+
+

सिरियल : युट्युबमा लोभलाग्दो भ्युज, स्तरीयता कति ?

केही सिरियलको युट्युब भ्युज निकै लोभलाग्दो छ । २४ घण्टा नपुग्दै सिरियलले १० लाख बढी भ्युज पाइरहेका छन् । ती सिरियलले स्तरीयता भने कति कायम गरिरहेका छन् ?

सुशील नेपाल सुशील नेपाल
२०७८ फागुन १४ गते ११:०८

१४ फागुन, काठमाडौं । कुनै समय टेलिभिजनमा कुरेरै सिरियल हेर्नुपर्थ्यो । सिरियल प्रसारण हुने दिन त्यसका पारखी दर्शकहरु नछुटाइ हेर्थे । कसैगरी छुट्यो भने अर्को दिन पुनः प्रसारण छुटाउँदैनथे । ‘हिजोआजका कुरा’, ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’ जस्ता टेलिसिरियलहरु त्यसबेला निकै लोकप्रिय थिए ।

‘मेरी बास्सै’ अहिले पनि नियमित प्रसारणमा रहेपनि अन्य सिरियल बन्द भइसकेको धेरै वर्ष भइसकेको छ । अहिले पनि टेलिभिजनमा प्रसारण हुने सिरियल भने थुप्रै छन् । तर अहिले टेलिभिजन समयमै सिरियल हेर्छु भनेर कुर्नु भने पर्दैन । दर्शकहरु युट्युबमा चाहेको समयमै सिरियल हेर्न सक्छन् । त्यसैले होला युट्युबमा सार्वजनिक हुने सिरियलले छोटो समयमै लाखौं भ्युज पाउँछन् । कति सिरियल त युट्युबकै लागि मात्रै निर्माण गरिएका छन् ।

मंगलबार युट्युबमा सार्वजनिक भएको सिरियल ‘भुन्टी’को भाग ९८ लाई शुक्रबार साँझसम्म २५ लाख बढी दर्शकले हेरिसकेका थिए । ‘सुकुमाया टीभी’ युट्युब च्यानलमार्फत सार्वजनिक हुँदै आएको सिरियल टेलिभिजनमा भने प्रसारण हुँदैन ।

गत शनिबार युट्युबमा सार्वजनिक सिरियल ‘कान्छी भाग ८६’ले पनि शुक्रबार दिउँसोसम्म ३५ लाख बढी भ्युज पाइसकेको थियो । ‘कान्छी अफिसियल’ नामक च्यानलमा सार्वजनिक हुँदै यो सिरियल पनि टेलिभिजनमा भने प्रसारण हुँदैन ।

यी दुवै सिरियललाई आशा खड्काले लेखन, निर्माण तथा निर्देशन गर्दै आएकी छन् । विगतदेखि नै दुवै सिरियलले युट्युबमा छोटो समयमै निकै लोभलाग्दो भ्युज पाउँदै आएका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै यी दुवै सिरियलले १० लाख बढी भ्युज पाइसकेको देखिन्छ ।

यता बिहीबार राति सार्वजनिक ‘सक्किगो नि’को नयाँ भागले शुक्रबार साँझसम्म ९ लाख बढी भ्युज पाइसकेको थियो । हिमालय टीभीमा प्रसारण हुँदै आएको यो सिरियललाई दर्शकले निकै रुचाउँदै आएका छन् । ‘जेपीटी क्रियशन अफिसियल’ युट्युबमा सार्वजनिक हुँदै आएको यस सिरियलका हरेक भागले छोटो समयमै लोभलाग्दो भ्युज पाउँदै आएको छ । अर्जुन घिमिरे र कुमार कट्टेलले यस सिरियलको लेखन एवं निर्देशन गर्दै आएका छन् ।

त्यस्तै बुधबार सार्वजनिक सिरियल ‘जुठे’को पछिल्लो भागले शुक्रबार साँझसम्म १० लाख बढी भ्युज पाइसकेको थियो । गत आइतबार सार्वजनिक ‘हल्का रमाइलो’को नयाँ भागले शुक्रबार साँझसम्म १६ लाख बढी भ्युज पाइसकेको थियो । मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन तथा निर्देशन हुने यी दुवै सिरियल हिमालय टीभीमा प्रसारण हुँदै आएका छन् । जसमध्ये ‘जुठे’ ‘मास्टर टीभी’ युट्युब च्यानलमार्फत सार्वजनिक हुँदै आएको छ भने ‘हल्का रमाइलो’ ‘बल्छी धुर्वे’ च्यानलमार्फत सार्वजनिक हुँदै आएको छ ।

