+
+
Shares

मुगुम कार्मारोङमा १० करोडको अस्पताल बन्यो, बिरामी पुग्ने मोटरबाटो छैन

एउटा गाउँबाट अर्को गाउँ पुग्न घण्टौँदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यताले अस्पताल बने पनि सबै नागरिकका लागि सेवा सहज पहुँचमा नपुगेको हो ।

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक ३० गते १०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुकाे मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ, तर सडक नहुँदा सेवा पहुँच सहज छैन ।
  • करोडौँ खर्चेर बनेको अस्पताल निर्माण तोकिएको समयभन्दा दुई वर्षभन्दा बढी ढिलो सम्पन्न भयो, र हाल एक चिकित्सकसहित आठ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।
  • गाउँपालिकाका कुनै पनि वडामा मोटरबाटो नपुगेकाले बिरामीलाई अस्पताल पुर्‍याउन घण्टौँदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्छ ।

३० कात्तिक, सुर्खेत । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । तर, करोडौँ रुपैयाँ खर्चेर भवन निर्माण भए पनि त्यहाँसम्म पुग्ने सडक नहुँदा स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

एउटा गाउँबाट अर्को गाउँ पुग्न घण्टौँदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यताले अस्पताल बने पनि सबै नागरिकका लागि सेवा सहज पहुँचमा नपुगेको हो ।

संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ अवधारणाअनुसार निर्माण सम्पन्न मुगुम कार्मारोङ आधारभूत अस्पताल कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उदघाटन गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ मा भर्चुअल माध्यमबाट अस्पतालको शिलान्यास गरेका थिए । त्यसपछि १७ वैशाख २०७८ मा भौतिक रूपमा भवन निर्माणको शिलान्यास गरियो । सम्झौताअनुसार ३० असार २०८० भित्र सम्पन्न हुनुपर्ने काम डीपीआर, यातायातको असुविधा र निर्माण सामग्री ढुवानीमा देखिएको समस्या लगायतका कारण तोकिएको समयभन्दा दुई वर्षभन्दा बढी ढिलो सम्पन्न भएको हो ।

अस्पताल निर्माणमा कुल १० करोड २४ लाख ९३ हजार १६० रुपैयाँ खर्च भएको छ । हाल एक चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । तर, अस्पताल सञ्चालनका लागि आवश्यक स्थायी दरबन्दी र दक्ष जनशक्तिको व्यवस्थापन अझै चुनौतीपूर्ण छ ।

अस्पताल बन्यो, तर बिरामी पुग्ने मोटर बाटो छैन

मुगुम कार्मारोङ कर्णालीका दुर्गम स्थानीय तहमध्ये एक हो, जुन राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । नौवटा वडा रहेको यस गाउँपालिकाको कुनै पनि वडामा मोटरबाटो पुगेको छैन ।

गाउँपालिकाको केन्द्रसम्म सडक पुर्‍याउने उद्देश्यले गमगढी–नाक्चेनाग्ला सडक निर्माण अघि बढाइए पनि लामो समयदेखि अपेक्षित गति लिन सकेको छैन ।

सडकको अभावमा दैनिक उपभोग्य सामग्रीदेखि औषधि, स्वास्थ्य उपकरण र निर्माण सामग्रीसमेत मानिस तथा खच्चडमार्फत ढुवानी गर्नुपर्ने बाध्यता छ । बिरामीलाई अस्पतालसम्म पुर्‍याउन पनि स्थानीयले घण्टौँदेखि दिनौँसम्म पैदल यात्रा गर्नुपर्छ । कतिपय बस्तीबाट रिउस पुग्न एकदेखि दुई दिन लाग्ने भएकाले सामान्य स्वास्थ्य समस्यामा समेत तत्काल उपचार पाउन कठिन भएको स्वास्थ्य शाखा प्रमुख बलिराज बुढाले बताए ।

गमगढी–नाक्चेनाग्ला सडकको सर्वेक्षण आर्थिक वर्ष २०६२÷६३ मा सुरु भएको थियो भने निर्माण २०७२÷७३ बाट अघि बढाइएको हो । ९३ किलोमिटर लामो यो सडकमा एक दशकभन्दा बढी समय बितिसक्दा पनि करिब १८.५ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ । बजेटको निरन्तरता नहुनु, कडा चट्टानी भूगोल र सरकारी प्राथमिकताको अभावले समस्या थपिएको छ ।

सरकारको प्रतिबद्धता, कार्यान्वयनको प्रतीक्षा

अस्पताल भवन उदघाटन गर्दै मुख्यमन्त्री शाहीले स्वास्थ्य सेवामा स्थानीय तहलाई सबल बनाउने संघीय सरकारको नीतिमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए । सडक सञ्जालले नछोएको कार्मारोङमा बनेको अस्पताललाई आवश्यक जनशक्ति र उपकरणयुक्त बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो ।

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु तीनै तहका सरकारको दायित्व भएको उल्लेख गर्दै शाहीले सेवा गुणस्तरीय बनाउने प्रमुख जिम्मेवारी स्थानीय तहको रहने बताए ।

