+
+

एमाले केन्द्रीय सदस्य भन्छिन् : चितवनको परिस्थिति मूल्यांकन गरेर तालमेलबारे निर्णय गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १३:१७

२७ चैत, चितवन । स्थानीय तहको चुनाव नजिकिंदै गर्दा चितवनमा यसको सरगर्मी बाक्लै छ । मुख्य राजनीतिक दलहरुले पहिलो चरणको घरदैलो अभियान सकिसकेका छन् । सबैभन्दा पहिले घरदैलो अभियान थालेको एमालेले दोस्रो चरणका कार्यक्रम सुरु गर्ने जनाएको छ । ०७४ सालको स्थानीय निर्वाचनमा जस्तै यसपालि पनि गठबन्धनविरुद्ध लड्नुपर्ने भएपछि एमालेको मिहिनेत चितवनमा बेढी देखिन्छ ।

यसअघि एमालेको चितवन जिल्ला अध्यक्ष भइसकेकी केन्द्रीय सदस्य पार्वती रावलसँग अनलाइनखबरकर्मी रामकुमार डिसी र सुवास पण्डितले गरेको कुराकानीको सम्पादित अंश :

चितवनमा निर्वाचन तयारी कस्तो चलिरहेको छ ?

नेकपा एमाले सुरुवाती चरणदेखि निर्वाचनसँग परिचित पार्टी भएको हो । सबै तयारीका हिसाबले हामी अगाडि बढेका छौं । विगतदेखि नै निर्वाचनको हामीसँग राम्रो अभ्यास पनि छ ।

हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकबाटै चुनावबारे निर्देशन भइसकेको थियो । त्यसअनुसार अन्तरपार्टी निर्देशन जारी भएर प्रदेश र जिल्लामा आइसकेको छ । पार्टी केन्द्र र प्रदेशको सर्कुलर अनुसारै उम्मेदवार छनोटको प्रक्रियालाई पनि अगाडि बढाइसकेका छौं ।

पार्टी केन्द्रले पनि पार्टी स्थापना दिवसको अवसरमाा बैशाख ९ गते ७५३ वटै पालिकामा स्थानीय घोषणा पत्र पनि जारी गर्छौं । हाम्रो पार्टी सम्पूर्णरुपले निर्वाचनमा केन्दि्रत भएको छ ।

स्थानीय घोषणा पत्रमा कस्ता एजेन्डा अगाडि सार्नुहुन्छ ?

चितवन जिल्लामा पनि विभिन्न ठाउँमा नेतृत्व हुँदा हामीले काम गरेर हामीले प्राप्त गरेको उपलब्धि र कामलाई विश्लेषण गरेर एजेन्डा अगाडि सार्छौं । विगतदेखि नै चितवनमा एमालेको नेतृत्वदायी भूमिका छ । हाम्रो पार्टीकै नेतृत्वमा समग्र चितवको गुरुयोजना निर्माण गरेका हौं । यहाँका क्षेत्र विभाजन, यहाँका स्थानीय निकाय विभाजनका सन्दर्भमा पनि समग्र चितवनको विकासका लागि एमालेको स्पष्ट दृष्टिकोण छ ।

हामी केन्द्रले दिएको समयसीमा मै जिल्लाको घोषणा पत्र सार्वजनिक गर्छौं । त्यसका लागि पालिका र जिल्ला लागिसकेको छ ।

उम्मेदवार छान्ने तपाईंहरुका मापदण्ड के हुन् ?

