
२० फागुन, दाङ । २०५८ सालमा रोल्पा थबाङको ठूलो गाउँमा नेपाली सेनाले आगो लगाउँदा राममाया रोकाको घर जल्यो । घर जलेपछि गाउँमा बस्न सुरक्षित भएन । उनका श्रीमान् ताराबहादुर रोकाले बाँकी बचेको घरसम्पत्ति पार्टीलाई दान गरेर ‘कम्युन घर’मा बस्न थाले ।
साम्यवादी कम्युनिष्ट नीति अँगाल्दै सशस्त्र द्वन्द्वकै क्रममा रोल्पा, रुकुम र जाजरकोटमा तत्कालीन विद्रोही नेकपा माओवादीले सामूहिक परिवार बस्ने ‘कम्युन घर’को अभ्यास सुरु गरेको थियो ।
कम्युनिष्ट अभ्यासअनुसार व्यक्तिगत सम्पत्ति छाडेर सामूहिक रुपमा खेतीपाती गरेर बस्ने बासस्थानलाई कम्युन घर भनिन्छ । सबै नागरिक बराबर हुने, निजी सम्पत्ति केही नहुने, सामूहिक परिवार एउटै घरमा बस्ने, सामूहिक कार्य गर्ने र जे आउँछ बाँडीचुँडी खाने भन्दै साम्यवादी अभ्यास गर्दै राममाया र उनको परिवार कम्युन घरमा बस्न थाले ।
उनको परिवारसहित गाउँका थुप्रैले व्यक्तिगत सम्पत्ति पार्टीलाई दान गरेर संयुक्त परिवारका रुपमा कम्युन घरमा बस्न आइपुगे । २०६० सालमा लामो घर बनाएर ६ जना परिवारबाट गठन भएको थवाङको ‘अजम्बरी जनकम्युन’ ३३ जना परिवारसम्म पुग्यो । १४५ जना कम्युन घरमा बस्थे । उनीहरुलाई कम्युन घरका सदस्य भनिथ्यो ।
‘कम्युनमा आफूसँग भएका सबै सम्पत्ति बुझाएर, मेरो निजी केही हुने छैन भनेर बस्न आउनुपर्थ्याे । तेरो, मेरो भन्ने केही हुँदैनथ्यो’ राममाया भन्छिन्, ‘कम्युनमा जे हुन्थ्यो सबैको साझा हुन्थ्यो ।’
कम्युन घरमा केटाकेटी हुर्काउनेदेखि खेतीपाती गर्ने, खाना बनाउने सबै काम सामूहिक हुन्थ्यो । ‘३३ परिवार एउटै घरमा बस्ने, एउटै भान्सामा खाना बनाएर सँगै खाने र सबै काम सँगै गर्थ्यौं,’ उनी थप्छिन् । कम्युन घरमा बस्दा राममाया खुसी थिइन् । उनलाई लागेको थियो, साँच्चै साम्यवाद यसरी नै सम्भव छ । तर उनको खुसी धेरै वर्ष टिकेन । साम्यवादको सपना देखाउने नेताहरु सत्तामा पुगेपछि सबैथोक बिर्सिए ।
२०६० सालदेखि सुरु भएको थबाङको कम्युन घर शान्ति सम्झौता पछिका केही वर्ष पनि चल्यो । नेताहरु सत्तामा पुगेपछि जब माओवादी पार्टीभित्र ध्रुवीकरण सुरु भयो । त्यसको असर कम्युन घरमा पनि पर्यो । ३३ परिवार पुगेकामध्ये कम्युन घरका छाडेर आ–आफ्नो व्यक्तिगत घर व्यवहारमा फर्के ।
राममायाले भने कम्युन घर छाड्न सकिनन् । श्रीमान् ताराबहादुर रोका उनलाई कम्युन घरमा छाडेर समाज बदल्न भन्दै बन्दुक बोकेर युद्धमा होमिएका थिए । तर युद्धको मैदानबाट उनी बाँचेर फर्केनन् । उनका श्रीमान्ले संयुक्त परिवार बस्ने सपना देखाएर सबै घरसम्पत्ति पार्टीलाई दिएर त्यहाँ ल्याएका थिए ।
