स्वास्थ्यका हिसाबले ओखर निकै लाभकारी खानेकुरा मानिन्छ । यसमा स्वस्थ चिल्लो, भिटामिन र खनिजहरू हुन्छन् जसले शरीरलाई धेरै फाइदाहरू प्रदान गर्छ ।
के तपाईंले ३० दिनसम्म लगातार ओखर खानुभएको छ ? एक महिनासम्म लगातार ओखर खाँदा के-के फाइदा हुन्छ भन्ने बारेमा सोच्नु भएको छ ?
हो नियमित ओखर खाँदा यसले मुटुदेखि पेटको स्वास्थ्य र मस्तिष्कको कार्यमा समेत फाइदा पुर्याइरहेको हुन्छ ।
मुटु स्वस्थ राख्न फाइदा
दैनिक ओखर खाँदा यसले मुटुको स्वास्थ्यलाई फाइदा पुर्याउँछ । यसमा राम्रो चिल्लो हुन्छ । यसले खराब कोलेस्टेरोल घटाउन र राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ । यसको सेवनले ट्राइग्लिसराइडको मात्रा पनि घट्छ । ओखरमा ओमेगा-३ फ्याटी एसिड प्रचुर मात्रामा हुन्छ. यसले मुटुको धड्कनलाई सन्तुलित राख्न र हृदयघातको जोखिम कम गर्न मद्दत गर्छ ।
ओखरमा पाइने म्याग्नेसियम र फ्याटी एसिडले उच्च रक्तचाप कम गर्न सहयोग पुर्याउँछ । ओखरमा पोलिफेनोल जस्ता एन्टिअक्सिडेन्टहरू प्रशस्त मात्रामा हुन्छन्. यिनले मुटुका धमनीहरू सुन्निने तथा अवरोध हुने समस्यालाई रोक्न मद्दत गर्छ ।
स्वस्थ पाचन
ओखरले पेटमा पाइने स्वास्थ्यका लागि फाइदाजनक ब्याक्टेरियाको वृद्धिमा सहयोग पुर्याउँछ । यसले पाचन शक्तिलाई बलियो बनाउँछ । ओखरको सेवनले पेटमा एक प्रकारको फ्याटी एसिड ‘ब्युटायरेट’ बन्छ । यसले आन्द्राको भित्री तहलाई पोषण दिन्छ र आन्द्राको स्वास्थ्य सुधार्छ ।
ओखरमा प्रशस्त मात्रामा डाइट्री फाइबर पाइन्छ । यसले दिसालाई नरम बनाउँछ र आन्द्राको चाललाई नियमित गरी कब्जियतको समस्यालाई रोक्छ।
स्मरण शक्तिमा सुधार
ओखरमा वनस्पतिजन्य ओमेगा-३ फ्याटी एसिड प्रचुर मात्रामा हुन्छ । यसले दिमागका कोशिकाहरूको बनावटलाई बलियो बनाउँछ र मस्तिष्कको कार्यक्षमता बढाउँछ । यसमा भिटामिन-ई र पोलिफेनोल जस्ता शक्तिशाली एन्टिअक्सिडेन्टहरू हुन्छन् ।
यिनले उमेर बढ्दै जाँदा दिमागका कोशिकाहरूमा हुने क्षतिलाई रोक्छन् र स्मरण शक्ति कमजोर हुन दिँदैनन् । ओखरको सेवनले मस्तिष्कका कोशिकाहरू बीच हुने सूचनाको आदानप्रदानलाई तीव्र र प्रभावकारी बनाउँछ, जसले गर्दा सोच्ने र सम्झिने क्षमता छिटो हुन्छ।
तनाव कम गर्छ
ओखर खानुको एउटा फाइदा भनेको यसमा मेलाटोनिन, फोलेट, भिटामिन ई र पोलिफेनोल जस्ता न्यूरो-सपोर्टिभ गुणहरू हुन्छन्, जसले मानसिक स्वास्थ्यलाई बढावा दिन्छ। तिनीहरूले तनाव पनि कम गर्छन् ।
तौल घटाउन मद्दत गर्छ
अनुसन्धानका अनुसार ओखरको सेवनले मस्तिष्कको ‘इन्सुलर कोर्टेक्स’ नामक भागलाई सक्रिय बनाउँछ । यो भागले भोक र अस्वस्थ खानेकुराप्रतिको लालसालाई नियन्त्रण गर्छ । ओखरमा पाइने स्वस्थ चिल्लोले शरीरको इन्सुलिन सेन्सिटिभिटीमा सुधार ल्याउँछ, जसले विशेष गरी पेटको वरिपरि बोसो जम्ने प्रक्रियालाई कम गर्छ ।
ओखरमा प्रोटिन, फाइबर र स्वस्थ चिल्लोको राम्रो मिश्रण हुन्छ । यसले गर्दा ओखर खाएपछि लामो समयसम्म भोक लाग्दैन र छिटो-छिटो थप खानेकुरा खाने इच्छा कम हुन्छ । खाजाको रूपमा ओखर खानाले तौल घटाउन मद्दत गर्न सक्छ ।
छाला र कपाल सुन्दर राख्न मद्दत गर्छ
ओखरमा पाइने भिटामिन-ई र एन्टिअक्सिडेन्टले छालालाई जवान र चमकदार राख्न मद्दत गर्छन् । यसमा पाइने बायोटिन र भिटामिन बी-७ ले कपाल झर्न रोक्न सहयोग गर्छ र कपाललाई बाक्लो बनाउन पनि मद्दत गर्छ ।
ओखर कति खाने ?
यसका लागि ओखर कति खाने भन्ने पनि हुन्छ । ओखरको मात्रा आफ्नो शारीरिक अवस्था र आवश्यकताका आधारमा तथ गर्नु राम्रो हुन्छ । एक वयस्क व्यक्तिले दिनमा ४ देखि ५ वटा ओखर खानु उपयुक्त हुन्छ । यसलाई रातभरि पानीमा भिजाएर बिहान खाली पेटमा खाँदा पाचन प्रक्रिया सहज हुन्छ र पोषक तत्वहरू शरीरले सजिलै सोस्न सक्छ।
प्रतिक्रिया 4