News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको त्रिशूली बाढीले त्रिशूली बेसिन र रसुवागढी नाकामा सडक, बस्ती, विद्यालय, खेत र कन्टेनरहरू ध्वस्त पारेको छ।
- लेखकले बाढीको कारण जलवायु परिवर्तन र पृथ्वीको तापमानमा अप्राकृतिक वृद्धि भएको उल्लेख गर्दै नेपाललाई दीर्घकालीन न्यूनीकरण योजना बनाउनुपर्ने बताएका छन्।
- लेखमा चिनियाँ उद्धार र नेपालतर्फको उद्धार तथा समन्वयमा ठूलो अन्तर देखिएको र नेपालमा राहत, पुनर्स्थापना तथा जनपरिचालन सुस्त रहेको भनिएको छ।
कतिपय प्राकृतिक घटना स्वाभाविक नियम अनुसार घटित हुन्छन् । ती आफैं विपत्ति होइनन् तर हाम्रा लागि ती आफैंले पर्खेर बसेका जस्ता विपत्ति बनेर आउँछन् । नियमित आकस्मिकता जस्तो !
अर्थात् घटना आफ्नो प्राकृतिक स्वरुपमा गर्भमै हुर्कंदै थियो र जब त्यो घटित भयो हाम्रो लागि विपत्ति बनेर आयो । खोलाकै छेउमा बसेपछि या भीरमुनि घर बनाएपछि कहिले विपत्तिले घेर्न आउँछ भन्न सकिन्न । यसैले यो विपत्ति अलिकति प्राकृतिक हो अलि धेरै मानव निर्मित ।
तर मान्छेले यस्तो ठाउँमा बास जानाजान बनाउँछ, सबैभन्दा ठूलो कुरा त सर्भाइवल हो । यस्तो जोखिमपूर्ण ठाउँमा बस्नु कतिका लागि रहर पनि र धेरैका लागि बाध्यता हो । र बाढी आउने कुरा अनुमान गर्न गाह्रो छ जस्तो कि १७९२ मा नेपाल–भोट युद्धका बेला चिनियाँ सेनापति र नेपाली पक्षका बीच बेत्रावतीको सन्धि हुँदाको ढुङ्गो साक्षी थियो कि ३०० वर्षयता यस्तो बाढी आएको थिएन त ।
कुनै कुनै घटनालाई मान्छेले गरेका हमलाहरूको प्रकृतिले प्रतिकार गरेको भन्न पनि मिल्छ । अहिलेसम्म आएका सूचनालाई हेर्दा यो हिउँका ढिक्का सहित चट्टान र पहाडको पाटै खसेर आएको बाढीको कारण चैं पृथ्वीको तापमानमा अप्राकृतिक वृद्धि हो ।
हिमालयका कच्चा भागहरू भत्किने, बग्ने र तटीय क्षेत्रमा थुपार्ने कुरा त नयाँ होइन । जस्तो कि ६०० देखि ७०० वर्ष पहिले अन्नपूर्णको पूर्वी दक्षिणी भिरालो पाटोको ठूलो भागमा पहिरो गएर आएको गेग्रानले पोखरा उपत्यका बनेको हो । तर यसपालि चैं यसको कारण जलवायु परिवर्तनका कारण बढेको तापमान हो । जसका लागि हामी नेपाली, रसुवा नुवाकोटका सर्वसाधारण बासिन्दाहरू कोही पनि जिम्मेवार थिएनौं ।
यहाँको प्रकृति उता अमेरिका र युरोेपतिर पूर्वी एशिया र दक्षिण एशियाका मैदानका औद्योगिक विकास र जलवायुमा तापमान वृद्धि गर्ने मानवीय गतिविधिहरू अथवा अनेक ठाउँका युद्धभूमितिरबाट प्रभावित बनेका हुँदाहुन् । अरूले जीवनको सुखभोग गरे, अरूले नै भौतिक सुविधायुक्त जीवन व्यतीत गरे, प्रकृतिको अन्धाधुुन्ध दोहन गरे अनि त्यसको मार खेप्न भने यताकाले परिरहेको छ ।
दि गार्जियनका लागि विदुर पुगेर रिपोर्टिङ गरेकी हन्ना एलिसले यो ध्वंसलाई जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष र नाङ्गो रूप भनेकी छन् ।
