News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा प्रत्यक्ष कारोबार डेढ अर्बभन्दा माथि पुग्ने अनुमान क्यानले गरेको छ ।
- क्यानले यस संस्करणमा प्रायोजक र टिकट बिक्रीबाट ७० करोड रुपैयाँ आम्दानी गर्ने र प्रसारण अधिकारबाट ३३ करोडभन्दा बढी उठाइसकेको छ ।
- एनपीएल विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पाउनेछ, जुन अघिल्लो संस्करणभन्दा ४० लाख रुपैयाँ बढी हो ।
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पुग्दा यस प्रतियोगिताको अर्थतन्त्रको आकार समेत ह्वात्तै बढेको छ ।
दोस्रो संस्करणमा आधा अर्ब रुपैयाँ हाराहारी मात्र आम्दानी गरेको एनपीएल तेस्रो संस्करण पुग्दा धेरै माथि उक्लिरहेको तथ्यांकले देखाउँछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले चैत २०८२ मा सार्वजनिक गरेको विवरण अनुसार दोस्रो संस्करणमा प्रतियोगिताको कुल आम्दानी ४७ करोड ३६ लाख रुपैयाँ बराबर थियो ।
प्रतियोगिताको लागत २१ करोड ९६ लाख रुपैयाँ थियो । लागत कटाएर भएको खुद आम्दानीमध्ये गत सिजनमा क्यानले १६ करोड १८ लाख रुपैयाँ ८ फ्रेन्चाइज टिमलाई वितरण गरेको थियो । बाँकी ९ करोड २१ लाख भने क्यान आफैंले आम्दानी गरेको थियो । उता, एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख आम्दानी भएको थियो ।
तेस्रो संकरण पुग्दा एनपीएलको अर्थतन्त्रको योगदान गुणात्मक बढ्ने देखिएको छ । यसपालि एनपीएलको प्रत्यक्ष कारोबार नै डेढ अर्बभन्दा माथि पुग्ने अनुमान क्यानको छ ।
क्यान कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार तेस्रो संस्करणमा प्रायोजक र टिकट बिक्रीमार्फत क्यानले ७० करोड रुपैयाँ बराबर आम्दानी गर्ने अनुमान छ ।
योभन्दा बढी फ्रेन्चाइज टिमहरूले कारोबार गर्नेछन् । हरेक क्लबले यस वर्ष औसत १५ करोड हाराहारी खर्च गर्ने अनुमान छ । गत सिजनमा ८ देखि १० करोड हाराहारी औसत खर्च गरेका थिए ।
यही आधारमा हेर्दा एनपीएल अवधिमा डेढ अर्बमाथिको प्रत्यक्ष कारोबार हुने उनको भनाइ छ । अप्रत्यक्ष कारोबार आकार त्यसभन्दा धेरै माथि हुनेछ ।

यस संस्करणमा क्यानले प्रसारण अधिकारबाट मात्र झन्डै ३३ करोडभन्दा बढी आम्दानी गरिसकेको छ । जसमा हिमालय स्पोर्टस्बाट १४ करोड ६४ लाख प्राप्त गरेको क्यानले नेटटिभीबाट १८ करोड ४ लाख आम्दानी गरेको छ ।
प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशका पूर्वअध्यक्ष मिङमाडन्डु शेर्पाका अनुसार एनपीएल केवल एक खेल उत्सवमात्र होइन, यो राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउने सशक्त आधार पनि हो ।
विश्वका नामी खेलाडी, प्रशिक्षक, प्रसारणकर्मी र हजारौं दर्शकको आगमनले होटल, यातायात, रेस्टुरेन्ट, पर्यटन र स्थानीय व्यवसायमा नयाँ जीवन्तता प्रदान गर्छ ।
प्रसारण, प्रयोजन र सहायक सेवाले रोजगारीका नयाँ अवसर सिर्जना गर्दै युवाको आय आर्जन र उद्यमशीलतालाई प्रोत्साहन दिने उनी बताउँछन् ।
पुरस्कार राशि निरन्तर वृद्धि
प्रतियोगिताको आकार बढ्दै गर्दा क्यानले पुरस्कार राशिसमेत वृद्धि गरेको छ । यस संस्करणको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने छ । जुन अघिल्लो संस्करणको तुलनामा ४० लाख रुपैयाँ धेरै हो ।
गत सिजन विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको थियो । जारी सिजनमा दोस्रो हुने टोलीले ८० लाख, तेस्रो टोलीलाई ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख पाउने क्यान कोषाध्यक्ष खड्काले जानकारी दिए ।
पहिलो संस्करणमा क्यानले प्रथम पुरस्कार १ करोड घोषणा गरेको थियो । कोषाध्यक्ष खड्काका अनुसार पुरस्कार राशि वृद्धिले प्रतियोगिताको आकर्षण र प्रतिस्पर्धा अझ वृद्धि गर्ने छ ।

