+
+

भारतीय पक्षलाई मनाएर संचालनमा ल्याइयो ठोरीको ठुटेखोला पुलको एप्रोच सडक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते ६:२९

३ भदौ, वीरगञ्ज । वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिका–२ र ३ जोड्ने ठुटेखोला पुलको पूर्वतर्फको एप्रोच सडक सञ्चालनमा आएको छ । पुल बनेको ४ वर्षपछि गाउँपालिकाले एप्रोच सडक बनाएको हो ।

यसअघि ठुटे खोलाबाट भारतीय पक्षले प्रयोग गर्दै आएको दुईवटा कुलो मध्ये पश्चिमतर्फको एउटा कुलो पुरेर स्थानीयले डाइभर्सन बनाई पुलको प्रयोग गर्दै आएका थिए । हुलाकी सडक योजना कार्यालयले पुनः टेण्डर आह्वान गरेपछि मात्र एप्रोच सडक कालोपत्रेको काम हुने जनाइएको छ ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी समेतको उपस्थितिमा पालिकाको स्काभेटर प्रयोग गरी एप्रोच सडक सञ्चालनमा ल्याइएको थियो । सडक सन्चालन नभएका कारण ठोरीका बासिन्दा तथा ठोरी घुम्न आउने पर्यटकहरुले सास्ती व्यहोर्दै आएका थिए ।

हुलाकी सडकको उक्त खण्ड निर्माणको जिम्मा पाएको कालिका बानियाँ जेभीले विवादका कारण एप्रोच सडक बनाउन सकेको थिएन । भारतीय पक्षले ठूटे खोलाबाट कुलो बनाएर सिंचाइका लागि पानी लैजाने गरेका छन् । कुलो पुरेर बाटो बनाउनुपर्ने भएपछि उनीहरुले पटक–पटक अवरोध गरेका थिए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले भारततर्फका स्थानीय मुखियाहरुसँग निरन्तर सम्पर्क, सहकार्य र समन्वय गरी सडक सञ्चालनमा ल्याइएको बताए ।

बिहार धमौरा पञ्चायतका मुखिया श्याम बिहारीले आफूहरुलाई पानीसँग मात्र सरोकार रहेकाले नेपाली पक्षले पर्याप्त पानी जाने वातावरण बनाइदिएर सडक बनाउँदा कुनै आपत्ती नरहेको बताए ।

पुलसम्म जाने एप्रोच सडक नबन्दा डाइभर्सनको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । घुमाउरो डाइभर्सनमा पर्ने साना काठे अस्थायी पुलमा सवारी साधन सञ्चालन गर्न समेत कठिनाइ हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?