+

ए डिभिजन लिगको व्यवस्थापनमा सुधार गर्न क्लबहरुको माग

२०८२ असोज  २५ गते २२:१४ २०८२ असोज २५ गते २२:१४
ए डिभिजन लिगको व्यवस्थापनमा सुधार गर्न क्लबहरुको माग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ए डिभिजनका ९ क्लबहरुले शहीद स्मारक ए डिभिजन लिग आयोजनाका लागि स्वतन्त्र लिग कमिटी बनाउनुपर्ने माग राखेका छन्।
  • क्लबहरुले एन्फासँग ११ बुँदामा सुझाव दिएर लिगको संरचना, व्यवस्थापन र होम एन्ड अवे प्रणाली सुधार गर्नुपर्ने बताएका छन्।
  • क्लबहरुले म्याच फिक्सिङ्ग विरुद्ध कानुनी निकाय निर्माण गर्नुपर्ने र एएफसी क्लब लाइसेन्सिङ मापदण्ड पुरा गराउनुपर्ने माग राखेका छन्।

२५ असोज, काठमाडौं । ए डिभिजन क्लबहरुले शहीद स्मारक ए डिभिजन लिग आयोजनाका लागि स्वतन्त्र लिग कमिटी बनाउनुपर्ने माग राखेका छन् ।

ए डिभिजनका ९ क्लबहरुलेले शनिवार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ए डिभिजन लिगको संरचनामदेखि व्यवस्थापनसम्म सुधार गर्नुपर्ने र स्वतन्त्र कमिटी बनाएर लिग सञ्चालन गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष रहेका कर्मा छिरिङ शेर्पाको नेतृत्वमा ९ क्लबले एन्फालाई अब हुने लिग कस्तो हुनुपर्छ भनेर ११ बुँदामा सुझाव दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

एन्फाले आगामी पुष ९ गतेदेखि सुरु गर्ने गरी प्रस्ताव गरिएको ‘होम एन्ड अवे’ लिगका बारेमा छलफल गर्न असोज २६ गते क्लबहरुलाई बोलाएको थियो । त्यसको एक दिनअघि ९ ए डिभिजन क्लबले पत्रकार सम्मेलन गर्दै ए डिभिजन लिगको संचरना देखि व्यवस्थापन लगायत विषयमा सुधार गर्नुपर्ने माग राखेका हुन् ।

‘हामीले यो सुझाव इमेलमार्फत एन्फामा पठाएका छौँ । भोलीको छलफलमा पनि हाम्रो यसैलाई प्रस्ताव र सुझावको रुपमा राख्नेछौँ ।’ एन्फा पूर्व अध्यक्ष शेर्पाले पत्रकार सम्मेलनमा भने ।

एन्फाले यसअघि ए डिभिजन क्लबहरुसँगको छलफलमा ए डिभिजन लिग होम एण्ड अवेका आधारमा सञ्चालन गर्न प्रस्ताव गरेको थियो र त्यसमा अझ विस्तृत छलफल गर्ने तयारी गरेको थियो । तर जेनजी प्रदर्शनका कारण विभिन्न क्षेत्रमा असर पर्दा फुटबल गतिविधि समेत प्रभावित बनेको थियो ।

त्यसपछि एन्फाले ए डिभिजनका १४ क्लबहरुलाई पत्र पठाउँदै असोज २६ गतेका लागि ए डिभिजन लिग र रोकिएको एन्फा यू-१६ युथ लिगको बारेमा छलफल गर्न बोलाएको थियो ।

त्यसको अघिल्लो दिन क्बलहरुले पत्रकार सम्मेलन गर्दै लिगको संरचना, होम एण्ड अवे, एएफसी क्लब लाइसेन्सिङ लगायत विषयमा छलफल गर्नुपर्ने बताएको हो ।

क्लबहरुले ए डिभिजन लिगलाई व्यवस्थित ढंगले आयोजना गर्न स्वतन्त्र लिग कमिटी बनाउनुपर्ने माग राखेका छन् । त्यसका लागि एसियाली फुटबल महासंघ (एएफसी)सँग समन्वय गरि लिग कमिटी गठन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

फुटबल खेललाई आर्थिक, कानुनी, निष्पक्ष तथा व्यवस्थित तरिकाले गर्न स्वतन्त्र लिग कमिटी बनाउनुपर्ने क्लबहरुको माग छ ।

त्यस्तै क्लबहरुले ‘होम एन्ड अवे’ खेलका लागि क्लबको आफ्नै मैदान हुनुपर्ने मापदण्ड रहेकोले एन्फाले कम्तिमा १० वर्षको लागि मेदानको लागि सहजीकरण गर्न माग राखेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय प्रचनल अनुसार ‘टिम लजिस्टिक’ र खेल सञ्चालनका लागि खर्च उपलब्ध गराउनुपर्ने, लिगमा शीर्ष ६ मा रहने क्लबहरुको पुरस्कार रकम बढाउनुपर्ने माग राखेको छ ।

यस्तै म्याच फिक्सिङ्ग, म्याच म्यानुपुलेशन, वेटिङ्ग र खेल भावना विपरितका सम्पूर्ण कार्यहरुलाई पूर्ण निरुत्साहित गर्न नेपालको प्रचलित कानुन अनुसार कार्यन्वयन गर्न सम्बन्धित निकायसंग समन्वय गरि अधिकार सम्पन्न निकाय निर्माण गर्नुपर्ने पनि क्लबहरुको माग छ ।

एएफसी अन्तर्गतका खेलहरुमा लिग च्याम्पियन र अन्य क्लबहरुले सहभागिता जनाउनु पर्ने भएकोले एन्फाले लिग अगाडि नै एएफसी र एन्फाको क्लब लाईसेन्सीङको मापदण्ड पुरा गराउन सक्ने वातावरण निर्माण गराउनुपर्ने क्लबहरुले जनाएको छ ।

यस्तै लिगो लागि प्रतियोगिता नियमावली र लिगको मोडल सम्बन्धित क्लबहरुसंगको सहमती र छलफलबाट तय गर्नुपर्ने र लिग शुरु हुने र अन्त्य हुने स्थायी समयअवधि सुनिश्चितता सहितको खेल तालिका निर्माण गर्नु पर्ने पनि उनीहरुको माग छ ।

यसैगरी लिग सञ्चालनको लागि टाइमलाइन बनाएर अघि बढनुपर्ने उनीहरुको माग छ ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा हिमालयन शेर्पा क्लब, एनआरटी, फ्रेन्ड्स, श्री भगवती, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र मछिन्द्र क्लबका प्रतिनिधिको हस्ताक्षर थिए ।

ए डिभिजनमा रहेका तीन विभागीय क्लबसहित जावालखेल युथ क्लब र प्लानिङ ब्वाइज भने पत्रकार सम्मेलनमा थिएनन् ।

शहीद स्मारक ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय