२४ असार, काठमाडौं । नेशनल ओपन कलेजद्वारा आयोजित १३औँ राष्ट्रिय स्वास्थ्य सेवा व्यवस्थापन सम्मेलन सम्पन्न भएको छ । असार २० गते शनिबार भएको सम्मेलनमा नेपाल तथा भारतका गरी १६ जना विज्ञहरूले स्वास्थ्य सेवा व्यवस्थापनका विविध समसामयिक विषयमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए।
सम्मेलनमा आईआईएचएमआर दिल्लीकानिर्देशक प्रा.डा. सुतपा बनर्जी उपाध्याय प्रमुख अतिथि रहेका थिए । त्यस्तै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल तथा मधेश र काठमाडौं विश्वविद्यालयका डिनहरू विशेष अतिथिका रूपमा सहभागी थिए ।
सम्मेलनमा प्रा.डा. तेज कार्कीले स्वस्थ शहर, महेन्द्र भुसालले अस्पताल आयोजना, महेश नकर्मीले फोहोर व्यवस्थापन, कपिल गौतमले क्यान्सरजन्य फोहोर व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी डा. राम थापाले स्वास्थ्य बीमा, डा. तला गुप्ता र सुधीर ठाकुरले स्वास्थ्य जनशक्ति व्यवस्थापन, तथा डा. सुनील श्रेष्ठले औषधि व्यवस्थापन सम्बन्धी प्रस्तुति राखे ।
यसका साथै मिलन गुरुङ, डा. यज्ञ तिमिल्सिना, प्रा.डा. सुतपा बनर्जी उपाध्याय, प्रा.डा. पुनित, प्रा.डा. निधि, प्रा.डा. यज्ञबहादुर कार्की, डा. मदन पिया लगायतका अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धानमूलक प्रस्तुति राखेका थिए ।
सम्मेलनमा देशभरका अस्पतालका प्रमुख, स्वास्थ्य व्यवस्थापक, शिक्षाविद् तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्मेलनबाट प्रमुख चार प्रस्ताव पारित भएका छन् ।
सम्मेलनले स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रको संस्थागत विकासका लागि निम्न चार प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
१. सरकारी विश्वविद्यालयहरूमा बीएचसीएम, एमएचसीएम, पीजीडीएचसीएम तथा पिएचडी तहका स्वास्थ्य सेवा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनुपर्ने।
२. सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य व्यवस्थापन विषयमा स्नातक वा सोभन्दा माथिल्लो तह उत्तीर्ण स्वास्थ्य व्यवस्थापकको अनिवार्य नियुक्ति गरिनुपर्ने।
३. नेपाल–भारत तथा अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रमा निजी, सहकारी तथा सरकारी निकायबीच सहकार्य विस्तार गर्दै ‘टुगेदर फर हेल्थ’ अभियान सञ्चालन गरिनुपर्ने ।
४. स्वास्थ्य सेवा व्यवस्थापनसम्बन्धी छुट्टै परिषद् गठन गरी अध्ययन, सेवा, नियुक्ति तथा पदोन्नतिलाई वैज्ञानिक र व्यवस्थित आधारमा सञ्चालन गरिनुपर्ने।
सम्मेलन आगामी वर्ष हुने १४औँ राष्ट्रिय सम्मेलनमा पुनः भेट्ने प्रतिबद्धतासहित सम्पन्न भएको भयो । समापन समारोहमा काठमाडौं विश्वविद्यालय, चिकित्साशास्त्र संकायका डिन प्रा.डा. मनोज हुमागाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
प्रतिक्रिया 4