यस वर्ष १० भदौको त्रिशूली बाढी नेपालले केही वर्षदेखि लगातार व्यहोर्दै आएको विपत्तिको पछिल्लो कडी मात्र हो । ल्हेन्दे खोलामा दुई वर्ष पहिले आएको बाढीले नै करोडौंको भौतिक क्षति सहित केही मानिसको ज्यान लिएर गएको हो । केही वर्ष पहिले मेलम्ची, कागवेनी, लेते र हुम्लामा पनि यस्तो विपत्ति भिन्न भिन्न रूपमा आएकै हुन् । यो सिलसिला अरू छिटोछिटो दोहोरिनेछ । नेपालले दीर्घकालीन रूपमा यसका प्रभावहरू न्यूनीकरण गर्न योजनाहरू बनाउनु र आफ्ना विकास सम्बन्धी अवधारणामा समयानुकूल परिमार्जन गर्नु आवश्यक छ ।
म जलवायु परिवर्तन र त्यसका प्रभाव या बाढी पहिरो बारे लेख्ने ज्ञान भएको मान्छे होइन । यो आलेख चैं बाढीका कारण र त्यसको उद्धारसँग सम्बन्धित होइन बरु यसका आर्थिक प्रभाव र शासनतन्त्रले कसरी यसमा फरक पार्छ भन्ने विषयमा केही खोतलखातल गर्नु हो ।
बाढी र शासनतन्त्र
पछिल्ला वर्षहरूमा विश्वमा बाढी, डढेलो, भूकम्प र आँधीका घटनाले विश्वका गरिब र धनी सबैखाले देशलाई गम्भीर प्रभाव पारिरहेका छन् । यस वर्ष युरोपले इतिहासकै उच्चमध्येको एउटा गर्मी व्यहोरेको छ । केही वर्ष पहिले अष्ट्रेलियामा लागेको डढेलो होस् या हालैका वर्षमा युरोप र अमेरिकामा लाग्ने डढेलो । पेरिस सम्झौताबाट हात झिकेका जलवायु परिवर्तन सम्बन्धी अवधारणा नै अस्वीकार गर्ने नाफाखोर विलियनायर जो राष्ट्रपति बनेका छन् अमेरिकामा ।
जकार्ता जस्तो झण्डै २ करोड मानिस रहेको शहर समुद्रले पुरिएला कि भनेर राजधानी सार्नुपरेको छ इन्डोनेशियाले । हाम्रो छरछिमेकमा हेर्दा पनि पाकिस्तान, अफगानिस्तान, भारत, भूटान र चीन जस्ता देशले यस्तो विपत्तिका धक्का छिनछिनमा व्यहोर्ने गरेका अनुभव छन् ।
यसपालिको बाढीले नेपालसँगै चीनलाई पनि एकैपटक प्रभाव पारेकोले यी दुई देशको उद्धार राहतमा अपनाइएका विधि, जिम्मेवार राज्यको भूमिका कस्तो हुन्छ भनेर तुलना गर्न अवसर मिल्यो । यसले विपत्तिका समयमा गरीब देशको बासिन्दा हुनु र धनी देशमा बस्नुका केही समानता र केही असमानता देख्न पाइयो ।
समानता के भने जसरी अकल्पनीय गतिमा बाढी आयो त्यसबाट संयोगले बचेका बाहेक आफ्नो प्रभावमा परेका सबैखाले मानिसहरूलाई बढारिदियो । सीमा सुरक्षामा बसेका हतियारधारी सशस्त्र फौजका मान्छे होउन् कि अग्ला पहाडको पेट चिर्दै भित्रभित्र सुरुङ खनिरहेका कामदार र इन्जिनियर सबैलाई एकै सास बनायो ।
कामदारदेखि लोड–अनलोड गर्ने भरियासम्म, सवारी चालकदेखि बैंकका शाखा प्रबन्धकसम्म, भन्सारका हाकिमदेखि ठूला होटलका मालिकसम्म कसैलाई छाडेन । यसरी हेर्दा यसले सबैमाथि, सीमावारि या पारि पनि समानताको व्यवहार गरेको देखियो ।
