News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले प्रस्ताव गरेको होम एण्ड अवे फर्म्याटमा शहीद स्मारक ए डिभिजन लिग नहुने भएको छ।
- एन्फा महासचिव किरण राईले होम एण्ड अवे लिग तत्काल सम्भव नभएको र क्लबहरूले १० महिना समय माग गरेको बताए।
- एन्फाले राष्ट्रिय लिग आयोजना गर्ने योजना बनाएको छ तर लिगको स्पष्ट मोडालिटी तय गर्न नसकेको र क्लबहरूसँग छलफल गर्ने तयारीमा रहेको छ।
२८ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही समयअघि प्रस्ताव गरेको होम एण्ड अवे फर्म्याटको शहीद स्मारक ए डिभिजन लिग नहुने भएको छ ।
केही समयअघि एन्फा ए डिभिजनका क्लबहरूसँगको बैठकमा पुस ९ गतेदेखि होम एण्ड अवे फर्म्याटमा ए डिभिजन लिग गर्ने प्रस्ताव गरेको थियो । यसमा क्लबहरूले नै असन्तुष्टि जनाउँदै तत्काल होम एण्ड अवे फर्म्याटमा लिग सम्भव नहुने बताएका थिए ।
एन्फाले ए डिभिजन लिगको विषयमा छलफल गर्न क्लबहरूलाई असोज २६ गते बैठकमा बोलाएको थियो । तर क्लबहरूले एक दिनअघि नै पत्रकार सम्मेलन गरेर ए डिभिजन लिगको व्यवस्थापन लगायत पक्षमा सुधार गर्नुपर्ने भन्दै एन्फालाई सुझाव दिएको थियो ।
यस्तै असोज २७ गते सोमबार एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले पत्रकार सम्मेलन गर्दै एन्फा नेतृत्वले लिग गर्न नसकेको लगायत विभिन्न आरोप लगाउँदै अध्यक्ष पंकज विक्रम नेम्वाङले राजीनामा दिनुपर्ने माग राखेका थिए । साथै एन्फामा अर्ली इलेक्सन आवश्यक रहेको पनि वरिष्ठ उपाध्यक्ष खड्काले बताएका थिए ।
पछिल्लो समय नेपाली फुटबलमा पत्रकार सम्मेलन गर्ने लहर नै चलेको छ । त्यसमा एन्फाले आधिकारिक रुपमा आफ्नो धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन गर्यो ।
मंगलबार एन्फाले पत्रकार सम्मेलन नै गरेर क्लबहरूले होम एण्ड अवे फर्म्याटका समय माग गरेकोले तत्काल नहुने जानकारी गराएको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ हाल साउदी अरेबियामा रहेकोले एन्फा महासिचव किरण राई, सिइओ इन्द्रमान तुलाधर, प्रवक्ता सुरेश शाह लगायत पत्रकार सम्मेलनमा उपस्थित भए । जहाँ महासचिव राईले होम एण्ड अवे लिग नहुने सुनाए ।
‘परिस्थितीजन्य कारणले होम एण्ड अवेलाई तत्काल सम्भव भएन । क्लबहरूले १० महिना माग गर्नुभएको छ । अब यो बीचमा त्यतिकै बस्न भएन । टप टायर लिग चाही हुन्छ’ महासचिव राईले भने ।
अहिलेसम्मको अभ्यास अनुसार नेपालको शीर्ष डिभिजनको लिग ए डिभिजन लिग नै हो । तर एन्फा महासचिव राई भने राष्ट्रिय लिग र ए डिभिजन लिग दुवै टप टायर लिग भएको दाबी गर्छन् ।
उनले ए डिभिजन लिग हुँदैन भनेर खुलेर भन्न नसकेपनि एन्फाले ए डिभिजन लिगको सट्टा यस जन राष्ट्रिय लिग आयोजना गर्ने योजना बनाएको छ । जेठमा धुलिखेलमा भएको साधारण सभाबाट एन्फाले वार्षिक क्यालेन्डर पारित गर्दै शहीद स्मारक ए डिभिजन लिग २०८१ पुस १ गतेदेखि सुरु गर्ने उल्लेख गरेको थियो । त्यसपछि भदौमा क्लबहरूसँगको बैठकमा एन्फा आफैँले पुष ९ गतेदेखि होम एण्ड अवे फर्म्याटमा लिग गर्ने प्रस्ताव गर्यो ।
होम एण्ड अवे फर्म्याटमा पनि लिग नहुने अनी लिग कहिले र कसरी हुन्छ पनि एन्फाले भन्न सकेन । पत्रकार सम्मेलनमा एन्फा महसचिव किरण राईले टप टायर लिग हुने तर कस्तो लिग हुने भन्ने स्प्षट जवाफ दिन सकेनन् ।
‘अब छठपछि ए डिभिजन क्बलहरूसँग छलफल गर्छौँ अनी कुन मोडालिटीमा लिग गर्ने भन्ने थाहा हुन्छ’ एन्फा महासचिव राईले भने ।
होम एण्ड अवे फर्म्याटमा ए डिभिजन लिग हुने सम्भावना नदेखिएपछि एन्फाले नै क्लबहरूसँग राष्ट्रिय लिग आयोजना गर्ने विषयमा गोप्य छलफल गरेको थियो । तर क्लबहरूले एन्फासँग त्यसको पनि स्पष्ट मोडालिटी माग गरेको छ ।
एन्फाले न त लिगको स्पष्ट मोडालिटी तय गर्न सकेको छ न त कस्तो शैलीमा लिग हुन्छ भन्न नै सकेको छ । ‘अब क्लबहरूसँग छलफल गरेर कुन लिग गर्ने भन्ने निर्णय गर्नेछौं’ राईले भने । यस्तोमा नेपाली फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग फेरि अन्योल बनेको छ ।
संकटा क्लबका अध्यक्ष समेत रहेका एन्फा सिइओ इन्द्रमान तुलाधरले पनि क्लब र एन्फाबीचको छलफलपछि कुन मोडालिटीमा लिग गर्ने निर्णय गरिने बताए ।
ए डिभिजन लिग वा राष्ट्रिय लिग जुन आयोजना भएपनि यसको विजेताले एएफसीको क्लब प्रतियोगितामा भाग लिन पाउने उनको दावी छ । तर एएफसीको क्लब प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्सिङ आवश्यक पर्छ । अहिले नेपालको कुनै पनि क्लबसँग एएफसी क्लब लाइसेन्सिङ छैन । लिग पनि नहुने र एएफसी क्लब लाइसेन्सिङ पनि नहुँदा नेपालको क्लबले महादेशिय क्लब प्रतियोगितामा खेल्ने अवसर गुमाएको थियो ।
पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि अहिलेसम्म जम्मा एक पटक मात्र लिग आयोजना भएको छ । २०७९ सालमा सुरु भएको लिग २०८० साल जेठमा सम्पन्न भएको थियो । त्यसपछि विभिन्न बहानामा शहीद स्मारक ए डिभिजन लिग आयोजना हुन सकेन ।
एन्फा महासचिव राईले बी डिभिजन लिग ढिला भएकोले ए डिभिजन लिग पनि ढिला भएको भन्दै टालटुले जवाफ दिए ।
एन्फा लिग गर्न नचाहने क्लबहरू लिग खेल्न नचाहने जस्तो देखिँदा अहिले खेलाडीहरू भने मुख्य मारमा परेका छन् । नेपालमा लिग नभएपछि कप्तान किरण चेम्जोङ, अन्जन विष्टसहित ८ खेलाडीहरू अहिले बंगलादेशी लिगमा आबद्ध भएर खेलिरहेका छन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षले अध्यक्षको राजीनामा माग गरेको विषयमा महासचिव राईले वरिष्ठ उपाध्यक्ष जत्तिको व्यक्तिले कार्यसमिति भित्रै यो कुरा राख्नुपर्ने र पदिय मर्यादा सम्झनुपर्ने बताए ।
प्रतिक्रिया 4