+
+

एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १८:४४

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश-१ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । उनले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरबको कुरा भएको जानकारी गराउँदै भने,’उद्योग संगठनसँगै मिलेर जसरी इकोनोमिक समिट आयोजना गरिएको छ । त्यसले यो क्षेत्रकै लागि सहयोग पुग्नेछ । हामी सबैको मेहनतले गर्दा बाह्रखरीले हामीलाई विश्वास गर्नुभयो । उद्योग संगठनमा आर्थिक सम्मेलन गर्नेछौँ । हामीले प्रदेशभरका निजी क्षेत्रका मुद्दा उठान गर्नेछौँ । सोमबारदेखि राउन्ड टेबल आयोजना गर्नेछौँ । त्यसलाई लिपिबद्ध गरेर समीटमा प्रस्तुत गर्नेछौँ ।’

पूर्वअर्थ सचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फ मात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए । इकोनोमिक समिटमा कार्यपत्र प्रस्तुतिका सम्बन्धमा उनले जानकारी गराउँदै यस कार्यक्रमले अर्थतन्त्रको रुपान्तरणका लागि सहयोग पुगोस् भन्ने लागेको बताए ।

त्यसैगरी युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले यस क्षेत्र उद्यमीको केन्द्र रहेको बताउँदै यो कार्यक्रम समृद्धिको इन्जिन भएको बताए । ‘यो समृद्धिको इन्जिन हो’, उनले भने, ‘प्रदेश-१ धेरै अघिदेखि नै उद्यमीको लागि राम्रो ठाउँ हो । अहिले आयोजना गर्न लागिएको गल्फसँगै युवा उद्यमीका अभियान लिएर जसरी हिँड्न लागिएको छ । त्यसले ठूलो सहयोग पुर्‍याउनेछ ।’

व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले सगरमाथाको काखमा गल्फ गर्नु नै ठूलो सफलता भएको बताए । उनले धेरैलाई अनौठो लाग्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । उनले धेरै खेलाडीलाई यसअघि सहभागी गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए । उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागी गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए ।

उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै यसको आकर्षक भनेकै गोल्डेन बल पाउँछ । यो संसारमा कहिँ पनि राखेको पाइँदैन । त्यसका लागि बाह्रखरी मिडियालाई धन्यवाद दिन चाहन्छु । यसपल्ट धरानमा खेलाडीहरूले मनोरञ्जन पाउनुहुनेछ भन्ने लागेको छ ।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारको सहभागितामा कार्यक्रम गर्न लागिएको बताउँदै यस कार्यक्रम सफलताका लागि पत्रकारहरूको सहयोग आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?