+
+

नेतृत्वलाई घच्घच्याउने बेला भएन र ?

कञ्चन झा कञ्चन झा
२०७८ चैत ३० गते १२:३९

नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बसिरहने या त चरम अवसरवादी हुन् वा दास ।‘ कांग्रेसका संस्थापक नेता एवम् लोकतन्त्रप्रति आस्थावान हामी सबैका आदर्श, जननायक बीपी कोइरालाको उद्गार हो यो ।

स्थानीय तहको चुनावका सन्दर्भमा गठबन्धनका नाउँमा हुँदै गरेका कतिपय सम्झौताले वीपीको यो उद्गारप्रति मनन् गर्न उद्वेलित गरेको छ। धरातलीय यथार्थको प्रतिकूल नेतृत्वबाट लादिने निर्णय सच्याउन पहलकदमी लिन सक्दैनौं भने या त हामी दास हौं या चरम अवसरवादी ! चरम अवसरवादी र दासको बिल्ला भिरेर आफूलाई कठपुतलीका रूपमा चिनाउने अथवा तर्क र बहस गरेर नेतृत्वलाई यथार्थ एहसास गराउन वा सच्चिन घच्घच्याउने ? यो हामी आफैंमा निहित छ।

स्थानीय तहको चुनावका सन्दर्भमा कतिपय पालिकामा केन्द्रबाट हुँदै गरेको सम्भावित तालमेलले कांग्रेसजन र शुभेच्छुकहरूमा गम्भीर चिन्ता र चासो व्यक्त भइरहेको छ। आ-आफ्नो पालिकाको वस्तुस्थितिबारे नेतृत्वलाई बुझाउने र गलत भइरहेको छ भने सच्याउन दबाब बढाउने पहिलो कर्तव्य सम्बन्धित पालिकाकै नेता-कार्यकर्ताहरूको हुन आउँछ।

त्यसैअनुरूप वीरगञ्ज महानगरबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको एउटा प्रतिबद्ध कार्यकर्ताका नाताले म यहाँ (वीरगञ्ज)को वास्तविक चित्र चर्चा गर्न गइरहेको छु । यो मेरो व्यक्तिगत नभएर वीरगञ्जका आम कांग्रेसजनको बुझाइ हो।

व्यापार-व्यवसाय सँगसँगै वीरगञ्जको प्रमुख बीज राजनीति पनि हो। जो राजनीतिमा नेपाली कांग्रेस स्थापनाकालदेखि नै सशक्तरूपमा जोडिएको छ। कांग्रेसको उद्भव र यहाँसम्मको यात्रामा वीरगञ्जको योगदान विशिष्ट छ। राणा शासनविरुद्धको सशस्त्र क्रान्तिमा कांग्रेसले सुरुवाती सफलता प्राप्त गरेको सहर हो वीरगञ्ज। जबकी एकैसाथ विराटनगर र भैरहवा कब्जा गर्ने तत्कालीन कदम विफल भएको थियो ।

वीरगञ्ज कांग्रेसको विजयको मात्र होइन, विद्यमान राजनीतिक व्यवस्थाको विगुल फुक्ने सहर पनि हो। अर्थात् वीरगञ्ज कांग्रेस सँगसँगै लोकतन्त्रको मुख्य जरो भएको ठाउँ हो । समयक्रममा वीरगञ्जमा कांग्रेसको जरो कहिले फैलिने त कहिले नासिने भइरह्‍यो । यसको भागिदार को ? भन्ने समीक्षाको विषय हुन सक्छ । तर अहिले भने लोकतन्त्रको यो जरोलाई कसरी सपार्ने भन्ने चिन्ता-चासो राख्नुपर्ने बेला हो ।

म राजनीतिलाई वीरगञ्जको बीज र कांग्रेसलाई वीरगञ्जको जरो किन भनिरहेको छु भने यहाँबाट कयौं सक्षम राजनीतिज्ञ अंकुरित मात्र भएनन्, कांग्रेसको सांगठनिक फैलावटले पनि यहीँबाट व्यापकता पायो ।

कांग्रेसको गाथा गाइने वीरगञ्जका चोक-चौराह अनि खेत-खलिहान अहिले पतझड मौसममा झैं उजाड छन् । तर मुर्झाउन लागेको कांग्रेसलाई सिञ्चित गरेर पुनर्जागृत गर्नुपर्ने यो ऐतिहासिक अवसरलाई खेर फाल्न हामी जानी-नजानी उद्धत हुँदै छौं।

त्यसैले कांग्रेसको विरासत बोकेको वीरगञ्ज यो ऐतिहासिक चुनावी अवसर पाएर पनि उत्साही हुन सकेको छैन । भलै, अनेकन अड्चनका बाबजुद बसन्तयाममा हराभरा हुने प्राकृतिक नियमको अनुशरण वीरगञ्ज कांग्रेसमा हुन्छ कि भन्ने सकारात्मक आशा भने जीवितै छ ।

