News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एएफसी एसियन कप छनोटमा लगातार चौथो हार बेहोरेको छ र भियतनामसँग १-० ले पराजित भएको छ।
- नेपालले भियतनाम विरुद्धको घरेलु खेल दशरथ रंगशालमा खेल्न नपाएर भियतनाममै खेल्नुपरेको हो।
- रोहित चन्दले आजको खेलबाट नेपालका लागि १००औं क्याप पूरा गरेका छन् र नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिएको छ।
२८ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले लगातार चौथो हार बेहोरेको छ । समूह एफ अन्तर्गत मंगलबार भियतनाम विरुद्धको होम म्याचमा नेपाल १-० ले पराजित भएको हो । यस हारसँगै नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिएको छ ।
यसअघि भियतनाम विरुद्धको अवे खेलमा ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भियतनाम विरुद्ध कडा टक्कर दिएपनि पराजित भयो ।
हो चि मिन सिटीस्थित थोङ न्हाट स्टेडियममा भएको खेलमा नेपालमा सुमन श्रेष्ठले पहिलो हाफमा गरेको आत्मघाती गोलमा भियतनाम विजयी भएको हो । पाँचौं मिनेटमा सुमनबाट आत्मघाती गोल भएको थियो ।
खेलमा भियतनामले नेपाल विरुद्ध लगातार आक्रमण गरेपनि कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दा भियतनामले गोल थप्न सकेन ।
नेपालले भियतनाम विरुद्ध आजको खेल घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशालमा एसियन कप छनोट खेल खेलाउन अयोग्य हुँदा भियतनाममै गएर खेल्नुपरेको हो ।
आजको खेलबाट रोहित चन्दले नेपालका लागि १००औं क्याप जितेका छन् । उनी नेपालका लागि एक सय खेल पूरा गर्ने कप्तान किरण चेम्जोङपछि दोस्रो खेलाडी हुन् ।
लगातार चार खेलमा पराजित भएपछि नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ र दुई खेल खेल्नुअघि नै समूह चरणबाटै बाहिरिएको छ ।
यसअघि मलेसियासँग २-० ले पराजित भएको नेपाल लाओससँग २-१ ले पराजित भएको थियो । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।
चार खेल हारेको नेपाल अंकविहिन हुँदै पूछारमा छ । भियतनाम ४ खेलबाट ९ अंकसहित दोस्रोमा छ । आजै भएको अर्को खेलमा मलेसियालाे लाओसलाई ५-१ ले पराजित गरेको छ । मलेसिया १२ अंकसहित शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4