एपीवान टेलिभिजनमा प्रसारण एवं ‘भटभटे माइला’ युट्युबमार्फत सार्वजनिक हुँदै आएको ‘गाह्रो छ हो’ सिरियलले पनि लोभलाग्दो भ्युज पाउँदै आएको छ ।

यीबाहेक ‘मेरी बास्सै’, ‘हर्के हवल्दार’, ‘अति भो’, ‘भद्रगोल’ लगायतका सिरियलले पनि युट्युबमा राम्रो भ्युज पाउँदै आएका छन् । युट्युबमा राम्रो भ्युज पाउँदै आएको सिरियल ‘गोलमाल’ भने यतिबेला बन्द छ ।

यीबाहेक थुप्रै सिरियलहरु निर्माण हुँदै आएका छन् । कुनै टेलिभिजनमा पनि प्रसारण हुन्छन्, कुनै भने युट्युबका लागि मात्रै पनि निर्माण गर्ने गरिएको छ । केही समय निर्माण हुने र बन्द हुने सिरियलहरुको संख्या पनि निकै ठूलो हुने गरेको छ ।

किन रुचाइन्छ ?

‘जुठे’ र ‘हल्का रमाइलो’का लेखक, निर्देशक एवं कलाकारमध्येका एक मरिचमान श्रेष्ठ पहिलेदेखि नै राम्रा सिरियललाई दर्शकले रुचाउँदै आएको भन्दै अहिले सिरियल हेर्न सहज रहेको बताउँछन् । ‘राम्रा सिरियललाई पहिलेदेखि नै दर्शकहरुले रुचाउँदै आउनुभएको छ । अहिले टेलिभिजन समयमै सिरियल हेर्छु भन्नुपर्ने अवस्था छैन, आफ्नो समयअनुसार मोबाइलमै हेर्न सकिने भयो । हेर्न सहज हुने भएर पनि राम्रो भ्युज पाएको होला,’ उनी भन्छन्, ‘त्यसमा सिरियलको विषयवस्तुले चाहिं तान्नुपर्‍यो ।’ समाजमा भइरहेको विषयवस्तुलाई हास्य सिरियल ‘हल्का रमाइलो’मा देखाउँदै आएको उनी बताउँछन् ।

यता, आजभन्दा ३०–४० वर्षअघिको समाज सम्झिएर सामाजिक विषयवस्तुमा ‘जुठे’ पनि मरिचमानले निर्माण गर्दै आएका छन् । दुवै सिरियल मेहनत गरेर ल्याएका कारण नै दर्शकले रुचाएको हुनसक्ने उनी बताउँछ्न । उनी युट्युबमा भ्युज हेरिरहँदा टेलिभिजनमा पनि सिरियल हेर्ने दर्शकहरु छुट्टै रहेको बताउँछन् ।

अर्को लोकप्रिय सिरियल ‘सक्किगो नि’का लेखक, निर्देशक एवं कलाकार कुमार कट्टेलले पनि दर्शकको चाहनालाई ध्यानमा राखेर निर्माण भएका सिरियललाई दर्शकले रुचाउने बताए । उनी आफूहरुले विषयवस्तु, लेखन र प्रस्तुतिलाई बढी ध्यान दिने गरेको बताउँछन् ।

‘कन्टेन्टले, स्क्रिप्टले दर्शकलाई पूरा भाग होल्ड गराउन सकिन्छ कि सकिंदैन भन्ने कुरालाई विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘स्पोर्टमा गरिने खिचाइको काम, स्क्रिप्टमा फिट हुने पात्रहरु सबै कुराको समिश्रणलाई ध्यान दिन्छौं ।’ आफूहरुले एउटा एपिसोडलाई दुई दिन लगाएर छायांकन गर्ने गरेको उनले बताए । राम्रो काम गर्‍यो भने दर्शकको साथ पाइन्छ भन्ने कुरालाई ध्यान दिने गरेको उनको भनाइ छ ।

स्तरीयता चाहिं कति ?

