+
+

सेयर ब्रोकर कमिसन र आस्वा शुल्क घटाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १९:१२

२ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आन्तरिक रुपमा गठन गरको अध्ययन समितिले सेयर ब्रोकरको कमिसन र आस्वा शुल्क घटाउन सिफारिस गरेको छ । धितोपत्र बजारमा प्राथमिक सार्वजनिक निष्कासनदेखि लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा  लाग्ने  शुल्कसम्मको अध्ययन गर्न भन्दै बोर्ड अध्यक्ष रमेश हमालले आन्तरिक रुपमा अध्ययन गर्न एउटा समिति गठन गरेको थिए । उक्त अध्ययन समितिले प्रतिवेदन बोर्ड अध्यक्षलाई बुझाएको हो ।

प्रतिवेदनमा सार्वजनिक निष्कासनमा बैंकहरुले लिने आस्वा शुल्कदेखि सेयर ब्रोकरले लिने कमिसन शुल्क घटाउन सकिने आधारसहित पेश गरेको  स्रोतले जनाएको छ । यसबाहेक सीडीएस एन्ड क्लियरिङले दोस्रो बजार कारोबारमा लिने प्रतिकारोबार शुल्कको विषयमा समेत अध्ययन गरेको छ ।

बोर्डका उपकार्यकारी निर्देशकको संयोजकत्वमा भएको अध्ययन समितिले कमिसन र आस्वा शुल्क समायोजन गर्दा लगानीकर्तालाइ राहत हुने भन्दै उक्त शुल्क घटाउन सकिने आधार  समेत प्रतिवेदन उल्लेख गरेको  छ ।

‘प्राथमिक बजारदेखि दोस्रो बजार कारोबार लाग्ने सम्पूर्ण शुल्क, ब्रोकर, कमिसन,  आश्व शुल्क, सीडीएससीको शुल्क, नेप्सेले पाउने कमिसन, हितग्राही खाता नविकरण शुल्क, सि-आस्वा नवीकरण शुल्क सबै पुनरावलोकन गर्न सिफारिस गरेका छौं,’ अध्ययन समितिका एक सदस्यले भने, ‘ब्रोकर कमिसन र आस्वा शुल्कलाई प्राथमिकता दिनुपर्ने ;mुभाव छ ।’

अहिले प्राथमिक सार्वजनिक निष्कासन गर्ने कम्पनीको सर्वसाधारण लगानीकर्ताबाट उठाउने शुल्क भन्दा त्यसमा आवेदन दिने  लगानीकर्ताबाट आस्वा सेवा वापत बैंक तथा वित्तीय संस्थाले लिने शुल्क बढी रहेको छ ।

आईपीओ भर्दा २६ मध्ये ३ वटा वाणिज्य बैंक बाहेक सबै बैंकले आश्वा शुल्क लिने गरेका छन् । नबिल, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क लाग्दैन ।

१० वटा बैंकबाट १० रुपैयाँ शुल्क लाग्छ भने ग्लोबल आईएमई बैंकले १५ रुपैयाँ लिदै आएको छ । ७ वटा बैैंकले २० रुपैयाँ र ४ वटा बैंकले २५ रुपैयाँ लिदा स्ट्यान्डर्ड चाटर्ड बैंकले  १०० रुपैयाँ शुल्क लिदै आएको छ ।

यसरी सार्वजनिक निष्कासनमा आवेदन दिनेले हरेक पटक शुल्क तिर्नुपर्ने हुन्छ । लघुवित्त, हाइड्रोपावर लगायतका कम्पनीहरुले  पछिल्लो  समय १० करोडभन्दा कमको आईपीओ निष्कासन गरिरहेका छन् ।

१० जेठ २०७९ देखि आदर्श लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको  आईपीओ निष्कासन गरेको थियो । ६७ लाख रुपैयाँ सर्वसाधाराणबाट लगानी जुटाउन आवेदन माग गरेको कम्पनीमा १५ लाख भन्दा बढीले आवेदन दिएका थिए ।  १५ लाख आवेदनबाट आश्वा शुल्कवापत औसतमा २० रुपैयाँ लिने हो भने पनि हरेक आईपीओबाट  बैंकहरुले आश्वा सेवाबापत ३ करोडभन्दा बढी शुल्क उठाउने गरेको देखिन्छ ।

यस्तै  १९ करोड ६८ लाख २५०० हजार रुपैयाँ आइपीओ जारी गरेको हिमालयन  हाइड्रोपावरबाट पनि बैंक तथा वित्तीय संस्थाले सोभन्दा बढी शुल्क आस्वा सेवा प्रदान गरेबापत लिएको विश्लषण गरिएको छ  यस्ता सानो रकमको आईपीओ जारी गर्ने कम्पनीमा साधारण लगानीकर्ताबाट कम्पनीले  लिने वित्तीय स्रोतभन्दा बढी आश्वा शुल्क लाग्ने अन्य धेरै कम्पनीहरु छन् ।

यस्तो शुल्कमा नियामक निकायले निश्चित सिमा तोक्नुपर्ने माग सेयर लगानीकर्ता उठाइरहेको छन् । धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिले उक्त शुल्क घटाउन सकिने आधारसहित प्रतिवेदन दिएको स्रोतको दाबी छ ।

यस बाहेक लगानीकर्ताले सेयर कारोबार गर्न तिर्नुपर्ने बोकर कमिसन, सीडीएस एण्ड क्लियरीङले लिने शुल्क लगायतमा पनि समायोजन गर्नुपर्ने माग गरिहरेका छन् ।  नेपाल धितोपत्र बोर्ड १२ पुस २०७७ गतेदेखि लागू हुने गरी सेयर ब्रोकरको कमिसन घटाएको थियो । तर, आर्थिक वर्ष २०७७/७८ मा ब्रोकरले १०० रुपैयाँ चुक्ता पूँजी हुँदा औसतमा ३९० रुपैयाँ नाफा कमाएको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो । महालेखा परिक्षकको १९औं वाषिर्क प्रतिवेदनमा पनि सेयर ब्रोकरको आम्दानी अस्वभाविक रहेको भन्दै कमिसन अध्ययन गर्न सुझाव दिएको थियो ।

बोर्डले गठन गरेको अध्ययन समितिले पनि ब्रोकर कमिसन घटाउन सकिने सुझाव दिएको स्रोतले बताएको छ ।

हाल ब्रोकर कम्पनीले हाल ५० हजार रुपैयाँसम्म सेयर खरिदबिक्री गर्दा लगानीकर्ताबाट कारोबार रकमको ०.४० प्रतिशत शुल्क लिन सक्ने व्यवस्था बोर्डले गरेको छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखभन्दा माथि एक करोड रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार ०.३० प्रतिशत र १ करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन लिनसक्ने व्यवस्था बोर्डले गरेको छ ।

यस बाहेक सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको कारोबार गर्दा ५ लाख रुपैयाँसम्मको कोरोबार ०.१५ प्रतिशत, ५ लाख देखि ५० लाखसम्मको कारोबारमा ०.१२ प्रतिशत र ५० लाख भन्दा माथिको कारोबारमा ब्रोकरहरुले ०.१० प्रतिशत कमिसन लिंदै आएका छन् ।

तर, सानो रकमको कारोबार भएर कमिसन रकम १० रुपैयाँभन्दा कम हुन आएमा भने प्रतिकारोबार १० रुपैयाँ कमिसन लिन सक्नेछन् । उक्त शुल्कलाई स्वचालिन अनलाईन कारोबार सञ्चालन हुँदै गएको सेयर ब्रोकरको सञ्चालन खर्च न्युन रहेकोले पनि त्यसमा घटाउन सकिने आधार देखिएको स्रोत बताउँछ ।

सेयर लगानीकर्ताले भने ब्रोकर कमिसनको माथिल्लो सिमा तोकेर ब्रोकरले आफ्नो ग्राहकको कमिसन आफैं निर्धारण गर्न सक्ने छुट दिनुपर्ने माग गरिहरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?