श्रीमानको मृत्युपछि राममायाको जीवनको खुसी खोसिए पनि कम्युन घरको सपना भने बाँकी थियो । तर अहिले कम्युन घर फुटेपछि उनको सपना पनि भत्कियो । ‘नेताले देखाएको आदर्शको पछि लागेर घरवार सबै छोडेर आयौं,’ उनी भन्छिन्, ‘अहिले त्यो सबै भत्कियो । नेताहरुले सपना मात्र देखाए । सत्तामा पुगेपछि कम्युन घर बिर्सिए ।’
रोल्पाका रामपुरी रोका अहिले पनि अजम्बरी कम्युन घरमै छिन् । पार्टीले सुरु गरेको साम्यवादी अभ्यासको पछि लागेर उनको परिवारले व्यक्तिगत सम्पत्ति सबै बुझाएर कम्युन घरमा बस्न आइपुगेका थिए ।
‘कम्युनमा सम्पत्ति, गाईवस्तु सबै साझा थियो । हरेक काम गर्नुपरे कम्युन परिवारमा सल्लाह गरेर गरिन्थ्यो,’ उनी सुनाउँछिन्, ‘कम्युन घरका रहेक सदस्य आफ्नै परिवारझैं थिए । सबै परिवार एउटै घरमा मिलेर बस्ने र सामूहिक काम गर्ने गर्थ्यौं ।’
कम्युन घरमा अन्नबाली मात्र हैन आम्दानी समेत सामूहिक रुपमा बाँडिन्थ्यो । ‘अन्नबाली उब्जाएर आएको पैसा कम्युन कोषमा जम्मा गरिन्थ्यो,’ राममाया भन्छिन्, ‘कसैले व्यापार र पेसा गरेर कमाएको पैसा पनि व्यक्तिले राख्दैन थिए । हरेक आर्थिक हिसाब कम्युन घरलाई बुझाएर त्यहींबाटै घरको खर्च चलाइन्थ्यो ।’ सामूहिक रुपमा बस्दा पनि कम्युन घरमा कहिले झैझगडा र मनमुटाव नभएको उनी सुनाउँछिन् ।
कम्युन घरमा विभाग छुट्टाएर काम हुन्थ्यो । घर, भान्सादेखि सरसफाइ सम्हाल्ने जिम्मेवारी महिलाहरुकै हुन्थ्यो भने पुरुषहरु बाहिरी काम खेतीपाती, गाईवस्तु र पसल चलाउने गर्दथे । राममाया भन्छिन्, ‘हरेक काम गर्दा परिवार सल्लाह गरेर गर्थ्यौं । खाना पनि खान्थ्यौं । खेतीपातीबाट आएको अन्नबाली सामूहिक उब्जाएर बाँड्थ्यौं ।’
कम्युन घरमा बस्न आउँदा राममायाको परिवार पनि दंग थियो । ‘कम्युनमा आएपछि कोही धनी, गरिब, ठूलो सानो भन्ने थिएन,’ उनी भन्छिन्, ‘सबै समान हौं, मिलेर बस्नुपर्छ भन्ने भावना हुन्थ्यो । दुःखमा एकअर्कालाई सघाउँथ्यौं, सहयोग गर्थ्यौं ।’
सत्तामा पुगेपछि नेताले बिर्सिए कम्युन घर
उनलाई व्यक्तिगत पारिवारिक जीवनभन्दा सामूहिक बस्न रमाइलो लाग्यो । कम्युन घर सधैं यस्तै होस् भन्ने उनी चाहन्थिन् । उनलाई लागेको थियो, कम्युन घर कसैगरी भत्किंदैन होला, परिवारमा कहिल्यै फुट आउने छैन । नेताहरु पनि सत्तामा पुगेपछि देशभर यस्तै कम्युन घर बनाउने कुरा गर्थे ।
