+
+

नवलपरासी १ मा विनोद चौधरी र हृदयेश त्रिपाठीको कडा टक्कर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १९:५८

१ मंसिर, नवलपरासी । नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरी मनोनयन दर्ता गरेदेखि नै भोट माग्न निरन्तर आफ्नो क्षेत्रमा खटिएका छन् ।

चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा होमिएका उनी महँगो ल्याण्डरोभर गाडीबाट ओर्लिएर कहिले मोटरसाइलमा त कहिले अटो रिक्सा चढेर मतदाताको घर पुगेका छन् । चौधरीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको पनि समर्थन छ ।

कांग्रेस उम्मेदवार चौधरीलाई यहाँ जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले टक्कर दिएका छन् ।

त्रिपाठी पनि यहाँ एक्लै छैनन् । एमालेको सूर्य चिह्नबाट २०७४ को चुनाव जितेका उनलाई यसपटक पनि एमालले काँध दिएको छ । एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टीको समर्थन पनि त्रिपाठीलाई छ ।

यो क्षेत्रमा चौधरी र त्रिपाठीसहित १८ जना चुनावी मैदानमा छन् । तर मुख्यप्रतिस्पर्धा उनीहरु दुईबीच नै देखिएको छ । दुवै पक्षमा उम्मेदवार आफूले जित्ने दाबीसहित चुनावी मैदानमा खटिएका छन् ।

प्रतापपुर गाउँपालिका–३ का कांग्रेस कार्यकर्ता अनोज यादवले चौधरी ५ देखि १० हजार मतान्तरले चुनाव जित्ने दाबी गर्छन् । ‘यस क्षेत्रमा पर्ने ३४ वडामध्ये २५ वडाअध्यक्ष कांग्रेसले जितेको छ । यसअन्तरगत पर्ने पालिकाका प्रमुख/उपप्रमुख पनि कांग्रेसले जितेको छ । सांगठनिक रुपमा बलियो भएकाले हामीलाई चुनाव जित्न सहज छ’ यादवले दाबी गरे ।

अहिलेका मतदाताले नयाँ अनुहार खोजेकाले पनि चौधरीले जित्ने उनको दाबी छ । ‘विकासका एजेण्डाले पनि मतदाता चौधरीप्रति आकर्षित छन्’, यादवको तर्क छ ।

सुस्ता गाउँपालिका-२ का एमाले कार्यकर्ता सन्तोष पाठक भने चौधरी बाहिरबाट आएकाले उनलाई मतदाताले नरुचाएको दाबी गर्छन् । ‘यहाँका मतदाताले स्थानीय उम्मेदवार खोजेका छन् । पैसाले सबै थोक हुन्छ भन्ने भ्रममा मतदाता छैनन् । व्यापारीले राजनीति गरेर विकास सम्भव छैन भन्ने सबैमा परेकाले एमालेको समर्थनमा उठेका त्रिपाठीले जित्छन्’, उनले दाबी गरे ।

स्थानीय निर्वाचनको मत परिणाम अनुसार एमाले, जसपा र जनता प्रगतिशील पार्टीको मत जोड्दा त्रिपाठीको पक्षमा ३४ हजार ९९९ रहेको छ ।

कांग्रेसे गठबन्धनको मत जोड्दा चौधरीको पक्षमा ३७ हजार ९० छ । तर केन्द्रमा भएको सहमति विपरीत कांग्रेसले प्रदेशसभा २ मा उम्मेदवार उठाएर आफूलाई धोखा दिएको भन्दै माओवादी केन्द्र असन्तुष्ट छ । प्रदेश सभा २ मा कांग्रेस र माओवादीका आ–आफ्नै उम्मेदवार छन् । यही किचलोका कारण चौधरीले माओवादीको मत नपाए त्रिपाठीलाई सहज हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?