+
+

बाबुराम विश्लेषण : कांग्रेस र एमाले उस्तै, माओवादी केन्द्र अवसरवादी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १९:३७

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका अरु राजनीतिक शक्तिको विश्लेषण गरेका छन् ।

शनिबार काठमाडौंमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले पेश गरेको प्रस्तावमा कांग्रेस र कम्युनिष्टको ब्राण्डनाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको उल्लेख गरेका छन् ।

उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा नेकपा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको उनले बताएका छन् । तर माओवादीले यस्ता मुद्दामा पनि अवसरवादी नीति अख्तियार गरेको भन्दै उनले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो ।

हालै एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी के कति कारणले एमाले र माओवादी केन्द्रभन्दा भिन्न भन्ने अझै प्रष्ट भइनसकेको उनले बताएका छन् ।

राप्रपा शक्तिले सानो भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको भन्दै  भट्टराईले लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्ने प्रोपगाण्डाहरुप्रति चनाखो रहनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक समाजवाटी पार्टीको विचार, सिद्धान्त र एजेण्डा प्रष्ट नभएको, प्रतिगमनलाई साथ दिने कि नदिने मतभेदमा जसपाबाट फुटेर गएको भन्दै उनले भनेका छन्, ‘ओली सरकारको दुइ-दुई पटकको असंवैधानिक संसद विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टीबारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।’

विवेकशील–साझा पार्टीको एउटा पंक्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको भट्टराईको विश्लेषण छ ।

उनले प्रतिवेदनमा भनेका छन्, ‘यस पार्टी र आन्दोलनमा भएको विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिको अग्रगामी मूलबाटोमा जान चाहने युवा पंक्ति सानै संख्यामा भए पनि देशको प्रगतिशील र सकारात्मक शक्तिको स्रोत हो । उनीहरुसँग संवाद र सहकार्य गर्न सकिन्छ ।’

जनमत पार्टीको वास्तविक राजनीतिक अभिष्ट के हुन् भन्ने अझै प्रष्ट नभएको उनले बताएका छन् । ‘स्वतन्त्र मधेश’ को नाराबाट यो पार्टीको नेतृत्व चर्चामा आउको र ओली सरकारसँग आत्मसमर्पण गरेको भन्दै उनले भनेका छन्, ‘यसले हाम्रो पार्टी र मधेश सरकारविरुद्ध अनेक अवाञ्छित र झुठा प्रोपागण्डा गरेको छ । त्यसको हाम्रो पार्टीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ ।

राजनीतिक दलहरुबारे भट्टराईले दस्तावेजमा के लेखेका छन् हेर्नुहोस्

१०.१. नेपाली काङ्ग्रेस : 

वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो । औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ सालयताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि हुँदैन ।

मूलतः यो दलले नवउदारवादी आर्थिक नीति अवलम्बन गर्ने गरेको छ । यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो ।परिस्थितिवश गणतन्त्रमा आयो । संघवाद र समावेशी लोकतन्त्रलाई अझ जीवन्त, ठोस र मूर्त बनाउने जनताको चाहना र प्रयासमा यो दलले अवरोधको काम गरिरहेको छ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको समानता–यी दुबै मूलतः लोकतान्त्रिक धारका दल हुन् । तर, कांग्रेस ‘उदार लोकतन्त्र’ मा विश्वास गर्ने दल हो भने जसपा ‘समावेशी लोकतन्त्र’ मा विश्वास गर्ने दल हो । कांग्रेस संसदीय प्रणालीमा विश्वास गर्ने दल हो भने जसपा सहभागितामूलक, प्रत्यक्ष र समानुपातिक प्रणालीमा विश्वास गर्ने दल हो ।

कांग्रेस नवउदारवादी आर्थिक नीतिमा विश्वास गर्ने दल हो भने जसपा सामाजिक उत्तरदायित्वसहितको बजार अर्थतन्त्र अर्थात् ‘बजार–समाजवाद’ मा विश्वास गर्ने दल हो । कांग्रेस परोक्ष/प्रत्यक्ष देशको एकात्मक, एकल जातीय, एकभाषिक नीतिलाई प्रतिरक्षा गरिरहेको छ भने जसपा बहुसाँस्कृतिकतावादको पक्षमा दृढतापूवर्क उभिएको छ ।

कांग्रेसले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नलाई अझै आत्मसात गर्न सकेको छैन भने जसपा यी सवालको मुख्य संवाहक दल हो । कांग्रेस र जसपा बीचका यी मुख्य भिन्नता हुन् ।

लोकतन्त्रको विश्वव्यापी मूल्य मान्यताको रक्षाको प्रश्नमा कांग्रेससँग जसपाको सहकार्य हुन सक्दछ । बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुन्छ ।

१०.२.नेपाल कम्युनिष्ट पार्टीका घटकहरु

नेपालमा दर्जनौं कम्युनिष्ट समूह छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ठूला कम्युनिष्ट समूह हुन् । साना कम्युनिष्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसदमा प्रतिनिधित्व गर्दछन् । संसदमा नभएका नेकपाका अन्य घटकहरु वैद्य, विप्लब, आहुति, माले आदि अनेक समूहहरु छन् ।

यी सबै समूहको विचार र उत्पत्तिको आधार एउटै हो । यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ‘नयाँ जनवादी क्रान्ति’ र माओ त्से–तुङ विचारधारा/माओवादबाट प्रभावित छन् । यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन् । तसर्थ हाम्रो पार्टीको दृष्टिकोणमा नेकपाका घटकहरु आधारभूत रुपमा उस्तै हुन् । एउटै पेन्सिलका फरक फरक टुक्रा मात्रै हुन् ।

तर, तात्कालिक विचार, कार्यनीति र कार्यदिशाका दृष्टिकोणले यिनीहरु बीच केही भिन्नता पनि छ । सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् ‘संसदीय प्रणाली’ को बाटो समात्यो । माओवादी केन्द्र एमालेसँगको एकता, नेकपा (नेकपा) को निर्माण र विभाजनपछि झण्डैझण्डै त्यही स्थितिमा पुगेको छ ।

औपचारिक रुपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलक विचारधारा माओवादी केन्द्रसँग बाँकी छैन ।

हाम्रो पार्टीको दृष्टिकोणमा एमाले मूलतः बहुदलीय जनवादमार्फ्त नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रुपान्तरण भएको छ । कांग्रेस र कम्युनिष्टको ब्राण्डनाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता पाउन गाह्रो छ । कांग्रेस र एमाले एउटै सिक्काका दुई पाटा जस्तै हुन ।

दुबै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेका थिए । दुबै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिन्छन् । कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमालेले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न सकेको छैन ।

उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिन्छ । तर, यी सवालमा पनि माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गर्ने गरेको छ । एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो । बाँकी प्रश्नमा भने माओवादी झनै अनुदार, सङ्कीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रुपमा देखिएको छ ।

नेकपा (एकीकृत समाजवादी) को विचार, सिद्धान्त र एजेण्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसँग के कति कारणले समान वा फरक भन्ने अझै प्रष्ट छैन । केपी शर्मा ओलीको असंवैधानिक संसद विघटनसँग विमति राखेको एमालेबाट फुटेको दल भएको हुँदा यसको विश्लेषण पद्धति आधारभूत रुपमा एमालेको जस्तै छ । यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भविष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नुपर्दछ । सोही बमोजिम कुन हदसम्म सहकार्य गर्न सकिन्छ वा सकिँदैन, निर्णय गर्दै जानु पर्ने हुन्छ ।

एमसीसी प्रकरणमा यी तीन वटै कम्युनिष्ट समूहले चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरे । देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वसनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमा समेत सस्तो राजनीति गरे ।जनता र विश्वको आँखामा आफैंलाई अविश्वसनीय र नाटकी सिद्ध गरे ।

साना वामपन्थी वा कम्युनिष्ट समूहरुमा कुनैउल्लेखनीय नयाँ विचार र सिर्जनशील क्षमता देखिएको छैन । तिनीहरुसँग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्न सक्ने क्षमता देखिन्न । शास्त्रीय साम्यावादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुन्ठा, निराशा, हतासा, विम्रभ र उद्धिग्नताबाहेक साना वामपन्थी समूहसँग थप कुनै गुण देखिन्न ।

समग्रमा नेपालका सबै साम्यवादी समूहका साझा समस्या छन । विश्व साम्यवादी आन्दोलनमा आएको व्यापक उतारचढाब, पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्य असान्दर्भिक बनेको अवस्था, विश्व इतिहासप्रति सृजनशील आलोचनात्मक चेतको कमी, कतै पलायन र विर्सजन, कतै जडता र रुढताले नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ ।

एकातिर उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको विश्व सान्दर्भिकता, व्यवहारिक प्रयोग र प्रयोजनशीलताबारे व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष व्याप्त छ । यही वैचारिक रन्थनाहट बीच कतिपयलेआफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रुपमा मात्र ‘कम्युनिष्ट’ भएको बुुझिदिन आग्रह गर्दै आएकाछन् ।