उम्मेदवारको मापदण्डबारे पनि हाम्रो पार्टी केन्द्रले एउटा आधार तय गरेको छ । जनतको बीचमा परिचित, जनताको बीचमा सर्वस्वीकार्य, जनशैली भएका, विकासको भिजन र दृष्टिकोण दिनसक्ने नेतृत्वलाई नै एमालेले आधार बनाएको छ । विगतका जनप्रतिनिधिका काम कारवाहीलाई पनि हामीले आधार बनाएका छौं । हाम्रो समाजको बनोटलाई पनि कसरी प्रतिनिधित्व गर्न सकिन्छ भन्ने कुरालाई पनि ध्यान दिन्छौं ।

तपाईंहरुले एक्लाएक्लै चुनाव लड्छौं भन्दाभन्दै पनि तपाईंहरुको पार्टी केन्द्रले नै स्थानीयस्तरमा तालमेलको विकल्प खुला गरिदिएको छ । चितवमा तालमेल हुन्छ कि हुँदैन ?
मुख्यतः एमाले आफ्नै शक्ति र तागतमा विश्वास गर्छ । विगतमा पनि हामीले त्यही शक्ति र तागतमा जनताको बीचमा गएर स्थापित भएका हौं । २०७४ मा हामीले एकाध ठाउँबाहेक अन्यत्र एक्लै प्रतिस्पर्धा गरेका हौं । अहिलेसम्म राप्रासँग तालमेल गर्ने कुरा आएको छैन ।

यहाँ राप्रपाको पनि राम्रै मत छ । अहिले सत्तारुढ दलहरुको छुट्टै गठबन्धन पनि छ । चुनाव जित्ने आधारका रुपमा तपाईंहरुले गर्ने तालमेललाई हेरिएको छ नि ?
मैले अघि पनि भने नेकपा एमाले आफ्नै तागत, शक्तिमा विश्वास गर्छ । निर्वाचन भनेको जित्नका लागि हो । हामीले सही नेतृत्वलाई स्थापित गर्ने सवालमा त्यस्तो कुनै आवश्यकता भयो भने पार्टी केन्द्रसँग सल्लाह गरेर निर्णय लिन्छौं । परिस्थितिलाई मूल्यांकन गरेर हामी अरु निर्णयमा पुग्न सक्छौं ।

थुप्रै उपप्रमुखहरु महिला छन् । अब प्रमुख हुने इच्छा उनीहरुको छ । तर पार्टीले टिकट नदिनसक्छ । यसमा तपाईं पनि महिला भएका कारण एमाले पार्टीभित्र कस्तो पहल रहन्छ ?

महिला नेतृत्व स्थापित गर्ने सवालमा हामी स्पष्ट छौं । महिला नेतृत्व स्थापित एमालेको आठौं महाधिवेशनले पनि महत्वपूर्ण भूमिका खेलेको छ । २०६३ सालको अन्तरिम व्यवस्थापिकामा हालकी राष्ट्रपति र तत्कालीन हाम्रो नेता विद्यादेवी भण्डारीको नेतृत्वमा पार्टीभित्र ३३ प्रतिशत सुनिश्चित गरिसकेपछि अब त्यसलाई कमिटीमा सुनिश्चित गर्ने कुरामा समस्या छैन । अब समस्या पदाधिकारी र महिलाहरुको उपस्थितिको छ । म एउटा जनप्रतिनिधि र संसदीय समितिमा पनि भएको हिसाबले पनि यही निर्वाचनलाई लक्षित गरेर मैले निर्वाचन आयोगका आयुक्त, पूर्व प्रमुख आयुक्तसहित सबै राजनीतिक दलहरुसँग हामीले छलफल गरेका थियौं ।

उपप्रमुख भएका महिलाहरुको प्रमुखमा जाने सम्भावना के छ ?

प्रमुख भइसकेका महिलाहरुलाई फेरि दोहोर्‍याउने सम्भावना के छ भन्नेबारे छलफल गरेका थियौं । यो निर्वाचन प्रणाली र खर्च व्यवस्थापनका कारणले पनि महिलालाई अगाडि आउन छेकेको देखिन्छ ।

हाम्रो पार्टी भित्रको लबिइङ भनेको जो प्रमुख पदमा रहेर राम्रो काम गरेको छ, त्यसलाई अपग्रेड गर्नुपर्छ भन्ने छ । हाल उपप्रमुखको जिम्मेवारी पाइरहेका महिला उपप्रमुखहरुले यो पाँच वर्षमा कति दक्षता देखाउनुभयो ? नतिजा कति दिनुभयो भन्ने कुराले पनि अगाडि बढ्ने आधार तयार पार्छ ।

