+
+

८ प्रतिशतको आर्थिक वृद्धिले व्यापार असन्तुलन झन् बढ्छ : खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते २०:१९

१८ असार, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७९–८० मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने व्यापार असन्तुलन झन् बढ्ने बताएका छन् ।

मदन भण्डारी वौद्धिक मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा उनले आर्थिक वृद्धिमा मात्र ध्यान दिने हो भने सरकारले भनेझैं आत्मनिर्भर अर्थतन्त्रको बाटोमा जान नसक्ने बताए ।

‘यदि ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ । यो कुरो सरकारले हेक्का राखे हुन्छ’ उनले भने ।

अहिले नै ३ खर्बको सोधनान्तर घाटाको अवस्था रहेको भन्दै पूर्वअर्थमन्त्री खतिवडाले बाह्य क्षेत्र सन्तुलनमा राख्ने हो भने आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित राख्नुपर्ने धारणा राखे । ‘पाँच वर्षमा व्यापार सन्तुलन गर्नुभयो भने उहाँहरुलाई (सरकार) सम्मान गर्नुपर्छ । व्यापार सुन्तुलन हुन्छ, तर आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित रहनुपर्छ’ उनले भने ।

खतिवडाले आर्थिक वृद्धिलाई ठिक्कको तहमा अनुमान गरेर मूल्यवृद्धि पनि कम हुने वातावरण सिर्जना गरेर वित्तीय स्थायित्व कायम गर्न ध्यान दिनुपर्ने बताए ।

‘अहिले च्वाइस छ कि त आर्थिक स्थायित्व कायम गर्ने कि उच्च आर्थिक वृद्धि गरिहाल्ने त्यसपछि समाप्त पारिदिने ?’ खतिवडाले भने, ‘अहिले सरकारले संयम अपनाउने बेला छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?