तर उद्धार र पुनर्निर्माणको काम, भौगर्भिक अवस्थाको अध्ययन र बाढीका कारणहरू पत्ता लगाउने काममा चैं चिनियाँहरू निकै गतिशील र द्रुत देखिए । नेपालपट्टि चैं त्यो काम निकै सुस्त गतिमा भयो । अझै उद्धारकै काम बाँकी छ, राहत र पुनर्स्थापनाको त अहिले नै धेरै आशा नगरेको राम्रो ।
उद्धारको काममा उता हेर्दा देखिन्छन् उपकरण र आवश्यक मशिनरी, जनशक्तिको बडो व्यवस्थित दृश्य । स्थानान्तरण गरिएकाहरूले खाने–बस्ने मामिलामा पाएको सुविधा र व्यवस्थापन रहरलाग्दो छ । जहाँ पहिरो गएको हो, हिउँताल फुटेको हो त्यहाँ अत्याधुनिक उपकरण सहित निरीक्षण र परीक्षणका लागि पुगिसकेका जिओलोजिष्ट र वैज्ञानिकहरू । स्याटेलाइटहरूको प्रयोग ।
भूवनोट उही हो, पहिलो खेपमा रसुवागढी नाकाका वारिपारि माथिबाट आएको सबै ठूला चट्टानका टुक्रा र लेदोले दुवैतिरका संरचना ध्वस्त भए । उताको सीसीटीभी फुटेजमा जीवन रक्षाका लागि दौडिंदैगर्दा भयानक बाढीले छोपिएका मानिस र भौतिक संरचनाको मनै रेट्ने दृश्यहरू देखिन्छन् । यता पनि अवश्य दृश्य उस्तै हुँदो हो फुटेज भेटिएनन् । उता पनि लास भेटिएका छैनन् । खोजी जारी छ । यता पनि उस्तै छ । प्रयास जारी छ ।
यता हेर्दा नेपाल आर्मी, सशस्त्र र जनपद प्रहरी अत्यन्त न्यून सुविधा, असुरक्षित अवस्थामा, प्राय: भोकै–अनिंदै काम गरिरहेका । उताका उद्धारकर्मीले लगाउने जुत्ता, कपडा, हेल्मेट र सुरक्षाका उपाय वेग्लै, हाम्रा प्रहरी र सेनाका जवान या अफिसरहरू उही नियमित फौजी आउटफिटमा असुरक्षित रूपमा काम गरिरहेका । हाम्राहरूले यो दु:खद् समयमा आफूलाई पूरै समर्पित गरेर, पीडा भुलेर गरिरहेको कामको जति प्रशंसा गरे पनि कमै हुन्छ ।
यता उद्धार र राहतको पर्खाइमा रहेकाहरूको बिचल्ली छ । उता ४२६६ किमि यात्रा तय गरेर प्रधानमन्त्री लि छ्याङ भोलिपल्टै केरुङ पुगे । हाम्रा प्रम त्रिशूली पुगे ६० किमिजति यात्रा गरेर तर पुगेर के भने या के गरे भन्ने थाहा नपाइने । चीनका राष्ट्रपतिले कम्युनिष्ट पार्टीको उच्चस्तरीय बैठक बोलाए र आवश्यक निर्णयहरू गरे ।
हाम्रोमा सम्पूर्ण काममा क्याबिनेटले अपारदर्शी रूपमा पहल लिइरहेको छ । उता राजनीतिक परिचालन भयो, समन्वय भयो, तोकिएको काम र जिम्मेवारीतिर लागे । यता गृहमन्त्री आफैं सुरुङ विज्ञ बन्दै, मन्त्रीहरू आफैं चामलका बोरा सार्न र आफ्नो मतदाता खुशी पार्न मात्र तल्लीन । आवश्यक समन्वय र जनपरिचालनका लागि सरकारको प्रयत्न शून्य बराबर ।
सत्तारुढ दलका सभापतिले बोलाएको बैठकमा प्रधानमन्त्री गएनन्, सभापतिको पहलले राजनीतिक प्रतिबद्धता त आयो तर व्यवहारमा जनपरिचालनका लागि यो काम लागेको देखिएन । उता र यताको तुलना गर्दा यस्तो लाग्छ गरिब देशको बासिन्दा हुनु कुनै पनि अर्थमा गर्वको विषय होइन । देशको माया हुनु एउटा कुरा हो तर विपत्तिका समयमा भावनाले भन्दा भोगिएका वास्तविकतामा उभिएर मान्छेले धारणा बनाउने त हो ।
