+
+

अब इन्स्टाग्रामबाट थ्रेड्समा पोस्ट गर्न सकिने फिचर आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १९:३९

२८ वैशाख, काठमाडौं । फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले गतवर्ष माइक्रो ब्लगिङ साइट एक्सको प्रतिस्पर्धी एपको रुपमा थ्रेड्स ल्याएको थियो । सुरुवातमा निकै तहल्का मच्चाउँदै विभिन्न किर्तिमान कायम गरेको थ्रेड्स विस्तारै सुस्ताउँदै गयो ।

हुन त यो प्लाटफर्मलाई लिएर मानिसहरुले यसको सुरुवातदेखि नै विभिन्न गुनासो गर्दै आएका थिए। यसमा यस्ता धेरै फिचरहरु छैनन्, जुन प्रयोगकर्तालाई आवश्यक हुन्छन् । त्यहीँ माग तथा गुनासो बमोजिम मेटाले विभिन्न काम गरिरहेको पनि छ ।

सुरुमा थ्रेड्स एप डिलिट गर्ने कुनै विकल्प थिएन । तर पछि मेटाले यो सुविधा थप गर्यो । अहिले मेटाले थ्रेड्स एपमा एउटा अर्को नयाँ फिचरमा काम गरिरहेको छ । उक्त फिचर आएसँगै इन्स्टाग्रामका पोस्टहरुलाई थ्रेड्समा स्वचालित रुपमा पोस्ट गर्न सकिनेछ । अर्थात् थ्रेड्समा क्रस पोस्टिंगको फिचर थप गर्न थालिएको छ।

हाल यो फिचरको परीक्षण भईरहेको छ । यद्यपि यो फिचरले केवल फोटोका लागि मात्रै काम गर्ने तर भिडियो तथा रील्सका लागि काम नगर्ने बताइएको छ । यसलाई हेर्दा इन्स्टाग्राम पूर्णरुपमा भिडियो प्लाटफर्म बनिसकेको अवस्थामा मेटाले थ्रेड्सलाई फोटो प्लाटफर्म बनाउन पो लागेको हो कि भन्ने प्रतित हुन्छ।

मेटाका अनुसार क्रस पोस्टिंगको यो फिचर वैकल्पिक हुनेछ । अर्थात् यदि कुनै इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो कुनै पोस्टलाई थ्रेडमा शेयर गर्न चाहेमा मात्रै उनीहरुले त्यसलाई जोड्न सक्नेछन् । तर, थ्रेड्समा ह्यासट्याग भने शेयर गर्न सकिने छैन । अर्थात् यदि तपाइँले इन्स्टाग्राममा कुनै ह्यासट्यागयुक्त पोस्ट गर्नु भएको छ भने त्यो पोस्ट थ्रेड्समा शेयर गर्दा थ्रेड्समा ह्यासट्याग देखिने छैन।

स्मरण रहोस्, मेटाले आफ्नो माइक्रो ब्लगिङ प्लाटफर्म थ्रेड्सलाई फेसबुक र इन्स्टाग्राम दुबैमा प्रबद्र्धन गरिरहेको छ । मेटाका सिइओ मार्क जुकरबर्गका अनुसार थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १५ करोड नाघेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?