मानसिक स्वास्थ्य भनेको केवल मनको अवस्था मात्र होइन, यो हाम्रो समग्र भलाइको एक महत्वपूर्ण भाग हो । हामीले सामान्यतया मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यबाट फरक रूपमा हेर्ने गर्दछौं, तर वास्तवमा दुवै एकअर्कासँग गहिरो सम्बन्धित छन् । विशेषगरी युवा पुस्तामा, मानसिक स्वास्थ्यको समस्याहरू दिनप्रतिदिन बढिरहेका छन् ।
उनीहरूमा भावनात्मक तनाव, आत्मविश्वासको कमी, र सामाजिक दबाबले मानसिक स्वास्थ्यमा असर पार्दै आएको छ । यसले उनीहरूको दैनिक जीवनमा चुनौती खडा गर्छ । आजको डिजिटल युगमा सामाजिक सञ्जालको अधिक प्रयोग, प्रतिस्पर्धात्मक वातावरण, र भविष्यको अनिश्चितताले युवाहरूमा तनाव र मानसिक स्वास्थ्यका समस्या बढाइरहेका छन् ।
केही दिनअघि, यस्ता केही युवाहरूसँग भेट भयो । उनीहरू मानसिक स्वास्थ्यका समस्याको बारेमा खुल्न चाहँदैनथे, किनभने उनीहरूलाई लाग्थ्यो कि तनाव, डर, वा चिन्ता सबैलाई हुने सामान्य समस्या हो । यस्ता भावनाहरूलाई नजरअन्दाज गर्न हुँदैन, किनभने समयमै समर्थन र उपचार नपाए, यी समस्याहरू गहिरो हुन सक्छन् ।
मानसिक स्वास्थ्यलाई सामाजको मौन चुनौती भनिन्छ, किनभने यसबारे कसैले बोल्न चाहँदैनन् । युवाहरू, खासगरी, कसैले पनि भन्न चाहँदैनन् कि मलाई मानसिक तनाव छ, वा मलाई मानसिक समस्या छ, किनभने हाम्रो समाजमा मानसिक स्वास्थ्यलाई अझैपनि नकारात्मक रूपमा हेर्ने गरिन्छ ।
त्यसैले, यो समाजको मौन चुनौती बनेको छ, जहाँ कसैले बोल्दैनन्, बोल्न पनि चाहँदैनन्, । बोलेका व्यक्ति पनि समाजमा बस्न लाज मान्ने गर्छन् ।
यो मौनताकै कारण समस्या दिनप्रतिदिन बढ्दै जान्छ, र समाजका धेरै मानिसहरूलाई एक्लो महसुस हुन थाल्छ । यसैले, हामीले यो मौनतालाई चिर्न, खुलेर बोल्न प्रोत्साहन दिन, र युवाहरूको मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउनुपर्छ ।
मानसिक स्वास्थ्य भनेको केवल सबैले बुझ्ने समान कुरा होइन, यो धेरै फरक हुन्छ । शारीरिक स्वास्थ्य त देखिने र महसुस हुने हुन्छ, तर मानसिक स्वास्थ्यले धेरै समस्याहरू ल्याउन सक्छ, र धेरै मानिसहरू बोल्न चाहँदैनन् । त्यसैले मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्न र मानसिक समस्याहरू रोकथाम गर्न, हामीले केही उपायहरू अपनाउनुपर्छ ।
पहिलो, यदि तपाईंलाई तनाव महसुस हुन्छ भने, विश्वासिलो साथी वा परिवारका सदस्यसँग खुला रूपमा बोल्नुहोस् । दोस्रो, सुरुवाती स्तरमै चिन्हहरू देखिएमा, थेरापी वा परामर्शमा जाने विचार गर्नुहोस् । तेस्रो, दैनिक जीवनमा सन्तुलित भोजन, नियमित व्यायाम, र ध्यान जस्ता अभ्यासहरू अपनाएर मानसिक स्वास्थ्यलाई सुधार गर्न सकिन्छ । युवाहरूलाई सुरक्षित र गोप्य वातावरणमा बोल्न दिन समर्थन समूहहरू स्थापना गर्नु राम्रो हुन्छ ।
स्कुल र कलेजहरूमा मानसिक स्वास्थ्यका लागि खुला परामर्श सेसन राख्नुपर्छ । डिजिटल प्लेटफर्महरूमा पनि सुरक्षित रूपमा सहारा र सुझाव दिने जस्ता रोकथाम उपायहरूलाई युवाहरूमा सहज बनाउन सकिन्छ ।
मानसिक स्वास्थ्यका बारेमा मौन रहनु समाधान होइन, आजको एउटा खुला संवादले भोलिको एउटा जीवन बचाउन सक्छ ।
प्रतिक्रिया 4