+
+

सहकर्मी हत्याको विरोधमा वीरगञ्जमा अटो चालकहरुको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १४:४४

२ पुस, वीरगञ्ज । वीरगञ्जमा अटो चलाउँदै आएका एक भारतीय नागरिकको रक्सौलमा हत्या भएपछि अटो चालकहरु आन्दोलित भएका छन् । सहकर्मी हत्याको विरोधमा अटो चलाउन बन्द गरेर उनीहरु आन्दोलित भएका हुन् ।

बिहानैदेखि वीरगञ्जमा अटो नचल्दा सर्वसाधरण यात्रु भने मर्कामा परेका छन् । अटो चालक महम्मद अलीले सहकर्मीको हत्या भएकोले न्यायका लागि दवाव दिन आन्दोलनमा उत्रिएको बताए । ‘साथीको अनाहकमा हत्या भएको छ । भोलि त्यस्तो घटना हामी माथि पनि घट्न सक्छ,’ उनले भने, ‘उनको न्यायका लागि दबाव दिन र शोकमा अटो नचलाउने निर्णयमा पुगेका हौं ।’

भारत मुजफ्फरपुर, जगरनाथपुर थाना मोतिपुर घर भएका २४ वर्षीय सुशिलकुमार साहको बिहीबार दिउँसो हत्या भएको थियो ।

ना २ ह ३७९७ नम्बरको अटो चलाउँदै आएका उनलाई रक्सौलस्थित एसएसबी क्याम्प नजिकै छातीमा छुरा प्रहार गरिएको थियो । उपचारका लागि नारायणी अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको आफन्तले जनाएका छन् । वीरगञ्ज–८ गहवास्थित भिनाजु सुरेश साहको घरमा बसेर उनी अटो चलाउँदै आएका थिए ।

रक्सौलस्थित अटो चालक संघका अध्यक्ष समेत रहेका सैदुल्लाह खान भन्ने व्यक्तिले उनीमाथि छुरा प्रहार गरेको आरोप लागेको छ । मृतकका आफन्तले भारतीय प्रहरी समक्ष दिएको उजुरीको आधारमा सैदुल्लाहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिइसकेको छ । गएराति नै मृतकको शव पोष्टमार्टमका लागि भारत पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले घटना भारतमा नै भएकोले भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।

‘नेपाली नम्बरको अटो मात्रै हो, मृतक भारतीय नागरिक हुन्, घटनास्थल भारतमै पर्छ ’ उनले भने, ‘भारतीय प्रहरीले नै अनुसन्धान गरिरहेको छ ।’

रक्सौलमा नेपाली अटो जान स्थानीय प्रहरी प्रशासनले नरोके पनि भारतीय अटो चालकहरुले विरोध जनाउँदै आएका थिए । कहिले टायर काटिदिने त कहिले सिसा फोडिदिने गरेको अटो चालकहरु बताउँछन् । नेपाली नम्बरको ई–रिक्सा भने मितेरी पुलसम्म मात्रै सञ्चालनमा छ । नारायणी ई-रिक्सा संघका अध्यक्ष स्वयब मियाले रक्सौलमा नेपाली अटो जान रोक लगाउनुपर्ने बताए ।

‘भारतीय अटो भारतमा चल्छ, नेपाली अटो नेपालमा चल्छ,’ उनले भने, ‘ यताको उता, उताको यता नगर्ने हो भने समस्या नै आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?