अस्पताल भवन संघीय सरकारले बनाए पनि सञ्चालन र व्यवस्थापन प्रदेश तथा स्थानीय सरकारले समन्वय गरेर गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए ।

अस्पतालभन्दा धामीझाँक्रीप्रति विश्वास

भौतिक पूर्वाधारको अभावसँगै सामाजिक तथा सांस्कृतिक मान्यताले पनि मुगुम कार्मारोङमा स्वास्थ्य सेवाको पहुँचमा प्रभाव पारेको छ । गाउँगाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था भए पनि कतिपय नागरिक बिरामी हुँदा अस्पताल जानुको सट्टा परम्परागत उपचार पद्धति, धामीझाँक्री र लामाको प्रतीक्षामा बस्ने गरेका छन् । रोग बल्झिएर अवस्था जटिल भएपछि मात्रै स्वास्थ्य संस्था पुग्ने प्रवृत्ति पनि उत्तिकै छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बुढाका अनुसार स्वास्थ्यसम्बन्धी सचेतनाको कमी, सामाजिक तथा धार्मिक मान्यता र स्वास्थ्यकर्मीसँग आफ्ना समस्या खुलस्त राख्न नसक्ने प्रवृत्तिका कारण नागरिक उपचारबाट वञ्चित हुने अवस्था छ ।

बुढा गाउँगाउँ पुगेर स्वास्थ्य सचेतना, सामान्य स्वास्थ्य परीक्षण र औषधि प्रयोगसम्बन्धी अभियान पनि सञ्चालन गर्दै आएका छन् । उनको अभियानमा सामान्य स्वास्थ्य जाँच, औषधि वितरण, उच्च रक्तचाप परीक्षण, दन्त सेवा, नसर्ने रोगको पहिचान तथा परामर्श दिइन्छ । यसै क्रममा नागरिकले प्रयोग गरिरहेका औषधिको अवस्था पनि जाँचिन्छ ।

उनका अनुसार कतिपय नागरिक स्वास्थ्य समस्या लुकाउने, स्वास्थ्यकर्मीसँग भन्न लजाउने र आफैँ औषधि किनेर खाने गर्छन् । चिकित्सकले दिएको औषधि पूरा मात्रा नखाने तथा रोग निको भएको ठानेर बीचमै औषधि छोड्ने समस्या पनि देखिन्छ । घरमा लामो समयदेखि थन्किएका औषधिको थुप्रो पनि भेटिने गरेको छ ।

गाउँगाउँमा सेवा दिँदा बुढाले औषधिको गलत प्रयोग र म्याद गुज्रिएका औषधि सेवनका घटना पनि फेला पारेका छन् । एउटा गाउँमा क्षयरोगको औषधि खानुपर्ने एक महिला अर्कै औषधि सेवन गरिरहेको अवस्थामा भेटिएपछि स्वास्थ्य परीक्षण र परामर्शमार्फत उपचार प्रक्रियामा ल्याइएको थियो । अर्को गाउँमा छारे रोगका बिरामी म्याद गुज्रिएको औषधि सेवन गरिरहेको भेटिएका थिए ।

बिदाको दिन शनिबार सञ्चालन गरिने यस अभियानमार्फत घरमा थन्किएका र म्याद नाघेका औषधि छुट्याउने, औषधिको मात्रा र सेवन विधिबारे जानकारी दिने तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि खान प्रेरित गर्ने काम भइरहेको बुढाले बताए ।

उनका भनाइमा गाउँपालिकामा स्वास्थ्य संस्था भए पनि भौगोलिक दूरी र परम्परागत विश्वासका कारण धेरै नागरिकले समयमै उपचार पाउन सकेका छैनन् । स्वास्थ्य सेवा प्रभावकारी बनाउन भवन र स्वास्थ्यकर्मी मात्र पर्याप्त नभई नागरिकमा स्वास्थ्य सचेतना बढाउनु पनि उत्तिकै आवश्यक छ ।

१४ स्वास्थ्य संस्था, तर जनशक्ति र पहुँचको चुनौती

मुगुम कार्मारोङ गाउँपालिकामा एउटा आधारभूत अस्पताल सहित १४ वटा स्वास्थ्य संस्था छन् । गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालित भए पनि पर्याप्त दरबन्दी, दक्ष जनशक्ति र भौतिक पहुँचको अभावले स्वास्थ्य सेवा प्रभावकारी बनाउन कठिन भइरहेको छ ।

विशेषगरी आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका तथा दीर्घरोगीलाई समयमै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा जोखिम बढ्ने गरेको छ । सडक नहुँदा स्वास्थ्य उपकरण र औषधि ढुवानी पनि कठिन र खर्चिलो छ ।

सामान्य उपचारका लागि समेत लामो दूरी पैदल हिँड्नुपर्ने भएपछि नागरिक रोग सहेर बस्ने वा परम्परागत उपचारमा निर्भर हुने अवस्था सिर्जना भएको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?