+
+

पाकिस्तानका उद्योगीहरूलाई नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते २०:२८

६ भदौ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले लाहोरका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लाहोर चेम्बर अफ कमर्स (एलसीसीआई) का प्रमुख मियान नौमान कबिरसहित अन्य सदस्यसँगको अन्तरक्रियामा राजदूत अधिकारीले यस्तो आग्रह गरेका हुन् ।

भेटमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई सुदृढ गर्नुपर्ने धारणा राखेका थिए । ‘दुई देशबीचको सम्बन्ध यसै पनि सुमधुर छ । साथै नेपाल र पाकिस्तान असल छिमेकी तथा दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य र अन्य समान सामाजिक–सांस्कृतिक पृष्ठभूमि समेत छ,’ अन्तरक्रियाका क्रममा अधिकारीले एलसीसीआईका सदस्यहरूसँग भने ।

राजदूत अधिकारीले काठमाडौं र लाहोरको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै १९औं शताब्दीमा नेपालका पूर्व प्रधानमन्त्री माथवर सिंह थापाले लाहोरमा नै निर्वासन जीवन बिताएको स्मरण गरे ।

उनले नेपाल सरकारको आर्थिक नीतिले सिधै विदेशी लगानी गर्न पाउने व्यवस्था गरेको भन्दै पाकिस्तानका उद्योगीहरूलाई पनि नेपाल स्वागत गर्न तयार रहेको बताए । उनले त्यहाँका व्यापारीहरूलाई भ्रमणको निम्तो दिँदै व्यापार, पर्यटन उद्योग तथा साहासिक पयर्टनमा लगानी गर्नका लागि नेपाल उपयुक्त स्थान रहेको जानकारी दिए ।

लाहोर चेम्बर अफ कमर्सका प्रमुख कबिरलगायत अन्य सदस्यले नेपालमा रहेको लगानीको अवसरको प्रशंसा गरेका थिए । उनीहरू लगानीको विषयमा बुझ्न र नेपालका व्यापारिहरूसँग अन्तरक्रिया गर्न नेपाल भ्रमणको कार्यक्रम गर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले पाकिस्तानी उत्पादनका विषयमा जानकारी गराउन नेपालमा व्यापार मेला गर्ने चाहना समेत व्यक्त गरे ।

एलसीसीआई पाकिस्तानको सबभन्दा पुरानो चेम्बर अफ कमर्समध्ये एउटा हो । सन् १९२३ मा स्थापना भएको एलसीसीआई अहिले आफ्नो स्थापनाको सयौं वर्ष मनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?