प्रमुख पदमा काम गरिरहेका महिलाहरुले यो पाँच वर्षमा आफूलाई कति स्थापित गर्नुभयो । त्यो कुरालाई पनि आधार मानिन्छ ।

वडा भनेको कार्यकारी पद हो । ६ हजार ७४३ वडाध्यक्ष मध्य ६२ जना मात्रै महिला जित्ने अवस्था बन्यो । महिला वडाध्यक्षहरुको संख्या वृद्धि गर्नुपर्छ भनेर हामीले आफ्नो पार्टीमा पनि भनेका छौं । हामीले अन्तरपार्टी महिला नेतृत्वहरुबीचमा पनि छलफल चलाएका छौं ।

एक तिहाइ वडामा महिला उठाउने र जिताउने कुरामा पार्टीहरुको एजेन्डा बनाउनुपर्छ । राम्रो काम गरिरहेका उपप्रमुखलाई राम्रो ठाउँमा लाने कुरा र राम्रो काम गरेका प्रमुखलाई पनि दोहोर्‍याउने कुरामा हामीले पार्टी भित्र लबिइङ गरिरहेका छौं ।

चितवनमा महिला जनप्रतिनिधिहरुको अवस्था के छ ?

सात पालिकामा गरेर ९८ वडा चितवनमा छन् । महिलालाई वडाध्यक्षका रुपमा अगाडि बढाउनुपर्छ भनेर पहल गर्‍यौं । हामीले जम्मा चार जना मात्रै महिला वडाध्यक्षको उम्मेदवार बनाउन सक्यौं । त्यसमध्ये दुई जनाले जित्नुभएको थियो । अहिले पनि हामीले सबै पालिकामा वडाध्यक्षका महिला उम्मेदवार दिनुपर्छ भनेर पार्टीमा छलफल गरिरहेका छौं ।

अहिले हामीले उम्मेदवार सिफारिस गर्दा पनि तीन जनामध्य एक जना अनिवार्य महिला सिफारिस गर्नुपर्ने प्रावधान बनाएका छौं । महिला वडाध्यक्षको संख्या वृद्धि गर्ने भन्ने कुरामा हामी लागेका छौं ।

नेतृत्व विकासको आधार पनि वडा हो । त्यही ठाउँमा महिलाको संख्या कम हुनुको कारण के हो ?

हाम्रो हिजोको मूल्य, मान्यता, संस्कार, सोचका कारणले महिलाहरुले गर्न सक्छन् र ? जित्छन् र ? भन्ने खालको प्रश्न हिजो पनि थियो र आज पनि छ । तर, त्यो थोरै मत्थर भएको छ । राज्यका विभिन्न निकायमा महिलाहरुले प्रदर्शन गरेको क्षमताले महिलाले अवसर पाउँदा सक्छन् है भन्ने एउटा सकारात्मक सन्देश गएको छ ।

हामीले कानूनीरुपमै वडा सदस्यमा दुई जना महिला अनिवार्य गरेका छौं । हिजो महिला सदस्य बनाएकाहरु पाँच वर्षको भूमिका, सक्रियताले अब वडाध्यक्षमा माग राख्न सक्ने, आवाज उठाउन सक्ने हिम्मत र क्षमता उहाँहरुले पनि विकास गर्नुभएको हो । हामीले पनि हेरिरहेका छौं, कतिपय स्थानमा हिजो वडा सदस्यमा निर्वाचित भएका महिलाहरुले आफूलाई व्यवस्थित र सिर्जनात्मक ढंगले प्रस्तुत गर्नु भएको छ । त्यसले वडा सदस्यको दावेदार बनाउने सम्भावना पनि छ । टिकट दिँदा जित्न सक्ने सम्भावना पनि छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?