+
+

गोरखाका सबै पालिकामा मतगणनास्थल तयार, तारजाली र सीसी क्यामेरा जडान

विकास मरहट्टा  विकास मरहट्टा 
२०७९ वैशाख २९ गते ६:२४
गण्डकी गाउँपालिकाको मतगणनास्थल ।

२९ वैशाख, गोरखा । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतगणनाका लागि गोरखाका सबै पालिकामा मतगणना स्थल तयार गरिएको छ । एघार वटै पालिकामा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था गरेर मतगणना स्थल तयार पारिएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी गराएका छन् ।

गोरखा नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको हलमा हुने छ । सो ठाउँमा तारजाली लगाएर तीन वटा सीसी क्यामेरा जडान गरिएको नगरपालिकाका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए । जेनेरेटर र माइकको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

आरुघाट गाउँपालिकाको मतगणना वडा नम्वर ९ स्थित भिमोदय माध्यमिक विद्यालयको भवनमा हुने छ । मतगणना स्थलमा तारजाली लगाइएको र पाँच वटा सीसी क्यामेरा जडान गरिएको निर्वाचन अधिृकत श्रीधर गौतमले जानकारी दिए । एकै पटक तीन ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको उनले बताए ।

भीमसेन थापा गाउँपालिकाको मतगणनाका लागि खान्चोकस्थित गाउँपालिकाको प्रशासकीय भवनमा स्थल निर्माण गरिएको छ । तारजाली लगाएर चार वटा सीसी क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत खिमानन्द गौतमले बताए । उनका अनुसार एकै पटक चार ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको छ ।

अजिरकोट गाउँपालिकाको मतगणना गाउँपालिकाको प्रशासकीय भवनको हलमा हुने भएको छ । उक्त हलमा चार वटा सीसी क्यामेरा सहित तारजाली लगाइएको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए ।

शहिद लखन गाउँपालिकाको घैरुङस्थित गाउँपालिकाको सभाहलमा मतगणना स्थल तयार गरिएको छ । त्यहाँ चार वटा सीसी क्यामेरा जडान गरिएको छ । तारजाली लगाएर एकै पटक तीन ठाउँमा गणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले बताए ।

बारपाक सुलिकोट गाउँपालिकाको मतगणनाका लागि गाउँपालिकाको प्रशासकीय भवनको सभाहलमा तारजाली लगाएर स्थल निर्माण गरिएको छ । एकै पटकमा ६ ठाउँमा गणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए । उनका अनुसार गणना स्थलमा ६ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

गण्डकी गाउँपालिकाको मतगणना वडा नम्वर ६ भूम्लिचोकस्थित भवानी माविमा हुने छ । विद्यालयको कोठामा तारजाली लगाएर मतगणना स्थल तयार गरिएको निर्वाचन अधिकृत बासुदेव रेग्मीले बताए । उनका अनुसार सीसी क्यामेरा भने बिहीवार जडान गरिने छ ।

सिरानचोक गाउँपालिकाको मतगणनाका लागि वडा नम्वर ५ स्थित चित्रेपोखरी माध्यमिक विद्यालयको भवनमा निर्माण गरिएको छ । तारजाली लगाएर एकै पटक तीन ठाउँमा गणना गर्ने मिल्ने व्यवस्था गरिएको र सीसी क्यामेरा जडानको कार्य पनि भइरहेको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए ।

धार्चेको मतगणनाका लागि वडा नम्वर ५ माछीखोलास्थित जनजागृती माविमा स्थल निर्माण गरिएको छ । तारजाली लगाएर ६ वटा सीसी क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत निराज कुमार खत्रीले बताए ।

चुमनुव्री गाउँपालिकाको मतगणनाका लागि वडा नम्वर ३ फिलिमस्थित बुद्ध माविको भवनमा स्थल निर्माण गरिएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए । उनका अनुसार मतगणना स्थलमा आठ वटा सीसी क्यामेरा जडान गरिएको छ । तारजाली पनि लगाइएको उनले जानकारी दिए ।

पालुङटार नगरपालिकाले पनि मतगणना स्थल तयार पारिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?