अतुलनीय ‘कन्ट्री प्रमोसन’
यसबाहेक प्रतियोगिताले नेपालको खेल पर्यटनमा विशिष्ट योगदान गर्ने छ । नेपालका होटलहरूले एक महिनासम्म गुणस्तरीय पाहुना प्राप्त गर्नेछन् । त्यसमार्फत अर्थतन्त्रका अन्य अवयव चलायमान हुनेछन् ।
होटल एसोसिएसन नेपाल (हान) कोषाध्यक्ष तथा लामो समयदेखि खेल पर्यटन प्रवर्द्धनमा सक्रिय व्यवसायी युवराज श्रेष्ठका अनुसार प्रतियोगिताका कारण होटलहरूले खर्चालु पाहुना प्राप्त गर्छन् ।
हवाई र यातायात व्यवसायीको कारोबार सुनिश्चित हुन्छ । त्योभन्दा बढी मुलुकको प्रवर्द्धन यस प्रतियोगिताबाट हुन्छ । जसको मूल्य तुलना हुँदैन ।
विश्वचर्चित खेलाडी आन्द्रे रसेलले आफू एनपीएल खेल्न नेपालमा रहेको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका छन् । एकदिन अघि ढाका टोपीमा सजिएर उनले राखेको पोस्टमा ५० हजारभन्दा बढी रियाक्सन प्राप्त भइसकेको छ । १ हजार ८ सयभन्दा बढीले कमेन्ट गरेका छन् ।
‘रसेलजस्ता विख्यात खेलाडीको युनिक फ्यान फलोइङ हुन्छ, जसले उनलाई पछ्याउँछन्, हुन सक्छ, आजसम्म नेपाल भन्ने देश नसुनेका कतिपयले उनकै कारण हाम्रो मुलुकबारे थाहा पाए होलान्,’ श्रेष्ठले भने ।

विद्यमान प्रावधान अनुसार एक टोलीमा ६ विदेशी खेलाडी छन् । जसअनुसार एनपीएल खेलिरहेका ८ टोलीका ४८ विदेशी खेलाडी अहिले नेपालमा छन् । तेस्रो संस्करण आइपुग्दा विश्वचर्चित खेलाडीको सूची लामो छ । उनीहरुको एक पोस्टले मुलुकको प्रवर्द्धनमा ठूलो योगदान गर्ने श्रेष्ठ बताउँछन् ।
‘अफडे पारेर टोलीहरूले खेलाडीलाई एभरेस्ट बेसक्याम्प लगायत स्पेसल टुर ट्रिट दिने चलन पनि छ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनमा यति सुन्दर मौका एनपीएलकै कारण सम्भव भएको हो ।’
होटलहरूलाई डेढ महिनाको व्यापार सुनिश्चित
एक फ्रेन्चाइज टोलीमा ३० देखि ३५ जनासम्मको समूह हुन्छ । खेलाडी सहित प्रशिक्षक, सपोर्ट स्टाफदेखि भिडियोग्राफरसम्मको टोलीलाई टिमहरूले अलग–अलग होटलमा राखेका छन् ।
हान कोषाध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिता सुरु हुनु एक साता अघिदेखि नै टोलीका सदस्यहरू क्लोज क्याम्पमा बसेका हुन्छन् । सोहीकारण कम्तीमा डेढ महिनाका लागि टोलीले होटल बुक गरेको हुन्छ ।
एक टिमले यस अवधिमा न्यूनतम ८० लाखदेखि डेढ करोड रुपैयाँसम्म होटलमा खर्च गर्ने श्रेष्ठ बताउँछन् । एक टिमले यस अवधिमा कम्तीमा २५ देखि ३० वटा कोठा अकुपाइ गर्छन् । त्यसमध्ये विदेशी खेलाडी र टिमका विशिष्ट सदस्यका लागि औसतभन्दा महँगो पर्ने कोठा बुक गरिन्छ ।
सोहीकारण होटल व्यवसायी एनपीएलाई एक प्रकारको उत्सव मान्छन् । अहिले टिमहरूले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बढाएका छन् । त्यसमार्फत होटलको समेत प्रचार प्रसार हुन्छ ।
‘एक होटलले निरन्तर व्यापार पाउने वातावरण बन्दा कृषिसहित धेरै क्षेत्रको एकसाथ व्यापार बढ्छ, यसले समग्रमा मुलुकको अर्थतन्त्रमा योगदान गर्छ,’ श्रेष्ठ थप्छन् ।

