२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदलले ‘पपुलर हौं, हाम्रो अनुहार बिक्छ’ भन्नेहरूको दाबी निर्वाचनको नतिजाले भ्रम रहेको पुष्टि भएको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘पपुलर हौं, हाम्रो फेस बिक्छ भन्ने कुरा हाम्रा युवाहरूको दाबी थियो भने पनि त्यो दाबी भ्रम देखियो,’ नेता साउदले भने, ‘त्यो एउटा भ्रम र मिथकभन्दा ज्यादा प्रभाव राख्ने रहेनछ भन्ने प्रमाण गएको निर्वाचन भएको छ ।’
केही नेताको महत्वाकांक्षका कारण निर्वाचनको मुखमा विशेष महाधिवेशन गरेका कारण त्यस्तो अवस्था आएको उनले बताए । उनले अगाडि भने, ‘केही साथीहरू महत्वाकांक्षा र पदको लोभले बडो अन्धो भएको मानसिकताले उहाँहरू जानुभयो । चुनावको मुखमा कांग्रेसका मनलाई विभाजन गर्नुहुन्न भन्नेतिर उहाँहरू जानुभएन ।’
चुनावमा २७ लाखबाट १७ लाख मत आएको उनले बताए । ‘शेरबहादुर देउवाको नेतृत्वमा आएको ८९ सिटबाट ३८ सिटमा हाम्रो संसद्को उपस्थिति देखिएको छ,’ उनले भने ।
यसबीचमा पार्टी नटुटोस भनेर निर्वाचन आयोगको निर्णयबमोजिम निर्वाचनमा गएको उनले बताए । ‘हामीले उहाँहरूलाई नियमित र विशेष महाधिवेशनका पक्षमा रहेका सबै साथीलाई मिलाउनुस् भनेर आग्रह गर्यौं । तर, उहाँहरू पार्टी विभाजन गर्नेमा कृतसंकल्प गरेकाले पार्टी मिलाउनेमा कुनै पहलकदमी गर्नुभएन,’ उनले भने ।
सार्थक पहल नगरेकाले आफूहरू सर्वोच्चमा मुद्दा पुनरवलोकनमा गएको उनले बताए ।
‘अब पुनरवलोकन अगाडि पार्टी एकता हुन गाह्रो छ । त्यो मुद्दाको सर्वोच्चले निर्णय दिएपछि मात्रै एकताको राजनीतिक निर्णय हुनेछ,’ उनले भने ।
जबसम्म १४ औं महाधिवेशनको कार्यसमिति पुन:स्थापित गरिन्न तबसम्म कांग्रेसको एकता नहुने पनि नेता साउदले बताए ।
‘१४ औं महाधिवेशन मात्रै त्यस्तो थलो हो जहाँ विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधर सम्मिलित थियौं,’ उनले भने ।
प्रतिक्रिया 4