपर्छ ।’
शल्यक्रियादेखि किमोथेरापीको रासायनिक हतियारसम्म
भारतको त्यो विरानो भूमि, रोगको अनभिज्ञता र मनमा अनेकौँ आशंकाहरूका बीच अब मलाई धेरै कुरा निकै होसियारीका साथ नियाल्नु थियो । बुधबार हामी अस्पतालमा भर्ना भयौँ र शुक्रबार मेजर अपरेसन भयो । अपरेसनपछि उनलाई २ दिन सर्जिकल आईसीयूमा राखियो । आइतबार सामान्य वार्डमा सारियो र सोमबार नै हामीलाई अस्पतालबाट डिस्चार्ज गरियो ।
दिल्लीको अस्पतालको यो चुस्तता र गति साँच्चै लोभलाग्दो थियो ।
डिस्चार्जपछि हरेक ३-४ दिनमा फलोअपका लागि अस्पताल धाइरहेका थियौँ । शल्यक्रिया भएको २१ दिनपछि सर्जनले हामीलाई मेडिकल अंकोलोजिस्टको ओपिडीमा पठाउनुभयो । अब हाम्रो यात्रा दोस्रो चरणको युद्ध अर्थात् ‘किमोथेरापी’ तर्फ मोडिँदै थियो । हामीलाई २१-२१ दिनको अन्तरालमा जम्मा ४ साइकल किमो गराउनुपर्ने तालिका दिइयो । डाक्टरले किमोका बेला अपनाउनुपर्ने सामान्य सावधानीहरू बुझाउनुभयो र सोही दिन पहिलो किमोथेरापीका लागि डे-केयर वार्डमा भर्ना गरियो ।
किमोथेरापीको भ्रम र कुरुवाले बुझ्नै पर्ने सत्य
हाम्रो समाजमा ‘किमो’ भन्ने शब्द एउटा राक्षस जस्तै डरलाग्दो भ्रम बनेर स्थापित भएको रहेछ । जब मैले सामाजिक सञ्जालमा ‘आजबाट श्रीमतीको किमो सुरु हुँदैछ’ भनेर लेखेँ, तब धेरै आफन्त र शुभचिन्तकहरूले ‘किमो गरेपछि त बिरामीको कपाल झर्छ, हातखुट्टा काला हुन्छन्, मान्छे झन् गल्छ र ज्यानै जान्छ’ भन्ने नकारात्मक कुराहरू गरे ।
उनीहरूमा यो डर हुनुको मुख्य कारण अज्ञानता नै थियो । मानिसहरूले किमो औषधी किन प्रयोग गरिन्छ, यसको उद्देश्य के हो, र यसका साइड इफेक्ट बाट बच्नका लागि घरमा कस्ता सतर्कता अपनाउनुपर्छ भन्ने विषयमा कहिल्यै बुझ्न खोज्दा रहेनछन्।
किमोथेरापी भनेको शरीरभित्र लुकेका क्यान्सरका कोषहरूलाई खोजेर मार्ने एउटा ‘सैनिक’ जस्तै हो । शल्यक्रिया गरेर मुख्य ट्युमर फाले पनि रक्त नलीमा कतै सूक्ष्म कोषहरू लुकेका छन् कि भनेर यो औषधी दिइन्छ ।
यो सैनिकले शरीरभित्र लगातार १५ दिनसम्म २४सै घण्टा क्यान्सरका कोषहरूसँग युद्ध लड्नुपर्ने हुन्छ । त्यसैले डाक्टरले पहिलो दिन नसाबाट हस्पिटलमै औषधी दिन्छन् भने, बाँकी १४ दिन घरमै खाने किमो ट्याब्लेट दिइन्छ।
किमो चलिरहेका बेला बिरामी र केयरटेकरले अपनाउनुपर्ने कठोर घरेलु सैनिक नियमहरू यस्ता छन्:
समयको पूर्ण पालना
घरमा खाने किमोको औषधि ठीक १२-१२ घण्टाको अन्तरालमा, तोकिएको समयमै खुवाउनुपर्छ । एक मिनेट पनि ढिला गर्नु हुँदैन।
खानपान र पोषण
किमोले शरीर कमजोर बनाउने भएकाले हरेक १-१ घण्टामा केही न केही पौष्टिक तत्त्व खाइरहनु राम्रो हुन्छ । तर, डाक्टरले निषेध गरेका खानेकुरा (काँचो सलाद, नपाकेका फलफूल, बासी खाना) बाट बच्नु पर्छ । क्यान्सरको प्रकृति अनुसार डाइट फरक हुने भएकाले डाक्टरको सल्लाह अनिवार्य हुन्छ।
सङ्क्रमणबाट पूर्ण सुरक्षा
किमो चढाएपछि बिरामीको रोग प्रतिरोधात्मक क्षमता शून्य बराबर हुन्छ । यस्तो बेला स्वस्थ मानिसको शरीरमा हुने सामान्य रुघाखोकीको भाइरसले पनि बिरामीलाई गम्भीर संक्रमण गराउन सक्छ ।
