+
+

मनसुन प्रक्षेपण : दक्षिण एसियाली देशमा अधिक वर्षा

विनोद घिमिरे विनोद घिमिरे
२०८१ वैशाख २२ गते १५:०५

२१ वैशाख, काठमाडौं । यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ ।

भारतको पुणेमा अप्रिल अन्तिम साता आयोजित दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ)को बैठकले सो प्रक्षेपण सार्वजनिक गरेको हो । दक्षिण एसियाली देशका मौसमविदहरु सहभागी सास्कोफले दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण गर्दछ । यसमा अन्य अन्तर्राष्ट्रिय विशेषज्ञहरुको समेत राय लिने गरिन्छ ।

त्यसैको आधारमा निकालिने निष्कर्षको आधारमा दक्षिण एसियाली देशहरुले आ–आफ्नो देशको अलग्गै मौसमी अवस्था प्रक्षेपण सार्वजनिक गर्दछन् । नेपालको जल तथा मौसम विज्ञान विभागले पनि मनसुन अवधिको सम्भावित अवस्था सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्, ‘सास्कोफले यस वर्षको मनसुनमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपणसहितको प्रतिवेदन पठाएको छ, त्यो प्रतिवेदनको आधारमा हामी हाम्रो अलग्गै प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छौं ।’ आगामी दुई साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने तयारीअनुसार काम भइरहेको उनले बताइन् ।

नेपालमा मनसुन कस्तो होला ?

नेपालमा मनसुन कस्तो होला भनेर औपचारिक रुपमा प्रक्षेपण सार्वजनिक भइसकेको छैन । जल तथा मौसम विज्ञान विभाग र अन्य मौसमविदहरुले अहिले नै नेपालको सम्भावित मनसुनी अवस्थाबारे बोल्नु हतार हुने बताउँछन् ।

मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्, ‘अहिले धेरै कुराहरु अनिश्चयमा रहेकाले हिउँदको वर्षाको प्रक्षेपण मिलेन । त्यसैले मनसुनबारे पनि अझै बढी अध्ययन/विश्लेषणको आवश्यकता छ ।’

वरिष्ठ मौसमविद वरुण पौडेल पनि मौसमी प्रणालीहरु परिपक्क हुने क्रममा रहेकाले त्यसलाई नजिकबाट नियालीरहेको बताउँछन् । ‘मनसुन कस्तो हुन्छ भनेर अहिले नै भन्न सकिँदैन,’ पौडेलले अनलाइनखबरसँग भने ।

मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर हिउँदे वर्षाको प्रक्षेपण मिलेन ।

प्रिमनसुन अवधिको अहिलेसम्म पनि सुक्खा र खडेरी छ । पानी नपर्दा देशभर गर्मी बढेको छ । खडेरीले बालीनाली सुकेका छन् । अत्यधिक गर्मीका कारण रुपन्देही लगायतका जिल्लामा विद्यालयसमेत बन्द गरिएको छ । छिमेकी भारतसमेत गर्मीबाट प्रभावित भएको छ ।

जल तथा हावापानीका अध्येता ङमिन्द्र दाहाल भारतदेखि नेपालसम्मको मैदानी फाँटमा प्रचण्ड गर्मी र तातो हावा चल्दा मनुसनी वर्षालाई सहयोग मिल्ने बताउँछन् । ‘नेपाल र उत्तर भारतमा फैलिएको मैदानी फाँटमा प्रचण्ड तातो हावा नचलेसम्म मनसुनी वर्षा मोडिएर यता आउन सक्दैन । शक्तिशाली पम्पले पानी खिचेझैं हिन्द महासागरको तुफानलाई बलजफ्ती हिमालय तिर फर्काउन आवश्यक न्युन वायुमण्डलीय चाप बनाउन तापक्रम बढेको बुझौं,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।

वर्षाको सम्भावना

लामो समयदेखि गर्मीको मारमा परिरहेका बेला आगामी साता भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि दुई वटा प्रणालीले आगामी सोमबारदेखि बुधबारसम्म वर्षाको सम्भावना देखाएको बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक छ ।

महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले पश्चिमी न्यून चापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्ने बताइन् । ‘अधिकतम तापक्रम घट्दा अहिलेको तुलनामा केही शीतल महसुस हुन्छ,’ उनले भनिन् ।

सास्कोफको प्रतिवेदनमा के छ ?

जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि भनिन्छ । यस अवधिमा दक्षिण एसियाका अधिकांश हिस्सामा वार्षिक वर्षाको ७५ देखि ९० प्रतिशतसम्म हुने गर्दछ । तर यस वर्ष दक्षिण एसियाका अधिकांश स्थानमा सामान्यदेखि अधिक वर्षा हुने र सामान्यभन्दा अधिक तापमान हुने सम्भावना छ ।

सास्कोफको प्रतिवेदनमा भनिएको छ, ‘दक्षिण एसियाका उत्तरी, पूर्वी र उत्तर–पूर्वी क्षेत्रमा सामान्यभन्दा कम वर्षा हुनसक्छ । यस्तै तापक्रम भने सामान्यदेखि बढी हुनसक्छ ।’

दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘अल–निनो’ र ‘ला–निनो’ गतिविधि हो । समुद्रको सतहको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई ‘अल–निनो’ भनिन्छ । यसो हुँदा दक्षिण एसियामा कम वर्षा हुन्छ ।

‘अल–निनो’को ठिक उल्टो ‘ला–निनो’ हो । अर्थात् समुद्रको पानी औसतभन्दा चिसो भयो भने त्यसलाई ‘ला–निनो’ भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ ।

सास्कोफका अनुसार चार महिनाको मनसुन अवधिमा सुरुका दुई महिना (जुन–जुलाई)मा ‘अल–निनो’को स्थिति तटस्थ अवस्थामा रहने अनुमान छ । त्यसपछिका दुई महिना अर्थात् (अगस्ट–सेप्टेम्बर)मा ‘ला–निनो’को अवस्था हुने सास्कोफको निष्कर्ष छ ।

छिमेकी देश भारतको मौसम विभागले एक महिना अघि नै यस वर्षको मनसुनमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ ।

पूर्वसतर्कता आवश्यक

एक महिना अघि युएईको दुबई, ओमान, बहराइन लगायतका देशहरुमा अत्यधिक वर्षा भएको थियो । युएईमा १९४९ पछिको सबैभन्दा धेरै वर्षा रेकर्ड भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा पनि अत्यधिक वर्षा हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको थियो ।

त्यो वर्षाले जनधनको क्षति गरेकाले नेपालमा त्यस्तै अवस्था आउन सक्ने भन्दै पूर्वतयारीका काम अहिलेदेखि नै थाल्नुपर्ने मौसमविदहरु बताउँछन् । नेपालमा पनि चरम अवस्था कुनै पनि बेला आउन सक्ने बताउँदै मौसमविद पौडेल भन्छन्, ‘प्रकृतिमा जुनसुकै बेला जे पनि हुनसक्छ । सम्भावित क्षतिबाट जोगिन पूर्व तयारी गर्नु सबैभन्दा ठूलो कुरा हो ।’

विगत १० वर्षको अवधिमा नेपालमा प्राकृतिक विपदबाट ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको गृह मन्त्रालयको रेकर्ड छ । यो तथ्यांक २०७० सालदेखि २०७९ सालसम्मको हो ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्याल भन्छन्, ‘प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति हुने गरेको छ । प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारणले गर्दा कुल गार्हस्थ उत्पादनमा पनि ह्रास भएको छ । राहत, उद्धार र अरु कामहरुमा खर्च गर्नुपर्ने र विकास निर्माणमा खर्च गर्न नसक्ने अवस्थाले विपद् नेपालको लागि एकदमै चुनौतिको विषय भएर आइराखेको छ ।’

सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।

मनसुन अवधिमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भएको थियो । तर ठाउँ–ठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो पनि आएको थियो । गत वर्षको मनसुन अवधिमा प्राकृतिक विपदबाट ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र १६८ जना घाइते भएका थिए ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?