+

एन्फामा ‘अर्ली इलेक्सन’को माग

२०८२ असोज  २७ गते १८:०४ २०८२ असोज २७ गते १८:०४
एन्फामा ‘अर्ली इलेक्सन’को माग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०७८ सालमा तत्कालीन एन्फा प्रवक्ता किरण राईले अर्ली इलेक्सनको माग राखेका थिए र अहिले उनी एन्फाको महासचिव छन्।
  • एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितले नेतृत्वको काममा असफलता भन्दै अर्ली इलेक्सनको माग गरेका छन्।
  • खड्काले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पदबाट राजीनामा दिनुपर्ने र नेतृत्वले फुटबलको चिन्ता नगरेको आरोप लगाए।

२७ असोज काठमाडौं । २०७८ सालमा तत्कालीन एन्फा प्रवक्ता किरण राईले प्रवक्ताबाट राजीनामा दिएर एन्फामा ‘अर्ली इलेक्सन’ हुनुपर्ने माग राखेका थिए । त्यतिखेर उनले नेतृत्वले काम गर्न नसकेको भन्दै अर्ली इलेक्सन हुनुपर्ने बताएका थिए ।

अहिले उनै राई एन्फाको महासचिव पदमा छन् । तर उनै राईसहित नेतृत्वले काम गर्न नसकेको भन्दै फेरि एन्फामा अर्ली इलेक्सनको माग उठेको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतसहितले शहीद स्मारक ए डिभिजन लिग गर्न नसकेको भन्दै एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले एन्फाको अर्ली इलेक्सन हुनुपर्ने माग राखेका छन् ।

सोमबार खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्य सद्वय रोविन चन्द र रुपेश अधिकारीले पत्रकार सम्मेलन गर्दै अहिलेको नेतृत्वले संवेदनशील घटनामा उदासीनता, सरोकारवालाको बेवास्ता, लिग सञ्चालनमा उदासीनता, अन्तर्राष्ट्रिय खेल सञ्चालनमा असफलता, अपारदर्शी आर्थिक गतिविधि र खेलाडी प्रोत्साहनमा कमी भएको आरोप लगाए ।

‘लिग गर्ने जिम्मेवारी हाम्रो पनि हो तर मुख्य जिम्मेवारी अध्यक्षको हो नि । आज उहाँ नेपालमा हुनुहुन्न । अब पनि मान्नुभएन भने हामी अर्ली इलेक्समा जान्छौं’ पत्रकार सम्मेलनमा खड्काले भने, ‘फिफालाई पत्र काट्छौं । स्टेकहोल्डरसँग कुरा गर्छौं होइन भने अल अर्ली इलेक्सनमा जानुपर्छ।’

यस्तै ए डिभिजन लिग गर्न नसक्ने एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पदबाट राजीनामा दिनुपर्ने खड्काले बताए । ‘यदि तपाई फुटबल नगर्ने हो भने तपाईलाई फुटबल प्रति आस्था र चिन्ता छैन भने तपाई राजीनामा दिनुस् । तपाइले राजीनामा दिनुस् पंकजजी । हामी फुटबल गर्छौं । म एक्लै वा चार जनाले गर्ने होइन एन्फा कार्यसमिति, स्टेकहोल्डर सबै मिलेर गर्ने हो । हामीले पनि गर्न सकेनौं भने हामी राजीनामा दिन्छौं’ खड्काले भने ।

उनले २०७९ सालको ए डिभिजन लिग डबल राउण्ड रोविनको आधारमा गर्दा आफ्नै संयोजकत्वमा लिग सम्पन्न भएको र त्यसपछि लिग नभएको आरोप लगाए ।

नेतृत्वले भोटको फुटबल भन्दा भोटको राजीनिति गरेको र नेपाली फुटबलको कुनै चिन्ता नभएको खड्काले आरोप लगाए । ‘तपाईँहरु खाली विदेश भ्रमण मात्र गर्ने हो कि, नेपाली फुटबलको चिन्ता लिने हो?’ उनले प्रश्न गरे ।

यस्तै नेपाली पुटबल अहिले तासको घर जस्तै बनेको र यो कुनै पनि बेला ढल्न सक्ने खड्काले बताए । ‘नेपाली फुटबल, एन्फा तासको घर भइसक्यो । कुन बेला तासको घर भत्कन्छ र हामी सबैलाई हान्छ । मलाई कम हान्ला तर अध्यक्ष, महासचिवलाई धेरै हान्छ’ उनले भने ।

वरिष्ठ उपाध्क्ष खड्काले जेनजी आन्दोलनले बलियो सरकार समेत ढलाएको उदाहरण दिँदै एन्फा नेतृत्व पनि ढल्न कुनै बेर नलाग्ने बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अर्ली इलेक्सन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय