+
+

भारोत्तोलनमा जुनमायाले जितिन् स्वर्ण, बनाइन् कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १४:२२

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भारोत्तोलनमा नेपाल प्रहरीकी खेलाडी जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेकी छन् ।

पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लिन एण्ड जर्क दुवैमा कीर्तिमान बनाएकी हुन् ।

जुनमायाले स्न्याचतर्फ ७८ किलोग्राम र क्लिन एण्ड जर्कमा ८९ किलोग्राम गरी कुल १६७ किलोग्राम तौल उठाएर स्वर्ण जितेकी हुन् ।

यस्तै, एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लिन एण्ड जर्कमा ६५ गरी कुल ११७ किलोग्राम भार उठाएर रजत जितिन् । कास्य जितेकी नेपाल प्रहरीकी सरस्वती पुरीले स्न्याचमा ५० र क्लिन एण्ड जर्कमा ६५ गरी कुल ११५ किलोग्राम भार उठाइन् ।

मंगलबार नै भएको महिला ६४ केजी तौल समूहमा नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लिन एण्ड जर्कमा ८० गरी कुल १४७ किलोग्राम भार बहन गर्दै आर्मीलाई चौथो स्वर्ण दिलाएकी हुन् ।

यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लिन एण्ड जर्कमा ७१ गरी कुल १२८ किलोग्राम भार वहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य पदक जितिन् । उनले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६५ गरी कुल ११८ किलोग्राम भार वहन गरेकी हुन् ।

प्रतियोगितामा मंगलबार कुल ६ स्वर्णको छिनोफानो हुँदैछ । हालसम्मको नतिजामा पुलिस पदक तालिकाको शीर्षस्थानमा छ । पुलिसले हालसम्म ५ स्वर्ण, आर्मीले ४ र सुदूरपश्चिमले १ स्वर्ण जितिसकेका छन् ।

कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० इभेन्टमा खेल हुनेछ । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् ।

नवौंमा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदकको लागि प्रतिस्पर्धा भइरहेको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?