+
+
वर्ष २०७८ को समीक्षा :

वर्ष २०७८ मा भलिबल महिला टिमले दिलाएको खुसी

नमिता दाहाल नमिता दाहाल
२०७८ चैत ३० गते २०:५६

३० चैत, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबल वर्षैभरि चर्चामा रह्यो । २०७८ सालमा नेपालको महिला राष्ट्रिय टिमले एसियन महिला सेन्ट्रल जोन च्यालेन्ज कपको उपाधि जित्दै सबैभन्दा ठूलो उपलब्धि हासिल गर्‍यो ।

कोभिड-१९ महामारीले गर्दा वर्षको सुरुआती केही महिना प्रभावित बनेपछि घरेलु भलिबल गतिविधि भने निरन्तर भइ नै रह्यो ।

यसवर्ष नेपालको महिला र पुरुष दुवै टिमले सेन्ट्रल जोनमा प्रतिस्पर्धा गरे । महिला टिमले अपराजित रहँदै उपाधि रक्षा गर्दा पुरुष टिम पदकसम्म पुग्न सकेन ।

कोभिड-१९ ले गर्दा नेपाली महिला टिमले खेल्ने पक्का भएको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा रद्द हुँदा ठूलो प्रतियोगिता खेल्नबा६ नेपाल बन्चित रह्यो ।

२०७८ सालको सुरुवातमा कोरोना महामारीले धेरै कार्यक्रमहरू रोक्यो । महामारीका कारण खेल कार्यक्रमहरु स्थगित भए ।

अन्तर्राष्ट्रिय स्तरमा धेरै सहभागिता जनाउन नपाए पनि भलिबलको चर्चा भने वर्षैभरि कायम रह्यो । तर अहिलेसम्म राष्ट्रिय खेलको आफ्नै छुट्टै कभर्ड हल नहुनुले भने गिज्याइरहेको छ ।

नेपाली भलिबलले यसवर्ष हासिल गरेको एक मात्र अन्तर्राष्ट्रिय उपाधि भनेको सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाली भलिबलका लागि यो वर्षको एक मात्र खुसी थियो ।

२०१९ मा बंगलादेशमा पहिलो पटक भएको सेन्ट्रल जोन जित्दै अन्तर्राष्ट्रिय उपाधि जितेको महिला टोलीले यस वर्ष पनि त्यसलाई कायम राख्दै उपाधि जित्यो ।

नेपाली भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधिमा एक मात्र उपाधि नेपालले हात गर्‍यो । बंगलादेशको मिरपुरमा भएको प्रतियोगितामा नेपाली महिला टोलीले अब्बल प्रदर्शन गर्‍यो ।

फलस्वरुप महिला भलिबल टिमले महिला, पुरुष दुवै टोलीको प्रतिस्पर्धा रहेको यस प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जित्यो । राउन्ड रोविनमा आधिारित खेलमा नेपाल पाँच खेलमा अविजित रहँदै उपाधि जित्न सफल भएको हो । पुरुष टोली भने पाँच टोलीमा चौथो हुँदै नेपाल फर्कियो ।

नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलंकाविरुद्ध ३–२ ले जित हात पारेको हो । त्यसपछि माल्दिभ्स, उज्वेकिस्तान, बंगलादेश र किर्गीस्तानलाई सोझो सेटमा पराजित गरेको हो ।

पुरुषतर्फ नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजित हुँदा दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध ३-१ को पुनरागमन जित निकालेको थियो ।

त्यसपछि श्रीलंका पराजित भएको नेपालले माल्दिभ्सलाई हराएर उज्वेकिस्तानसँग नै तेस्रो स्थानको लागि भेट पक्का गर्‍यो । तर निर्णायक खेलमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन र उज्वेकिस्तानसँग पराजित हुँदै पदक जित्न असफल रह्यो ।

वर्षको सुरुवातमा ठूला प्रतियोगिता हुन नसकेपनि असोजपछि भने घरेलु प्रतियोगिता लगायत कार्यक्रमहरु सञ्चालनमा आए ।

नेपाल भलिबल संघ एनभीएको आयोजनामा असोजमा सम्पन्न भएको छैटौं एनभीए क्लब लिग च्याम्पियनसिप आयोजना भयो । जसमा पुरुषतर्फ १४ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