त्यसैले मैले बिरामीलाई कहिल्यै मानिसहरूको हुलमा लगिनँ, भेट्न आउनेहरूलाई भुइँतल्लामै रोकेँ । खाना पकाउँदा र खुवाउँदा मास्क र पूर्ण सरसफाइ अपनाएँ । फलस्वरूप, मेरी श्रीमतीलाई पूरै किमो अवधिभर एकपल्ट पनि ज्वरो आएन।
१५ दिनको केयरगिभर चार्ट
मैले घरमा १५ दिनको एउटा व्यवस्थित चार्ट बनाएको थिएँ । जसमा बिहान ७ बजे र बेलुकी ७ बजे ज्वरो नापेर रेकर्ड राख्ने, २४ घण्टामा के-के खाना खाइयो, र दिसा-पिसाब कति पटक र कस्तो भयो— सबै कुरा डायरीमा नोट गर्थेँ । यसले बिरामीको शारीरिक सन्तुलन बुझ्न र डाक्टरलाई विवरण दिन निकै सजिलो बनायो।
ग्रिन सिग्नल रगत परीक्षण
हरेक २१ दिनमा अर्को किमो गर्न जानुअघि हामी रगतको जाँच (केएमटी, एलएफटी, सीबीसी ) गराउँथ्यौँ। जब सबै अंगहरूले किमो सहन सक्छन् भन्ने ‘ग्रिन सिग्नल’ प्राप्त हुन्थ्यो, तब मात्र अर्को चक्र सुरु गर्थ्यौँ ।
किमो मिक्सिङ र औषधीको ‘क्रस-चेक’
अस्पतालमा बस्दा मेरो एउटा कडा नियम थियो— म किमोको औषधी किनेर ल्याएपछि, त्यसलाई मिक्सिङ कोठामा पठाउनुअघि औषधीको बोतलमा स्थायी मार्करले आफ्नो हस्ताक्षर गरिदिन्थेँ । क्यान्सरका औषधीहरू निकै महँगा हुन्छन् । मेरो मनमा एउटा शङ्का थियो— यति ठूलो अस्पतालमा झुक्किएर हाम्रो औषधी अरूलाई वा अरूको औषधी हामीलाई पर्न सक्छ, अथवा मिक्सिङका क्रममा कतै तल-माथि हुन सक्छ । त्यसैले म हस्ताक्षर गर्थेँ र नर्सहरूलाई भन्थेँ, ‘मिक्सिङ भइसकेपछि मेरो हस्ताक्षर भएको त्यो खाली बोटल पनि औषधीसँगै भित्र फर्काएर मलाई देखाउनुहोला ।’
सुरु-सुरुमा नर्सहरू भन्थे, ‘यहाँ यति ठूलो सिस्टम छ सर, यस्तो शङ्का गरिरहनु पर्दैन ।” तर, मैले आफ्नो जिद्धी र सतर्कता छोडिनँ । बिस्तारै मेरो यो अनुशासित र चनाखो बानीबाट त्यहाँका स्वास्थ्यकर्मीहरू निकै प्रभावित भए । उनीहरूसँग मेरो बडो आत्मीय सम्बन्ध बन्यो, जसका कारण पछि-पछि हामी हस्पिटल जाँदा वातावरण निकै रमाइलो र सहज हुन थाल्यो ।
मानसिक बल र नयाँ बिहानीको सङ्कल्प
बिरामीलाई अनावश्यक भीडभाडबाट टाढा राखेकाले होला, उनी मानसिक रूपमा दिनप्रतिदिन झन् बलियो र सक्षम हुँदै गइरहेकी थिइन् । कोठामा बस्दा हामी रोग वा औषधिका बारेमा कहिल्यै कुरा गर्दैनथ्यौँ । किनभने, सामान्य रोगकै बारेमा पनि धेरै कुरा गरिरहँदा मानिसको मनोबल कमजोर हुन सक्छ र फरक-फरक मानिसका फरक विचारधाराले बिरामीलाई अन्योलमा पार्न सक्छ ।
हामी कोठामा बस्दा भविष्यका सुन्दर योजनाहरू बुन्थ्यौँ, पुराना रमाइला दिनहरू सम्झिन्थ्यौँ, अनलाइनबाट घरमा छोरीहरूसँग भिडियो कल गर्थ्यौँ र फुर्सदमा टिभी हेरेर हाँस्थ्यौँ।
क्यान्सरलाई आफ्नो कोठामा कहिल्यै प्रवेश गर्न दिएनौँ, त्यसलाई हस्पिटलको बेडमै छाडेर आउँथ्यौँ । यही अभेद्य आत्मविश्वास र अनुशासनका कारण हाम्रो रासायनिक युद्धको पहिलो खण्ड सफलतापूर्वक सम्पन्न भयो ।
(डायरीको यो यात्रा र अस्पतालको वास्तविक अनुभव आगामी अङ्कमा क्रमशः जारी रहनेछ…)
प्रतिक्रिया 4