+
+

शेखर पक्षको खबरदारी सभा : ४० प्रतिशत नदिने भए सबै राख

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १९:३४

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको डा.शेखर कोइराला पक्षले न्यायोचित हिस्सेदारीको माग गरेको छ । संस्थापन पक्षविरुद्ध काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने वक्ताहरु सभापति देउवा समूहविरुद्ध खनिएका हुन् ।

भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने नेताहरुले दोहोर्‍याएका छन् ।

केन्द्रीय सदस्यमा हालसम्म २३ जना मनोनित हुँदा दुई जना मात्रै छुट्याइएकोप्रति नेताहरुले खेद प्रकट गरे । ‘२३ जना मध्ये २ जना लिएर हामीले के प्रभाव पार्न सक्छौं?’ सभाका प्रमुख अतिथि रहेका नेता अर्जुन नरसिंह केसीले चेतावनी दिँदै भने, ‘दिने भए न्यायपूर्ण तरिकाले देउ । होइन भने तिमीले नै सबै राख ।’

सभापति शेरबहादुर देउवाले नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा मनोनित गरिएको मनोनितमा एउटा पक्षको परामर्शसमेत नगरिएको आपत्ति जनाएका थिए । भ्रातृ तथा पार्टीमा मनोनित गर्दा ४० प्रतिशतको हिस्साको हकदार आफूहरु रहेको नेताहरुको दाबी थियो ।

पार्टीलाई सबैको साझा बनाउनुपर्नेमा सभापति एक्लै हिड्न खोजेको उनीहरुको गुनासो थियो । संस्था र शसक्त कांग्रेस बनाउने पक्षमा हामी पनि छौं । ‘नेतृत्वमा बसेकाले म नै सबैभन्दा जान्ने हुँ । मैले भनेकै सत्य हो, त्यही मान्नुपर्दछ । अधिनायकवादी सोंच नेतृत्वमा छ ।’ नेता केसीले भने ।

सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला सहभागी थिए । साथै नेताहरु गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, जगदिश्वर नरसिह केसी पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?