जहाँ शासनतन्त्र जनउत्तरदायी छ त्यसले यस्तो विपत्तिमा देखाउने प्रतिक्रिया र हाम्रो जस्तो देशको शासनयन्त्रले देखाउने प्रतिक्रिया फरक हुनेरहेछ । प्रधानमन्त्री र क्याबिनेटको सक्रियतालाई अवमूल्यन गर्न नचाहँदा नचाहँदै पनि फिल्डमा देखिएको यथार्थले उक्त सक्रियताको फेस भ्यालु घटाइरहेको चैं साँचो हो ।
बाढी र अर्थतन्त्र

एशिया बिजनेस आउटलुकले आफ्नो फेसबुक पेजमा एउटा लेखको मजवुन शेयर गरेको छ । जसमा भनिएको छ— “नेपालको बाढी: मानवीय तथा आर्थिक संकटतिर सिंगै देश । पूर्वाधारमा मात्रै दुई खर्बको नोक्सान भएको अनुमान गरिएको छ । प्रकोपले सीमा वारपार व्यापारलाई नराम्ररी प्रभावित गरेको छ । जलविद्युत्, सवारी साधन, यातायात, पर्यटन, बीमा र वित्तीय बजारमा ठूलो धक्का लागेको छ । यसका आर्थिक प्रभावहरू अहिले अनुमान गरिएका भन्दा निकै धेरै हुनसक्छन् ।”
यो टिप्पणीले निकै कम क्षेत्रलाई समेटेर जुन चित्र देखाएको छ त्यसैबाट पनि हाम्रो अर्थतन्त्रमा पार्न सक्ने सम्भावित चित्र आकलन गर्न सकिन्छ ।
यो करिडोर नेपालका लागि सहस्राब्दीयौंदेखिको तिब्बत र चीनसँग जोडिने सेतु हो । ऐतिहासिककालदेखि उताबाट यता भएका आक्रमण र युद्धहरू, यताबाट उता भएका आक्रमण, बौद्ध धर्म र संस्कृति र कलाको आदानप्रदान, व्यापारको महत्वपूर्ण रुट पनि हो जसले मध्ययुगमा नेपालको समृद्धिको ढोका खोलेको थियो । हालैका वर्षमा चीनले आफ्नो तिब्बत विकास रणनीति र दक्षिण एशियासँगको, खासगरी नेपाल हुँदै भारततर्फको आफ्नो व्यापारिक सम्बन्धको ढोकाका रूपमा यसलाई विकास गर्न चाहेको थियो । तातोपानी नाकाबाट हुने व्यापारमा पहिरोकै कारण निरन्तर अवरोध भएपछि काठमाडांैबाट नजिकको नाकाका रूपमा यसलाई विस्तार गरिएको थियो ।
त्यसपछि त हो तातोपानी सिन्धुपाल्चोकका सीमा वारपार व्यापारीहरू, सामान ओसार्ने मालवाहक सवारीका चालकहरू, भन्सारमा सामान ओसारपसार र लोड–अनलोड गर्नेहरू, व्यापारको विस्तारसँगै आवश्यक पर्ने सरकारी अड्डाहरू, प्रहरी र सुरक्षा निकाय अनि वित्तीय संस्थाहरू त्यता ओइरिएको । तिनले आउजाउ गर्ने सवारी साधन, तिनैलाई लक्षित गरेर खुलेका साना खाजा घरदेखि ठूला होटलहरू, उताका सामान वारि ल्याएर बेच्ने साना पसलेहरू सबैको सक्रियताले टिमुरेदेखि स्याफ्रुबेंसीसम्मको साँघुरो खोंच गुल्जार बन्दैगयो र एउटा महत्वपूर्ण आर्थिक अवसरको भूगोल पनि बन्न पुग्यो ।
नेपालको सबैभन्दा ठूलो जलविद्युत् करिडोरमध्येको एउटा हो त्रिशूली बेसिन । चिलिमे, त्रिशूली र लाङटाङसम्मका आधा दर्जन भन्दा बढी विद्युत् आयोजना, तिनमा काम गर्न देशभरबाट आउने कामदार र प्राविधिकहरूले यो क्षेत्रको चहलपहल ह्वात्तै बढाइदिए । जहाँ अवसर त्यहाँ मान्छेको ओइरो । त्रिशूली बट्टारदेखि जति रसुवातिर लाग्यो उति बजारको विस्तार । बस्तीको विस्तार । त्यसमाथि भूकम्पले विस्थापित भएकाहरूले बसालेको नदी किनारको बस्ती ।