राखेपको कभर्डहलमा भएको च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ न्यूडायमण्डले उपाधि जित्यो ।

पुरुषतर्फ आर्मीले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । जसमा आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्यस्तै महिलातर्फ विजेता बनेको न्युडाइमन्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो । न्यू डायमन्डकी प्रतिभा माली उत्कृष्ट महिला खेलाडी घोषित भइन् । च्याम्पियन आर्मी र न्यू डायमण्डले समान ४ लाख पुरस्कार पाए ।

एनभीए क्लब च्याम्पियनसिपबाट छानिएका उत्कृष्ट टिमबीच  चैतमा एनभीए क्लब लिग आयोजना हुनुपर्नेमा हुन सकेन । नेपाल भलिबल संघले २०७९ वैशाखमा क्लब लिग बयोजना गर्नेगरी मिति सार्वजनिक गरेको छ ।

घरेलु भलिबलमा अर्को ठूलो प्रतियोगिताको रुपमा पुसमा पोखरामा दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना भयो । विभागीय टोली हावी बनेको प्रतियोगितामा महिला तर्फको उपाधि एपीएफले जित्यो भने पुरुषतर्फ आर्मीले उपाधि जित्यो ।

महिलातर्फ एपीएफले आर्मीलाई ३–० को सेटमा पराजित गर्दा पुरुषतर्फ भने आर्मीले हेल्प नेपाललाई ३–१ को सेटमा हरायो ।

यस्तै बाँके जिल्ला भलिबल संघ क्रिटिभ ह्याण्ड्सको आयोजनामा आठौं प्रधानमन्त्री कप नेपालगञ्जमा सम्पन्न भएको थियो । नेपालगञ्ज रंगशालाको कभर्ड हलमा सम्पन्न खेलमा भारतको राष्ट्रिय खेलाडीहरु सम्मिलित हरियाणा स्पोर्टस क्लब नेपाल पुलिस पुलिसलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो ।

फाइनल जितेको हरियाणाले ट्रफीसँगै ५ लाख रुपैयाँ हात पार्‍यो ।

यसैगरी पुरुष भलिबलतर्फ सुदुरपश्चिम प्रदेशको आयोजना भएको हालसम्मकै सर्वाधिक पुरस्कार रकम राखिएको प्रतियोगिता सम्पन्न भयो । यस प्रतियोगितामा त्रिभुवन आर्मी कलबले उपाधि जितेको थियो । जसमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।

महिलातर्फ फागुनमा दमक र चितवनमा भएको राष्ट्रियस्तरको महिला भलिबलको उपाधि न्यू डायमण्डले जित्यो । घरेलु महिला भलिबलमा पछिल्लो समय एक छत्र राज गरेको एपीएफ भने यसवर्ष उत्कृष्ट प्रदर्शन गर्न सकेन । टाइगर कप जित्नु बाहेक अन्य प्रतियोगितामा एपीएफ फिक्का रह्यो । खेलाडीको चोटका कारण एपीएफले नेपालगञ्जमा भएको प्रधानमन्त्री कपमा सहभागिता जनाएन ।

वर्षको अन्तिममा भएको मनोरञ्जन शर्मा अवार्ड २०७८ मा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र घनश्याम चौधरीले अवार्ड प्राप्त गरे । नेपाललाई सेन्ट्रल जोनको उपाधि जिताउदाका कप्तान अरुणाले महिलातर्फ र घनश्यामले पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जिते । अवार्डसँगै दुवैले ४०-४० हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, नेपाली भलिबलमा १० वर्षपछि बीच भलिबल (बालुवामा खेलिने) को आयोजना भयो । सञ्जय स्मृति प्रतिष्ठानले पाल्पाको रानीमहल प्रांगणमा आयोजना गरेको बीच भलिबलमा ९ टिमले प्रतिस्पर्धा गरे ।

चौधरी समूहको नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले नेपाल भलिबल संघको प्राविधिक सहयोगमा गर्ने भनिएको नेपाल सुपर लिग भलिबल भने बयोजना हुन सकेन ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?