+
+

अमृताको हत्या भएको दाबी गर्दै तिलोत्तमामा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १२:१२

२ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रदर्शन गरेका छन् । जानकीनगर भेटेनरी लाइनदेखि योगिकुटी हँदै इलाका प्रहरी कार्यालयसम्म भएको प्रदर्शनमा स्थानीय महिलाको बाक्लो उपस्थिति छ ।

प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ । पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिएको र बुधबार विष सेवन गराएको स्थानीयबासिन्दाको आरोप छ ।

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएको भन्दै अमृताले गत भदौमा वडा कार्यालयमा निवेदन दिएकी थिइन् । त्यसपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।

घर पुगेको २ घन्टा पनि नपुग्दै मृत्यु

मृतकका दाजु पुष्पक खत्रीका अनुसार माइतमै रहेकी अमृता ज्वाइँ प्रेम टण्डनको पटकपटकको फोनपछि बुधबार राति साढे ८ बजे घर गएकी थिइन् । घर गएपछि राति ९ बजेर ३२ मिनेटमा अमृताले दाजु पुष्पकलाई आफूलाई बचाउन र घरबाट निकाल्न भन्दै म्यासेज पठाएकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो ।

१० बजेर १५ मिनेटमा प्रेमले अमृता बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए । आफूहरु त्यहाँ पुग्दा अस्पतालले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको मृतकका दाजु पुष्पकले बताए ।

मंगलबार मात्रै पनि अमृतामाथि कुटपिट भएपछि छिमेकीले माइती पक्षलाई बोलाएका थिए ।

माइतीले मिलेर बस्न आग्रह गर्दै फर्केका थिए । बुधबार साँझ अमृतालाई घरपरिवारले भारत जान दबाब दिएको तर आफूलाई षड्यन्त्र गरेर मार्ने योजना बनाएको आशंका रहेको भन्दै उनी माइतीघर गएकी थिइन् । श्रीमान् प्रेमले घर नआए छोरालाई जे पनि गर्ने भनेपछि उनी राति साढे ८ बजेतिर घर फर्केको आमा सावित्राले बताइन् ।

अमृताले तिलोत्तमाकै नयाँमिलमा रहेको एक फर्निचर उद्योगमा काम गर्थिन् ।

माइती पक्षको जाहेरीपछि प्रहरीले मृतकका श्रीमान्, सासु र ससुरालाई पक्रेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?