+

विश्व कराते च्याम्पियनसिप छनोटमा एरिकासहित ४ खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८२ असोज  २८ गते २१:०७ २०८२ असोज २८ गते २१:०७
विश्व कराते च्याम्पियनसिप छनोटमा एरिकासहित ४ खेलाडीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालबाट एरिका गुरुङसहित ४ खेलाडीले फ्रान्सको पेरिसमा अक्टोबर १७ देखि १९ सम्म हुने विश्व कराते च्याम्पियनसिप छनोटमा प्रतिस्पर्धा गर्नेछन्।
  • छनोटमा महिलातर्फ एरिकाले ६८ केजीमाथि, सविना श्रेष्ठले ५५ केजीमुनी, वर्षा बुढाले ५० केजीमुनी र स्वनिम मानन्धरले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन्।
  • छनोटमा शीर्ष ६ स्थानमा रहने खेलाडी नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको काइरोमा हुने विश्व कराते च्याम्पियनसिपका लागि छनोट हुनेछन्।

२८ असोज, काठमाडौं । फ्रान्समा हुने विश्व कराते च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपालबाट एरिका गुरुङसहित ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

फ्रान्सको पेरिसमा यही अक्टोबर १७ देखि १९ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स प्रस्थान गर्दैछ ।

नेपालबाट तीन महिला र एक पुरुष खेलाडीले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ एरिकाले ६८ केजीमाथि, सविना श्रेष्ठले ५५ केजीमुनी र वर्षा बुढाले ५० केजीमुनी प्रतिस्पर्धा गर्नेछन् भने स्वनिम मानन्धरले पुरुष एकल कातामा आफ्नो कौशल प्रस्तुत गर्नेछन् ।

स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यस छनोट प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणका लागि छनोट हुने छन् ।

छनोटअघि नै हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउने छन् । बाँकी २ खेलाडी विश्वविद्यालय कोटाबाट छानिने छन् ।

विभिन्न १२ स्पर्धा समावेश छनोटमा ५ सय ४९ खेलाडी सहभागी हुने छन् । नेपालबाट सानुमाया थिङले यसअघि नै इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा स्थान पक्का गरिसकेकी छन् । उनले महिला एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । पेरिसमै अक्टोबर १६ मा हुने प्रशिक्षक परिक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै जाने छन् । उनले टोली व्यवस्थापकको भूमिका पनि निर्वाह गर्ने बताइएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उप निर्देशक दीपक श्रेष्ठले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य सचिव घिसिङले इतिहास रच्ने सुनौलो अवसर भएकाले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न बताए ।

एरिका गुरुङ विश्व कराते च्याम्पियनसिप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय