
३१ साउन काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
अघिल्लो खेलमा हिरो बनेका डार्विन नुनेजले रातो कार्ड पाएको खेलमा लिभरपुलले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको ३२ औं मिनेटमा लफ्रेज जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए ।
बराबरी गोल फर्काउन प्रयासरत लिभरपुललाई ५७ औं मिनेटमा झड्का लाग्यो । क्रिस्टल प्यालेसमा डिफेण्डर जोचिम एन्डरलाई फल गरेपछि नुनेजले सिधै रातो कार्ड पाएका थिए । यसै समरमा बेनफिकाबाट लिभरपुल आएका नुनेजले पहिलो खेलमा फुलहम विरुद्ध २-२ को बराबरी खेल्दा एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए ।
एक खेलाडी कम भए पनि ६१औं मिनेटमा लुइस डियनाजले लिभरपुललका लागि गोल गर्दै हार टारे ।
लगातार दोस्रो बराबरीपछि लिभरपुलको २ अंक छ र १२ औं स्थानमा छ । पहिलो अंक जोडेको क्रिस्टल प्यालेस १ अंकसहित १६ औं स्थानमा छ ।
प्रिमियर लिगमा दुई चरणको खेल सकिँदा साविक विजेता म्यानचेष्टर सिटी र बर्सनलले मात्र शतप्रतिशत जित निकालेका छन् । एभरटन, वेष्टह्याम र म्यानचेष्टर युनाइटेडले भने दुवै खेल हारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4