तर सोचे जस्तो हुन सकेन । शान्ति प्रक्रियापछि जब पार्टी सत्तामा पुग्यो, नेताहरुले कम्युन घरलाई बिर्सिए । ‘युद्ध चलुञ्जेल नेताहरु कम्युन घरको सपना देखाउँथे, समाजवादमा जाने भाषण गर्थे,’ उनले भनिन्, ‘सत्तामा पुगेपछि त्यो सबै बिर्र्सिए । कम्युन परिवारलाई भुले ।’
अहिले उनी त्यही कम्युन घरमा बसेपनि एक्लै व्यवहार चलाइरहेकी छन् । कम्युन घरको सपना भत्किएपछि उनको मन पनि फाटेको छ ।
कम्युनका भौतिक घर छन्, परिवार छैनन्
अहिले कम्युन घर छैनन् । भौतिक घर भएपनि त्यहाँ परिवार छैनन् । माओवादीले द्वन्द्वकालमा रोल्पाको थबाङमा अजम्बरी जनकम्युन, जेलबाङमा जलजला, रुकुममा बलिदान जनकम्युन र जाजरकोटमा जुनी जनकम्युन सञ्चालन गरेको थियो । रोल्पाबाट सुरु गर्ने र सत्तामा पुगेर देशभर यस्तै कम्युन अभ्यास गर्ने माओवादीको सपना थियो ।
थबाङकै जयप्रकाश रोका कम्युन घरका संयोजक थिए । जीवनभरसँगै बस्ने वाचा गरिएको कम्युन घर शान्ति प्रक्रियापछि फुट होला भन्ने सोचेकासम्म थिएनन् उनले ।
तर साम्यवादको सपना देखाएर नेताहरु सत्तामा पुगेपछि सबै बिर्सिए । उनीहरु कम्युन घरमा फर्केर आएनन् ।
‘सत्तामा पुगेपछि नेताहरुबीच मतभेद सुरु भयो’ उनी भन्छन्, ‘पार्टी ध्रुवीकरणपछि कम्युन घरमा पनि विचार फरक–फरक आउन थाले ।’ युद्धकालसँगै रहेका कम्युन परिवारमा केहीले प्रचण्ड पक्ष, केही विप्लव र केही वैद्य समर्थनमा पुगे । यसको असर कम्युन घरमा पर्याे ।’
नेताहरु पार्टी विभाजनको बाटोमा लागेपनि कम्युन घर जोगाइराख्न कम्युन परिवारले कोशिश गरे । २०७० सालसम्म कम्युन घरमा १२ भन्दा बढी परिवार थिए । तर क्रमशः पार्टीमा परेको विभाजनको असरले कम्युन घर खाली हुँदै गयो । ३३ परिवार पुगेको थबाङको कम्युन घरमा तीन परिवार मात्रै छन् । उनीहरु एउटै घरमा भएपनि आ–आफ्नै घरगृहस्थी गरिरहेका छन् ।
‘पार्टी नै विभाजित भएपछि सबै कम्युन घर पनि विघटनको सँघारमा पुगे,’ रोका भन्छन्, ‘कम्युन घरका सदस्यहरु विस्तारै घर छाड्दै व्यक्तिगत जीवनमा फर्किए ।’
शान्ति प्रक्रियापछि रोल्पाको दुईवटा कम्युन घरसहित रुकुम र जाजरकोटको कम्युन घर विघटन भइसकेका छन् । पार्टीलाई सम्पत्ति दान गरेर कम्युन घरमा बस्न आएका परिवार विचल्लीमा छन् । उनीहरुले कम्युन घरमा बुझाएको सम्पत्ति फर्कंदा फिर्ता पाएनन् ।
थबाङ कम्युन घरका संयोजक रोकाले कम्युन घर आदर्श र सिद्धान्तमा मात्र सीमित भएको बताउँछन् । ‘हिजो कम्युनको जुन अभ्यास गरियो, अहिले हेर्दा त्यो एउटा आदर्श मात्र रहेछ भन्ने लाग्छ’ उनी भन्छन्, ‘त्यो बेला हामीलाई आदर्श देखाइयो तर व्यवहारमा त्यो सम्भव रहेनछ ।’
प्रतिक्रिया 4