पछिल्लो समय सिरियलको संख्या बढेको छ । युट्युबमा मात्रै पनि थुप्रै सिरियल सार्वजनिक हुँदै आएका छन् । तर त्यसको स्तरीयता भने पहिलेका सिरियलको जस्तो नरहेको कुनै समय सिरियलबाटै चिनिएका कलाकारहरु बताउँछन् । अग्रज हास्य कलाकार सन्तोष पन्त सिरियलको संख्या बढेपनि स्तरीयता नबढेको बताउँछन् । ‘हिजोआजका कुरा’ हास्य सिरियललाई लोकप्रियताको चुलीमा पुर्‍याएका उनी हिजोआजका सिरियलमा कथा नै नहुने, जबर्जस्ती क्यारेक्टरहरु बनाउने प्रचलन देखिएको बताउँछन् ।

‘सिरियलको स्तरीयतामा अलिकति पनि ध्यान छैन,’ उनले अनलाइनखबरसँग भने, ‘स्वभाविक भन्दा अस्वभाविकपन बढी देखिन्छ । कतिपयमा सन्देश दिन खोजेको देख्छु, तर त्यसमा पनि अस्वभाविकपन बढी देख्छु ।’ आफूहरुको समयमा सामान्य बोलेरै पनि हँसाउने गरेको सम्झँदै अहिले मुख बंग्याएर अस्वभाविक रुपले बोल्ने, हँसाउन खोज्ने प्रचलन देखेको बताए । ‘हाम्रोमा एउटा सर्टेन कथा हुन्थ्यो । तीन/चार एपिसोडमा त्यो कथा सकिन्थ्यो । फेरि नयाँ कथा आउँथ्यो । अहिले त वर्षौंसम्म त्यही क्यारेक्टर छ,’ उनले अगाडि भने, ‘बनाउन खोज्छन् नयाँ कन्टेन्टमा तर अहिले क्यारेक्टर त्यही बेस भइरहेको छ । त्यही क्यारेक्टर, त्यो ठाउँबाट बाहिर जान सकिरहेका छैनन् ।’ यसरी सिरियलको स्तरीयता नबढ्ने उनको धारणा छ ।

आफूहरुको समयमा सिरियल समयसापेक्ष हुनुपर्छ, सन्देशमूलक हुनुपर्छ, स्वभाविक अभिनय हुनुपर्छ भन्ने कुरामा ध्यान दिएर काम गरेको हुनाले दर्शकले अहिलेसम्म पनि उक्त सिरियलको कुरा गर्ने गरेको पन्त स्मरण गर्छन् । मरिचमान श्रेष्ठ पनि पन्तसँग सहमति जनाउँदै पहिलेका सिरियलहरु नै स्तरीय हुने गरेको स्वीकार्छन् । उनी प्राविधिक हिसाबले अहिले धेरै राम्रो भएपनि ‘कन्टेन्ट’का हिसाबले हिजोका सिरियलहरु बलियो रहेको बताउँछन् । पछिल्लो समय दर्शकसँग धेरै विकल्प भएसँगै सिरियल निर्माणमा पनि चुनौती रहेको उनले बताए ।

‘पहिला सानो चिज गर्दा पनि मानिस हाँसिहाल्थे । सानो कुराले उनीहरुलाई हसाउँथ्यो । अहिले युट्युब, टिकटक लगायतका विश्वका हरेक कुरा दर्शकले हेर्न पाएपछि धेरै हाँस्ने सिचुएसन बनाउँदा पनि दर्शकहरु नहाँसिरहेको अवस्था छ,’ उनले भने, ‘पहिलेका मेकरले जति मेहनत गर्नुहुन्थ्यो, अहिलेका मेकरहरुले यसलाई अलि हल्का रुपमा लिएका कारण पनि त्यत्तिको स्तरीयता नभएकोजस्तो लाग्छ ।’

धेरै कुरामा खुम्चिएर सिरियल निर्माण गर्नुपर्ने अवस्था रहेका कारण त्यसको बाबजुद पनि यति धेरै दर्शकको माया पाउनु ठूलो कुरा रहेको कुमार कट्टेल बताउँछन् ।

‘हामी एकदमै खुम्चिएर काम गर्नुपर्ने हुन्छ । कहिलेकाहीं कति कन्सेप्ट आउँछ । कति राम्रो–राम्रो कन्टेन्टहरु पनि आइरहेको हुन्छ तर एपिसोडको निर्माण खर्च सोच्यो भने सम्भव छैन भन्ने हुन्छ,’ कट्टेल भन्छन्, ‘तर पनि हामीले कन्टेन्ट, क्वालिटीलाई पनि अपग्रेड गर्दै लैजानुपर्ने हुन्छ ।’ उनी कहीं न कहींबाट कन्टेन्ट, मेकिङ र सिरियलको क्षेत्रमै ‘अपग्रेड’ हुनका लागि पनि आफूहरुले काम गरिरहेको बताउँछन् । बजेट र मेकिङमा दिल खोलेर काम गर्ने अवस्था रहे यो भन्दा राम्रो हुँदै जाने उनी बताउँछन् ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?