+
+

‘बलात्कार मुद्दामा कानुनी दायरा फराकिलो चाहिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १४:३९

८ असार, काठमाडौं। बलात्कारको घटनामा कडाभन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन् ।

समिति बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि संशोधन हाल्ने सांसदहरुले बलात्कारको घटनामा कानूनी दायरालाई कडाइ गर्नुपर्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रकि सांसद पूर्णकुमारी सुवेदीले दश वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताइन् । उनले त्यसो गर्न नसके सजाय र जरिवानालाई निकै कडा बनाउनुपर्ने बताइन् ।

उनले कानून बनाएपनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘कानून बनाउँछौ, कार्यान्वयन फितलो हुने गरेको छ । दश वर्षभन्दा तलको बालिकाको हकमा बालिकाहरुलाई जर्बजस्त बलात्कार गर्नेहरुलाई त मृत्युदण्ड दिनुपर्छ, मेरो व्यक्तिगत विचार । यो विषयमा कडा भन्दा कडा कानून हुनुपर्छ । कैद र जरिवाना दुवै राख्नुपर्छ । कडाभन्दा कडा सजाय र जरिवाना गरेर नै जानुपर्छ ।’

नेकपा माओवादी केन्द्र कि सांसद रेखा शर्माले विवाहपछि दाइजोको नाममा गरिने हिंसालाई पनि यौनजन्य हिंसाको रुपमा लिनुपर्ने बताइन् । उनले बलात्कारको घटनामा मिलापत्र गराइनु आपत्तिजनक कुरा भएको भन्दै मिलापत्र गराउनेलाई पनि सजायको दायरा बढाउनुपर्ने बताइन् ।

उनले बलात्कारपीडित नाबालिकाको हकमा १८ वर्ष पुगेपछि कम्तिमा ५ वर्षसम्म उजुरी दिन सकिने व्यवस्था गर्नुपर्ने बताइन् । शर्माले भनिन्, ‘नाबालिकाको हकमा १८ वर्ष पुगेपछि कम्तिमा ५ वर्षसम्म पनि उजुरी दिन पाउने गरौँ । म्यादै नलाग्ने भन्दाखेरी कानूनको दुरुपयोग हुन नपाओस् भन्ने हाम्रो आशय हो ।’

नेकपा माओवादी केन्द्रकि सांसद अमृता थापाले अपराधीलाई काराबासभित्र पनि श्रम शिविरमा राख्नुपर्ने धारणा राखिन् । बलात्कारको घटना न्युनिकरण गर्न संस्थागत सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् । अपराध गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहदेखि नै शिक्षा दिनुपर्ने उनको भनाई छ । बलात्कार घटनाको मतियारलाई गरिने कारबाहीको दायरा पनि बढाउनुपर्ने उनले बताइन् ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले बलात्कारको घटनामा उजुरी लिन हदम्याद राख्नु नहुने बताइन् । हदम्याद राख्दा अपराधीहरु एउटा घटनाबाट उम्किनसाथ अर्को घटनामा संलग्न हुने उनले बताइन् ।

उनले कानूनी व्यवस्था कडा हुँदा पनि बलात्कारको घटना न्यूनिकरण नभएको र अपराधी निरुत्साहिन हुन नसकेको भन्दै हदम्याद हटाएमा घटना कम हुँदै जाने उल्लेख गरिन् ।

उनले भनिन्, ‘घटना घट्नै नदिने गरी कानूनको दण्डबाट डराउन दिनैपर्छ अपराधीलाई । कडा कानून बनाउँदा पनि बलात्कारजस्तो घटना न्युनीकरण भएनन् । अपराधीलाई निरुत्साहित पनि गर्न सकिएन । अब हामीले हदम्यादलाई हटायौँ भने घटना कम हुँदै जान्छ । अपराधी निरुत्साहित हुँदै जान्छ ।’

नेपाली कांग्रेसकि सांसद डिला संग्रौलाले बलात्कारको घटनामा उजुरी दिन सकिने विद्यमान कानूनी व्यवस्थाको समयसिमा अर्पयाप्त रहेको बताइन् । बलात्कारको घटना मानवताविरोधी, हिंस्रक र जघन्य अपराध भएकाले यस्तो घटनालाई सिमाको घेराभित्र राख्नु नहुने उनको भनाई छ ।

उनले यौन हिंसाको सुनुवाई गर्ने द्रुत न्याय प्रणाली हुनुपर्ने बताइन् । उनले भनिन्, ‘जर्बजस्ती करणी सम्बन्धी अपराध मानवताविरोधी अपराध, हिंस्रक र जघन्य अपराध हो । यस्तो घटनालाई सिमाको घेराभित्र राखेर उजुरी गर्न जाउँ भन्दा पीडित जान सक्दैन र पीडकले सयौँ घटना घटाउने गरेको छ । यौन हिंसाको सुनुवाईका लागि द्रुत न्याय प्रणाली हुनुपर्छ ।’

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले बलात्कारको घटनामा पीडित बालिकाहरुले लामो समयसम्म घटना सार्वजनिक गर्न नसक्ने भन्दै उनीहरुका लागि उजुरी गर्न लामो समय उपलब्ध हुनुपर्ने बताइन् । उनले बलात्कारको झुठो उजुरी दिने र पछि फिर्ता लिनेलाई पनि सजायको व्यवस्था गर्नुपर्ने बताइन् ।

नेकपा एमालेका सांसद झपट रावलले बलात्कारको विषयलाई वर्गीकरण गरेर हेर्नुपर्ने बताए । उनले विभिन्न उमेर समूह र प्रकृति अनुसार बलात्कारको घटनालाई वर्गिकरण गर्दै सोही अनुरुपको कानूनी व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘बलात्कार साबित भयो भने बलात्कारीको लिङ्ग छेदन गर्दा पनि हुन्छ । कतिपय के छ भन्दा तीन, चार वर्ष सँगै बसेका छन्, कुरा नमिल्दा वलात्कार मुद्धा लगाएका छन् । यसलाई पनि हामीले बर्गीकरण गर्नुपर्छ । नाबालकको हकमा हुने बलात्कारको सम्बन्धमा एउटा गर्नुपर्छ । नाबालक भित्र पनि समान उमेरका सम्बन्धमा एउटा गर्नुपर्छ । र उमेर पुगेकाहरुका हकमा, जेष्ठ नागरिकको हकमा एउटा गर्नुपर्छ ।’

उनले यौन हिंसाको घटनामा बालिकाहरु मात्रै नभइ बालकहरु पनि पीडित हुने भन्दै पीडित बालकहरुलाई समेत सम्बोधन हुने गरी कानून बन्नुपर्ने बताए ।

उनले भने, ‘के नेपाली समाज भित्र महिला मात्रै छन् ? हो, संख्यात्मक हिसाबले के देखाउँछ भने महिलाहरु संख्यात्मक हिसाबले बढी पीडित हुनुहुन्छ । के नेपालमा महिलामात्रै वलात्कृत भएका छन् ? यसले करणी सम्बन्धि कसुर परिच्छेद १८ को सम्पूर्ण । महिलाको सट्टा व्यक्ति, बालिकाको ठाउँमा बालबालिकाहरु राख्नुपर्‍यो । अहिले थुप्रै नाबालकहरु यौन हिंसामा परेका छन् । यौन हिंसाको शिकार बालक हुन्छन् कि हुँदैनन् ? बालिका मात्रै हुन्छन् ? त्यसैले यसले छलफलको माग गर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?