+
+

पहिलो ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १८:५०

२८ माघ, काठमाडौं । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ६९ वर्षीय राजेन्द्रकुमार प्रधानसँग झन्डै साढे ५ दशकको भारोत्तोलनको इतिहास छ ।

राजेन्द्र बोल्न सक्दैनन, सुन्न सक्दैनन्। तर उनले जे गर्न सके र गरिरहेका छन्, त्यो नेपाली खेलकुद क्षेत्रको अहिलेसम्मकै एक भिन्न उदाहरण बनिरहेको छ।

घरको जेठो छोरो बोल्नरसुन्न नसक्ने हुँदा अभिभावकलाई उनको भविष्य सोचेर कति पीर पर्दो होला।

हातमा बलियो सिप होस् भनेर राजेन्द्रका बुबा सूर्यबहादुर प्रधानले उनलाई सानैमा क्युरियो कलामा लगाइदिएका थिए । तर उनको भाग्यले त अर्कै कथा पर्खेर बसेको थियो ।

घर छेउको नेपाल ब्यायाम मन्दिरमा जिउ बनाउनेहरुको भीड देखेर राजेन्द्रको ध्यान उतै तानियो। अनि फलाम उचाल्न तिर एकोहोरिए राजेन्द्र।

गज्जबको जिउडाल बन्यो। १७ वर्षको उमेरमा ‘मिस्टर काठमान्डू’ अनि पावर लिफ्टिङमा ‘स्ट्रङगेस्ट म्यान अफ काठमान्डू’ उपाधि जितेपछि खेल क्षेत्रमा उनको प्रवेश भयो।

खेलकुद परिषदको पौडी पोखरीमा लाइफ गार्डको जागिर खाने अनि परिषदको हलमा जिम गर्ने उनको दिनचर्या थियो।

त्यसैबेला नेपालले सन् १९७८ को बैंकक एसियाली खेलकुदमा भाग लिंदै थियो र त्यसमा भारोत्तोलन खेल समावेश थियो ।

तत्कालीन राखेपका संरक्षक धीरेन्द्र शाहको आँखा हट्टा कट्टा राजेन्द्र माथि पर्‍यो। र उनलाई भारोत्तोलन खेलाडीका रुपमा बैंकक एसियाडमा छनोट गरियो । सुन्दा कथा जस्तै लागे पनि बडि विल्डर राजेन्द्रलाई त्यतिबेला भारोत्तोलन बारे थाहै थिएन।

यस्तो अनौठो ढंगले अन्तर्राष्ट्रिय खेलमा उनको प्रवेश भयो तर पारिवारिक बिछोडका साथ । उनी बैंकक जानु अगाडि उनको आमाको निधन भयो ।

बहिनी लक्ष्मी प्रधान भन्छिन्, ‘मुमाले छोरा विदेशमा खेल्न जाने कुरा थाहा पाउनुभयो। त्यतिबेला मुमा बिरामी हुनुहुन्थ्यो । अनि मुमाले कथम् कदाचित मलाई केही भयो भने छोरालाई नरोक्नु भन्नु भयो। मुमा वित्नु पनि भयो। तर बुबाले छोरालाई रोकेनन्। आमा वितेको १० दिनपछि नै दाइ एसियाली खेलकुदमा जानुभयो ।’

शारिरीक सुगठनका खेलाडीलाई बैंककमा आयोजकले खेल्न दिने त कुरै भएन । खेल्नै नपाई फर्किनु परे पनि उनले भारोत्तोलनको प्रतिस्पर्धा हेरे र एउटा अठोट लिएर फर्किए ।

फर्किएपछि राजेन्द्र भारोतोलनमा आफ्नो जीवननै समर्पित गरिदि । २०३६ सालमा उनी नेपालको पहिलो भारोत्तोलन च्याम्पियन बने । दुई वर्ष पछिको मस्को ओलम्पिक खेल्दै नेपालको पहिलो ओलम्पिक भारोत्तोलन खेलाडी पनि बने ।

फेरि मस्को जाने बेला बुबाको निधन भयो। १० दिनको क्रिया छोडेर उनी ओलम्पिक अखडामा उत्रिए । अब उनको जीवनले एउटा स्पस्ट लक्ष्य पाइसकेको थियो।

अनि उनी भारोत्तोलनमा यसरी लागे की जीवन नै त्यसमा समर्पित गरिदिए। खेल जीवनपछि प्रशिक्षक बने ।

छक्क लाग्न सक्छ आवाज नभएको ब्यक्तिले कसरी प्रशिक्षण दिन्छ होला।  तर पत्याउनुस उनी नेपालको अब्बल दर्जाका प्रशिक्षक हुन् भने अन्तर्राष्ट्रिय रेफ्री पनि।

उनी सन् १९९० को  बेइजिङ एसियाली खेलकुद, काठमाडौंमा भएको आठौं एसियाली खेलकुद र श्रीलंकामा भएको १० औ एसियाली खेलकुदमा प्रशिक्षक थिए।

राष्ट्रिय भारोत्तोलन खेलाडी तारादेबी पुन भन्छिन्, ‘उहाँले नसिकाउनु भएको खेलाडी नेपालमा कोही नै छैन। उहाँको भाषा नबुझ्ने खेलाडी पनि कोही छैन ।’

नेपालका सबै चर्चित खेलाडिहरु राजेन्द्रका चेला चेली हुन्।  खेलकुदले उनलाई लक्ष्य दियो। कमाउने माध्यम दियो। आवाज विहिन भएर दविएर बस्न परेन। एउटा इज्जतिलो जिन्दगी दियो।

तर आवाज नभएकै कारण धेरै अवसरहरुबाट भने वञ्चित हुनु परेको छ । राष्ट्रिय खेलाडी गोपाल श्रेष्ठ भन्छन्, ‘आवाज भएको भए उहाँ धेरै नै माथि पुग्नु हुन्थ्यो। कतिपय अवसरहरु उनले त्यसकै कारण गुमाउनु पर्‍यो ।’

एकपटक त राजेन्द्रले राखेपको प्रशिक्षक जागिर नै गुमेको थियो। त्यो बेला सम्झिँदै उनका भाइ देबेन्द्र प्रधान भन्छन्, ‘पत्रिकामा नाम नै आइसकेको थियो । बच्चाहरु सानै थिए । कसरी जीवन चलाउने भनेर उनी निकै नै दुखी हुनु भएको थियो ।’

तर उनको क्षमता देखेरै होला राजेन्द्रको जागिर भने थमौती भयो।

अहिले उनी राखेपबाट रिटायर्ड भएको पनि ११ वर्ष भइसक्यो । तर भारोत्तोलनमा सकृयता पटक्कै घटेको छैन ।

अहिले पनि उनी रंगशालको भारोत्तोलन हलमा चक्कर नकाटे चित्त बुझ्दैन । नेपाल भारोत्तोलन संघमा उनी केन्द्रीय सदस्यको सम्मान दिएको छ । श्रीमती र एक छोरा र एक छोरीसँग आरामसँग जीवन चलाइरहेका राजेन्द्रको इशारा भारोत्तोलनको आवाज बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?