यी सबै कुरा आधाघण्टा भन्दा कम समयको बाढीले ध्वस्त पारे । बस्तीहरू पुरिए, बालबालिका सहित पढ्ने विद्यालयहरू छोपिए । कामदार, पर्यटक, सरकारी कर्मचारी र सुरक्षा निकायका व्यक्तिहरू, घरै बसिरहेका वृद्धवृद्धा र असक्तहरू, सक्षम काम गर्ने तन्नेरी र अधबैंसेहरू को परेनन् ? बाटोमा बसमा गुड्दै गरेका तीर्थयात्रीहरू, खेतमा काम गरिरहेका किसान, आफ्नै सुरले पसलमा बसिरहेका या खाना खाइरहेका अथवा पिंढीमा आफ्ना बुढ्यौलीका अन्तिम वर्ष धकेलिरहेका । अथवा पालिकामा बसेर जनताको दैनिक काममा सेवा दिइरहेका, गोठमा बसिरहेका, आँगनमा खेलिरहेका या कोक्रोमा निदाइरहेका जो पनि परि त गए ।
त्रिशूलीको वारिपारिका हजारौं रोपनी खेत धानै सहित निमेष भरमा बगर बन्यो । न अब त्यता जाने सडक रह्यो न अब छिटै आउने छन् रातदिन सामान बोकिरहेका सवारी साधनहरू । न आउने छन् पर्यटक न हुनेछ व्यापार । न मिल्नेछ बगरलाई तत्काल खेतीयोग्य बनाउन न चलाउन सकिनेछ साना खाजा घरहरू ।
रसुवागढी नेपालतर्फ चिनियाँ सामान आउने मुख्य नाका हो । २५० भन्दा बढी सामान बोकेका कन्टेनर र त्यतिकै संख्यामा खाली कन्टेनर बगाएको छ । ३०० जति बीवाईडी र अरू विद्युतीय सवारी पुरिएका छन् । दशैंका लागि मगाइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स र फलफूलहरू या त बाढीमा परे या त पारिपट्टि छन् जुन अब रसुवाको बाटो खुल्ला र ल्याउँला भन्नु केही महिना या वर्षका लागि असम्भव छ । पारि रहेका सामान कोरोला या तातोपानीतिरबाट ल्याउनु परे पनि लागत बढी परिहाल्छ । यसले व्यापार त चौपट हुन्छ यता उपभोक्ता पनि महँगीको मारमा पर्छन् ।
यो बाटो पर्यटकीय रूपमा कति महत्वको छ भन्ने कुरा त त्यहाँ हराइरहेका भारतीय, अमेरिकी तथा बेलायती लगायत दर्जनौं देशका नागरिकहरूको संख्याले नै बताउँछ । र नेपालीको मुख्य पर्यटकीय गन्तव्य बन्दै गएको मानसरोवर यात्राको मुख्य मार्ग पनि यही त थियो । नेपालीको रोजगारीको एउटा प्रमुख क्षेत्र अर्थात् आर्थिक करिडोर हो यो नदी किनार जहाँको बाटो हुँदै १४०० वर्ष जति पहिले नेपाली कुमारी भृकुटीलाई घोडा चढाएर लगेको थियो लडाकु भोटे राजा स्रङ चङ ग्याम्पोले ।
बाटै नरहेपछि अर्थतन्त्रको ढाड सेकिनेछ । यस पटकको बाढीले देशको कुल गार्हस्थ्य उत्पादनमा १ देखि १.५ प्रतिशतसम्म नोक्सान पुर्याउने अनुमान गरिएको छ । सरकारले पुनर्निर्माणमा कति लाग्नेछ भनेर प्रक्षेपण गर्न सकेको छैन तर निजी अर्थतन्त्र र पूर्वाधारहरूको नोक्सानीको हिसाब गर्ने हो भने कमसेकम पाँचदेखि सात खर्ब पुनर्निर्माणमा लाग्नेछ ।
अहिलेसम्म ९० हजार जनसंख्या यसबाट प्रभावित भएको भन्ने अनुमान छ । परिवारको कमाउने व्यक्तिको मृत्यु भएको हुन सक्छ । बाँचेर पनि घाइते भएकाले कमाउन सक्ने छैन । भइरहेको सञ्चित खाद्यान्न पुरिएको छ, कपडा र भाँडाकुँडा, बस्ने बास र गाँसको व्यवस्थापन गर्न शून्यबाट शुरु गर्नुपर्ने परिवार छन् । त्यहाँको कारोबारमा आश्रित देशका विभिन्न भागका सयौं परिवार पनि प्रभावित हुनेछन् । सिधा भन्नुपर्दा दशौं हजार परिवार गरिबीमा धकेलिने छन् ।
अवश्य पनि यसको प्रभाव सबै परिवारमा समान ढंगले पर्ने होइन । त्यहाँ धनी व्यक्तिको घर परेको छ र उसको परिवार बचेको छ भने उसले अन्यत्र पनि घरजग्गा या बैंक व्यालेन्स राखेको या बीमा गरेको हुन सक्छ । उसका सम्बन्ध र सम्पर्कमा पनि पैसा भएका व्यक्ति र परिवार या आफन्तहरू हुन्छन् । उसले छिटै आफ्नो गोडामा उभिने अवसर सिर्जना गर्नेछ ।
मध्यम र निम्न आय भएकाहरूको सामाजिक पूँजी पनि अलिअलि हुन्छ नै । कसैको सन्तान वैदेशिक रोजगारीमा छ भने उसले भरथेग गर्छ । उसलाई अरू मानिसहरूले अलिअलि ऋण पनि पत्याउँछन् । विस्तारै खोच्याउँदै उभिने प्रयास गर्न सक्छ ।
जो कामदार वर्गका छन्, जसको एउटा सानो पसल या खाजाघर थियो, जो ज्यालादारीका भरमा जीवन बिताउँदै थियो उसको त्यो अवसर गुमेपछि फेरि उभिन मुश्किल हुन्छ । पातको साँघु लगाएर जीवन निर्वाह गरिरहेकाहरू अब ह्वात्तै गरिबीमा धकेलिनेछन् ।
कैयन् किशोरकिशोरीले पढ्ने अवसर गुमाउने छन् । उनीहरू हुर्केपछि पनि अवसरबाट वञ्चित हुनेछन् । बालबालिकाको भविष्य असुरक्षित हुनेछ । वृद्धवृद्धाहरू थप दु:खमा धकेलिने र बेसहारा हुनेछन् । टिमुरेदेखि बेत्रावती या बेत्रावतीदेखि वैरेनीसम्म या त्योभन्दा तल बगरमा बदलिएको क्षेत्रका बासिन्दाले पुनर्स्थापनाका लागि खासै राम्रो विकल्प पाउने छैनन् । एउटा अन्त्यहीन जस्तो दु:खको चक्रले धेरैलाई लखेटिरहनेछ । आफन्त गुमाउनुको पीडा र भत्केका परिवारको कुरा झन् कहालीलाग्दो हुनेछ ।
अहिले विश्वभरबाट सहयोगको ओइरो आएको छ । राहत कोषमा पनि ६ अर्ब जति जम्मा भइसकेको छ । तर नेपाल यही हो । राज्यको संरचना र नेतृत्वको मानसिकता यही हो । प्राप्त सहयोग कहाँ जान्छ या यस्ता पीडितहरूलाई के गरिन्छ भन्ने कुरा देशभर गत २० वर्षयता आएका बाढी, पहिरो, भूकम्पपछिको पुनर्स्थापनाको चक्रलाई हेरे हुन्छ । पुनरुत्थानको चक्र होइन, सीमान्तीकरणको चक्रले काम गरेको झलझली देखिएकै छ ।
नपत्याए उहिले जाजरकोटमा गएको भूकम्पका पीडित हेर्नुस् अथवा बीसौं वर्ष पहिले भेरीको बाढीले लखेटेका बस्तीका पीडितहरूलाई सोध्नुस् । त्यहाँ उनीहरू अञ्जानबावुले गाएको गीतले जस्तै भनिरहेका होलान् :
हिजो नि उस्तै आज नि उस्तै
भोलि के हुने हो …
न दिन राम्रो न साँझ हाम्रो
कतिञ्जेल रुने हो …?
चरी लैजा समाचार, हामी भयौं बेघरबार …!
प्रतिक्रिया 4