यसबाहेक एनपीएल नै हेर्नसमेत गैरआवासीय नेपाली सहित विदेशी खेलाडीका क्रेजी फ्यान समेत नेपाल आउन थालेको उनी बताउँछन् । यसले पनि होटलको व्यापार बढाएको छ । यसपालि ८ टोली छुट्टाछुट्टै होटलमा बसेका छन् ।
हान अध्यक्ष विनायक शाह प्रतियोगिताले होटल र समग्र पर्यटन क्षेत्र माथि उठाउन सघाउ पुगेको बताउँछन् । प्रतियोगितामा सहभागी आठ वटै फ्रेन्चाइज टिम ठूला होटलसँग आबद्ध हुनु र खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यले लामो समयसम्म होटलमा सेवा लिनुले आतिथ्य उद्योगमा सकारात्मक योगदान गरेको उनको भनाइ छ ।
उनका अनुसार एनपीएलमा सहभागी सुदूरपश्चिम, विराटनगर, लुम्बिनी र चितवन लगायत फ्रेन्चाइज टिमका समर्थक समेत आफ्नो टिमको खेल हेर्न विभिन्न ठाउँबाट आएर विभिन्न स्तरको होटलमा बसिरहेका छन् ।
यसले होटल तथा आवास, खानपान र यातायात लगायत क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग पुर्याएको उनको भनाइ छ । प्रतियोगिता क्रममा स्वदेशी तथा विदेशी खेलाडी र प्रशिक्षकले महिना दिनसम्म होटलमा सेवा लिने भएकाले होटल व्यवसायलाई लाभ पुगेको उनी बताउँछन् ।
ठूलो स्क्रिनको प्रसारण मार्फत रेस्टुरेन्टमा व्यापार
सहरी इलाकामा एनपीएल मार्फत रेस्टुरेन्ट व्यवसायमा समेत आकर्षण बढ्छ । व्यवसायीका अनुसार रेस्टुरेन्टले ठूलो पर्दामा प्रत्यक्ष खेल हेर्न सकिने गरी व्यवस्था गरेका छन् । खाना र खेलको मजा एकै स्थानमा लिन सकिने गरी रेस्टुरेन्टहरूले प्याकेज ल्याउने गरेका छन् ।
काठमाडौं सहित सहरी भेगका दर्जनौं रेस्टुरेन्टले यस्तो अफर सार्वजनिक गरेका छन् । रंगशालामा सीमित सिट हुने र भएका सिट पनि अत्यधिक मागका कारण छिट्टै बिक्री भइरहेका छन् ।
यस्तो अवस्थामा फ्यानहरू ठूलो स्क्रिनमा साथीभाइसँग खेल हेर्न रेस्टुरेन्ट रोज्ने गर्छन् । एनपीएल जस्ता ठूला प्रतियोगिता सबै प्रकारका रेस्टुरेन्टका लागि व्यापार सिर्जना गर्ने महत्त्वपूर्ण अवसर भएको व्यवसायी श्रेष्ठ बताउँछन् ।
जर्सी र एसेसरिजको बढ्दो व्यापार
रंगशालामा आफ्नो टोलीको समर्थनमा जाने फ्यानले लगाउने जर्सीको माग बढ्दो छ । यस्ता जर्सी अहिले धेरैजसो अनलाइन प्ल्याटफर्मबाट बिक्री भइरहेका छन् ।
लुम्बिनी लायन्सले आफ्नो वेवसाइटमै जर्सी तथा अन्य किट बिक्रीमा राखेको छ । लुम्बिनीले सिजन २ को प्लेइङ जर्सीलाई २ हजार मूल्यमा बिक्रीमा राखेको छ ।
यसबाहेक फ्यान जर्सी, हुडी, हेलमेट जस्ता प्रडक्ट समेत क्लबहरूले फ्यानलाई लक्षित गरी सार्वजनिक गरेका छन् ।