लोकतन्त्रको रक्षाका लागि भनेरै संघीय सत्ता गठबन्धनमा रहेका दलहरूबीचको तालमेललाई स्थानीय तहसम्मै निरन्तरता दिने पक्षमा कांग्रेस उभिएको हो। तालमेलको प्रमुख लक्ष्य नै लोकतन्त्रिक संरचना र पद्धतिमाथि प्रहार गर्ने शक्तिलाई परास्त गर्नु हो। यसमा सायदै कोही कांग्रेसजनको फरक मत होला।

तर यति भन्दैगर्दा, हाम्रो तालमेल लक्ष्योन्मुख छ/छैन भन्नेमा चाहिँ प्रष्ट दृष्टि हुनैपर्छ। अन्यथा दृष्टि एकातिर तर नतिजा अर्कोतिर जाने नौबत आउन सक्छ।वीरगञ्जमा यतिबेला नेपाली कांग्रेस नै सबैभन्दा बलियो शक्ति हो भनेर दावी गर्न सकिन्छ ।

हाम्रो तालमेल लक्ष्योन्मुख छ/छैन भन्नेमा चाहिँ प्रष्ट दृष्टि हुनैपर्छ। अन्यथा दृष्टि एकातिर तर नतिजा अर्कोतिर जाने नौबत आउन सक्छ।

अघिल्लो स्थानीय चुनावमा कांग्रेसको मतभार (कांग्रेससँग नेपाल लोकतान्त्रिक फोरमको एकीकरण भएपछि कुल मतसंख्या करिब २६ हजार), कांग्रेसका सम्भावित उम्मेदवारहरू र उनीहरूको ज्ञान तथा दृष्टि, मतदातामा कांग्रेसप्रति बढेको विश्वास र सांगठनिक चुस्तता वीरगञ्ज कांग्रेसका स्वनिर्मित सकारात्मक पक्ष हुन्।

त्यस्तै कांग्रेसइतरमा देखिएको अधैर्यता, अपरिपक्वता, व्यक्ति केन्द्रितहरूको बोलबाला, मतदाताप्रतिको अपमान र सैद्धान्तिक विचलन जस्ता अमिल्दा गतिविधि हाम्रा लागि बाह्य अनुकूलता हुन् । यिनै प्रमुख कारणहरूकै बलमा वीरगञ्जमा कांग्रेसलाई विजयको लागि धेरै अनुकूलता देखिन्छ । तर पनि तालमेलको नाउँमा कांग्रेसले आफ्नो शक्ति-सामार्थ्य र जनअपेक्षालाई नजरअन्दाज गर्नसक्ने संशय कायमै छ।

हो, राजनीति भनेजस्तै सोझो रेखामा हिंड्दैन, सत्य हो। तर जतिसुकै उबडखाबड र बाङ्गोटिङ्गो हिंडे पनि नेतृत्वद्वारा राजनीतिलाई विचार, सिद्धान्त र कार्यकौशलले बाँधेर राखेको हुनैपर्छ। अन्यथा राजनीतिमा विचारशून्यता, सिद्धान्तविहीनता र अकर्मण्यता हाबी हुन्छ।

यसले जनमानसमा वितृष्णा नै पैदा हुनेगरी राजनीतिलाई दूषित बनाउँछ। वीरगञ्जको राजनीति अहिले त्यही दूषित बाटोमा हिंडाउने हो कि भन्ने डर छ। यस्तो बेलामा राजनीतिलाई सङ्ल्याउने वा धमिल्याउने भन्ने निर्णय गर्नुपर्ने दोधारमा छ कांग्रेस।

केन्द्रीय नेतृत्वले त आफ्नो तजबिजी अधिकार प्रयोग गर्ला रे ! उसले गर्‍यो भन्दैमा हामी चुपचाप आज्ञापालक भइहाल्ने कि, गल्ती भएको ठाउँमा औंल्याउने पनि ? लोकतान्त्रिक विधि-पद्धतिका पालनकर्ता भनिएका हामीले आफूमा लोकतान्त्रिक आचरण दर्साउने कि नदर्साउने ?

आफ्ना विमतिहरू राख्न पाउने आधारभूत लोकतान्त्रिक अधिकारको उपभोग गर्ने कि नगर्ने ? अपवादबाहेक चरम अवसरवादी र दासको मानसिकता नभएकैले लोकतन्त्रमा विश्वास गर्ने हामी जस्ता लाखौं मानिस नेपाली कांग्रेसमा आबद्ध भएका हौं। त्यसैले लोकतान्त्रिक विधि-पद्धतिभन्दा बाहिरको ‘मालिक्याइँ’ र ‘हुकुम’ हामीलाई स्वीकार्य हुनु हुँदैन !

म यो कुरा आफू पनि वीरगञ्ज महानगरको मेयरको आकांक्षी भएको स्वार्थबाट प्रेरित भएर भनिरहेको विलकुल होइन। संगठनबाट जोसुकै काबिल व्यक्ति उम्मेदवार बनोस्, उसलाई जिताउन म र मजस्ता सबै आकांक्षी एकढिक्का हुनेछन्। तर जनभावना विपरीत ठहर्ने र भविष्यमा पदीय मार्यादाकै उपहास हुनेसम्मको जोखिम मोल्नुपर्ने सम्झौताले ‘वास्तविक तालमेल’ हुनै सक्दैन। यसले त उल्टो बेमेल मात्र बढाउँछ, अराजकता मात्र निम्त्याउँछ।

हाम्रो शासन व्यवस्था र राजनीतिक परिवेशमा आवश्यकताका आधारमा तालमेल वाञ्छनीय हुन सक्छ। तर त्यो आवश्यकीय स्वार्थको केन्द्रमा भने क्रमश: देश हुनुपर्छ, लोकतन्त्र हुनुपर्छ, कांग्रेस हुनुपर्छ । नकि, अमूक व्यक्ति वा दल ! ‘गठबन्धन’ले निर्णय नगर्दै आफूखुसी उम्मेदवार खडा गरेर जोरजबर्जस्ती गर्नेका पछाडि वीरगञ्जका कांग्रेसजन किन लागिदिनुपर्ने ?

‘गठबन्धन’को पनि आफ्नो मर्म हुन्छ। विधि-प्रक्रिया र कार्यशैली हुन्छ। आफू भए मान्य र अरू भए अमान्य भनेर सम्झौतापूर्व आफैं एक्लै बाटो तताइसकेकासँग कांग्रेसजन लत्रिनुपर्ने कारण के ? यसको चित्तबुझ्दो जवाफ नेतृत्वले दिनैपर्छ। वीरगञ्जका कांग्रेसजनले नेतृत्वबाट यो प्रश्नको जवाफ मागिरहेका छन्।

वीरगञ्ज कांग्रेसमा जारी असन्तुष्टिमा केन्द्रीय नेतृत्वकै मात्र कमजोरी पक्कै छैन। हाम्रै लाचारीको ‘उपहार’ हामीले पाउँदै छौं। लाचार व्यवहारलाई निरन्तरता दिइरहने वा तर्क र बहसमा आधारित रहेर संगठनमा लोकतान्त्रिक विधि-पद्धतिको अवलम्बन गर्ने भन्ने हाम्रा लागि यो एउटा सु-अवसर पनि हो । ‘गठबन्धनमा’ सामेल दलहरूको विरगञ्जमा शक्ति विश्लेषण गर्दा हामीले प्रमुख पद आफूले राखेर अन्य पदमा सहमति कायम गर्ने निर्क्यौल निकालेकै हो ।

तालमेल नभए पनि कांग्रेस एक्लै उम्मेदवार हुन र जित्न सक्षम छ भन्ने निर्णय पनि हामीले गरेकै हो । त्यसैले प्रमुख पद छाड्ने हो भने कि हामीले गरेको निर्क्यौल र निर्णय गलत हो भन्नुपर्‍यो, कि भने केन्द्रको निर्णय सही छैन भनेर सच्च्याउन अग्रसर हुनुपर्‍यो । अन्यथा हामी ‘दास र चरम अवसरवादी’ हैनौं भनेर भन्न सकौंला र ?

अन्त्यमा, अप्राकृतिक गठबन्धन हुँदा कांग्रेसका कार्यकर्ता हतोत्साहित हुने र संगठन उठ्नै नसक्नेगरी क्षतविक्षत हुने निश्चित झैं छ। कांग्रेसप्रति आस्थावान कार्यकर्ताहरूको भविष्य अन्य दलका नेताहरूको कठपुतली बन्ने सम्भावना ज्यादा छ।

माथिबाट हेर्दा त लोकतन्त्र र संविधान जस्ता ठूलठूला कुरा देखिएला तर सतहमा भने गठबन्धनले यिनैलाई (संविधान र लोकतन्त्रलाई) ध्वस्त पार्न सक्छ। ठाडो र तेर्सो हेराइमा भिन्नता त जरूर हुन्छ।

गठबन्धनको नाउँमा अहिले वीरगञ्ज महानगरको नेतृत्व अरू दललाई दिँदाको सोझो प्रभाव तत्काल त यहीँ मात्र देखिएला तर यसले कालान्तरमा भने पर्सा जिल्ला नै कांग्रेसबाट मुक्त हुन पुग्ने बाटो खन्ने छ।

(लेखक वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदको उम्म्देवारका आकांक्षी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?