
२८ चैत, काठमाडौं। मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा हुने ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’मा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् ।
निर्वाचन आचार संहिता लागू भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’मा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा भोलि मंगलबारदेखि पानी पठाउन सुरु गरिने भएको छ ।
२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् ।
तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो । १० फागुनमा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गरेका थिए ।
२२ फागुनमा सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेट खोलेर बाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।
प्रतिक्रिया 4