विराटनगर किङ्सले समेत आफ्नो आधिकारिक जर्सीलाई वेबसाइट मार्फत नै बिक्रीमा राखेको छ । कर्णाली याक्सले समेत आधिकारिक जर्सी वेबसाइट मार्फत बिक्री गरिरहेको छ ।
त्यस्तै चितवन राइनोजको जर्सीसमेत वेबसाइटबाटै अर्डर गर्न सकिने बनाइएको छ । जनकपुर बोल्ट्सले स्कार्फ र जर्सीलाई वेबसाइटमा राखेको छ ।
खेलाडीलाई आकर्षक पारिश्रमिक
एनपीएलको अर्को सकारात्मक पक्ष खेलाडी र उनीहरूको परिवारको आर्थिक अवस्था सुधार पनि हो । एनपीएलमा सहभागी खेलाडीले आफ्नो टोलीबाट आकर्षक पारिश्रमिकसँगै थप प्रशिक्षण, स्पोन्सर र अन्य अवसर पाएका छन् । यसले अन्तत: राष्ट्रिय टोलीको निखारमा समेत सहयोग पुग्छ ।
एनपीएलको हरेक टोलीका मार्की प्लेयरले २० लाख रुपैयाँसम्म पाउने प्रावधान छ । क्यानले हरेक टिमले आफ्ना कुल १४ स्वदेशी खेलाडीका लागि ९० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखेको छ । जुन एक महिना चल्ने प्रतियोगितामा खेलाडीले बुझ्ने आकर्षक आम्दानी हुन जान्छ । टोलीहरूले विदेशी खेलाडीका लागि कति खर्च गर्छन् भन्ने चाँही सार्वजनिक गरेका छैनन् ।
चलायमान स्थानीय अर्थतन्त्र
कीर्तिपुर क्रिकेट रंगशाला आसपास हरेक दिन हजारौं दर्शक पुग्छन् । उनीहरूका माध्यमबाट त्यस भेगको स्थानीय अर्थतन्त्र प्रत्यक्ष–अप्रत्यक्ष चलायमान भइरहेको हुन्छ । स्थानीय खाजा पसलमा खाजा, पानी, सफ्ट ड्रिंक र चिया–कफी बिक्री बढ्छ ।
प्रविधिमा बढ्दो लगानी
दोस्रो सिजनमा क्यान सचिव पारस खड्काले ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) एनपीएलका लागि महँगो भएको बताएका थिए । तर, एक वर्षकै अवधिमा प्रतियोगिताले यो प्रविधि भित्र्याउन सफल भएको छ ।
क्यानको बढ्दो आम्दानी र आत्मविश्वासले प्रविधिमा लगानी बढेको छ । यसले प्रतियोगितालाई अझ विश्वसनीय र विवादरहित बनाउन सहयोग पुग्ने अपेक्षा क्यानको छ ।
निजी क्षेत्रको उत्साहजनक सहभागिता
एनपीएलको आर्थिक सफलतामा निजी क्षेत्रको भूमिका उत्तिकै छ । यो विषय क्यान अध्यक्ष चतुरबहादुर चन्द स्वयं स्वीकार्छन् । उनका अनुसार एनपीएलमा टेलिभिजन अधिकारदेखि डिजिटल माध्यमसम्म प्रायोजकहरूको आकर्षण देखिएको छ ।
पहिलो संस्करणमा डिजिटल प्रसारणको व्यवस्था नै थिएन । दोस्रो संस्करणबाट प्रायोजकको साथले यसमा निकै राम्रो संस्कृति विकास भएको उनले बताए । यसले नेपाली क्रिकेटको विकास र खेलाडीको भविश्य सुनिश्चित गर्ने उनको भनाइ छ ।

यसपालि एनपीएलको मुख्य प्रयोजक सिद्धार्थ बैंक छ । हिमालय स्पोर्ट्समा एनपीएल प्रसारणको मुख्य प्रायोजक रेडबुल छ । बजाज पल्सर, प्रोस्टाइल, नेपाल लाइफ इन्स्योरेन्स, प्रोटोन, एसियन पेन्ट्स, सोयम र हिमस्टार ‘स्पोन्सर’ का रूपमा जोडिएका छन् ।
यसबाहेक हरेक फ्रेन्चाइज टोलीसँग स्पोन्सर जोडिएका छन् । क्यानका अनुसार क्लबहरूको मुख्य आम्दानीको स्रोत पनि प्रायोजक नै हुन् ।
क्रिकेट पूर्वाधार माग
नेपालमा क्रिकेट पूर्वाधारको अवस्था भने अझै पनि कमजोर छ । राज्यले सुरु गरेका मुलपानी क्रिकेट रंगशाला, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहित ठूला आयोजना अलपत्र जस्तै अवस्थामा छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला एक्लैले नेपालको क्रिकेटको इज्जत धानिरहेको छ । हान अध्यक्ष शाह अब एनपीएललाई केवल क्रिकेट प्रतियोगिताका रूपमा मात्र नहेरी पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास गर्नुपर्ने बताउँछन् । एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिज्मलाई योजनाबद्ध अघि बढाउने समय आएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलले मान्यता पाउनु नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर भएको भन्दै उनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाहरूको स्तरोन्नतिमा जोड दिए ।

कोशी क्रिकेट संघ पूर्वअध्यक्ष शेर्पा पनि एनपीएलको सफलतालाई आधार बनाइ अब घरेलु क्रिकेटको दिगो विकासमा लाग्नुपर्ने बताउँछन् । त्यसका लागि ग्रासरुट क्रिकेटको सुदृढीकरण, प्राविधिक जनशक्ति उत्पादन, प्रदेश तथा जिल्लाहरूमा क्रिकेट गतिविधि विस्तार र पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको धारणा छ ।
प्रतिक्रिया 4