नेपालका कम्युनिष्ट समूहहरुसँग अब कुनै आशा, अपेक्षा र भरोसा राख्न सकिन्न । आफै भ्रमित व्यक्ति, आन्दोलन र संगठनले देश र जनताको सही नेतृत्व गर्ने कुरै हुँदैन ।लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति पनि उनीहरु प्रतिबद्ध छैन । देशको सामाजिक विविधतालाई सम्बोधन गर्ने विधि संघवाद, समावेशिता, समानुपातिककता, बहुसाँस्कृतिकतावाद, सामाजिक न्याय, आरक्षणआदि सवालप्रति पनि वामपन्थी समूहहरु खासै सकारात्मक र प्रतिबद्ध छैनन ।

कम्युनिष्ट समूहहरुबाट सन्तुलिन अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक जटिलताको सम्बोधन पनि सम्भव देखिन्न । नत यिनीहरुसँग कुनै ठोस आर्थिक नीति तथा विकास र समृद्धिको मोडेल नै छ ।सरकारमा भएका बेला यिनीहरुले पनि आसेपासे पुँजीवाद, भ्रष्टाचार, कमिशनखोरीकै अभ्यास गर्दै आएका छन् ।

समग्रमावामपन्थी तथा कम्युनिष्ट समूहहरुको देशको अग्रगामी रुपान्तरण, समतामूलक समृद्धि र समावेशी विकासको मार्गमा जानेर, नजानेर व्यवधानजस्तो बन्न पुगेका छन् ।

१०.३ राप्रपा

राप्रपा/राप्रपा नेपाल रुढीवादी धारको प्रतिनिधि दल हो । पूराना शासक वर्ग र परिवार– राणा, शाह र पञ्चहरुको विरासतको गर्भबाट यो दलको उदयर अस्तित्व कायम भएको हो । जनतामा निहितधार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो चुनावमा निक्कै कमजोर भएको छ । पछिल्लो समय ‘एकता महाधिवेशन’ गरेको यो दल महाधिवेशन लगत्तै विभाजित भएको छ ।

शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल हो । यो मूलत लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकुशतावादी विचारको दल हो ।यो दल लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, बहुसाँस्कृतिवाद, समाजवाद र धर्मनिरपेक्षताको विरुद्धमा छ ।

यो दलले बेलाबेला ‘राजा आऊ, देश बचाऊ’ जस्ता भ्रम फैलाउने गर्दछ । लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्न अनेक कुतर्क र प्रोपागण्डा गर्ने गर्दछ । त्यसो हुने कुनै सम्भावना छैन । तथापि यो दलले छर्ने अनावश्यक भ्रम चिर्न हाम्रो पार्टी निरन्तर चनाखो रहनु पर्दछ ।

१०.४  लोसपा

हाम्रो पार्टीबाट चोइटिएको एउटा समूहले लोकतान्त्रिक–समाजवादी पार्टी (लोसपा) गठन गरेको छ ।यो दलसँगविचार, सिद्धान्त र एजेण्डाको प्रष्टता छैन । मूलतः प्रतिगमनकारी ओली सरकारलाई साथ दिने कि नदिने भन्ने प्रश्नमा मतभिन्नता भई यो समूह हामीबाट चोइटिएको हो ।

ओली सरकारको दुइदुई पटकको असंवैधानिक संसद विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टीबारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।

१०.५ अन्य दलहरु 

त्यसका अतिरिक्त विवेकशील–साझा पार्टी र यसका विभिन्न समूहहरु पनि देशको राजनीतिमा क्रियाशील छन् ।यी समूहहरु विचार र शक्ति दुबै दृष्टिकोणले अस्तित्व संकटको अवस्थमा देखिन्छन् ।

यसभित्रको एउटा पंक्तिले विचारमा पश्चगामी फन्को मारेको छ भने प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवा त्यस्तो अवसरवादी फन्कोबाट असन्तुष्ट र निरास भएको छ । यस पार्टी र आन्दोलनमा भएको विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिको अग्रगामी मूलबाटोमा जान चाहने युवा पंक्ति सानै संख्यामा भए पनि देशको प्रगतिशील र सकारात्मक शक्तिको स्रोत हो । उनीहरुसँग संवाद र सहकार्य गर्न सकिन्छ ।

तराई–मधेशका केही जिल्लामा जनमत नामको पार्टीले केही राजनीतिक गतिवधि गरिरहेको पाइन्छ । यो पार्टीका वास्तविक राजनीतिक अभिष्ट केहुन भन्ने अझै प्रष्ट छैन । ‘स्वतन्त्र मधेश’ को नाराबाट यसको नेतृत्व चर्चामा आएको थियो । पछि त्यसले ओली सरकारसँग आत्म समर्पण गर्‍यो । यसले हाम्रो पार्टी र मधेश सरकार विरुद्ध अनेक अबान्छित र झुठा प्रोपागण्डा गरेको छ । त्यसको हाम्रो पार्टीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?