+
+

रवि उम्मेदवार बने हराएर पठाउने चितवन कांग्रेसको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १६:०१

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन उम्मेदवार भए हराएर पठाउने चितवन कांग्रेसले दाबी गरेको छ ।

नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन–२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए कांग्रेसका लागि सहज हुने बताए ।

‘३२ दिनमा गृहमन्त्री हुँदा उहाँले के गर्नुभयो । चितवनका मतदाताले बुझिसकें,’ खनालले भने । नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको उनले बताए ।

नयाँ दल र रविको तरंगले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने खनालले दाबी गरे । कांग्रेस निकट चितवन–काठमाडौं सम्पर्क समितिले गरेको पत्रकारसँगको भेटघाटमा उनले भने,‘गठबन्धन गरे जितिहालिन्छ नि भन्ने कांग्रेसलाई भयो । कार्यकर्तामा हार्मोनी पनि हुन सकेन ।’

सभापति शेरबहादुर देउवालाई भेटेर चितवन-२ को उप निर्वाचनका बारेमा दुई दिन अघि छलफल गरेको उनले बताए । उम्मेदवारको आकांक्षी आफू रहेपनि जिल्ला सभापति भएको हुँदा अघि सरेर दाबी गर्न नमिल्ने खनालले सुनाए । जुनसुकै व्यक्तिलाई टिकट दिएपनि पार्टीका आन्तरिक संरचनामा प्रतिस्पर्धा गरेकालाई उम्मेदवार बनाउन सभापतिलाई सुझाव दिएको उनले बताए ।

गत निर्वाचनमा चितवन–२ बाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ कांग्रेसबाट उम्मेदवार बनेका थिए । श्रेष्ठले स्थानीय तहमा हुने पार्टी भित्रको अधिवेशनमा निर्वाचित हुँदै आएका थिएनन् । कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठलाई भौगोलिक अवस्था र कार्यकर्ता चिनाउनु पर्ने समस्या समेत पार्टीलाई उनले सुनाए । ‘बाटो र कार्यकर्ता चिनाउँदा चिनाउँदै मतदाता चिनाउन भ्याइएन,’ खनालले भने ।

गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले कांग्रेसका उम्मेदवार श्रेष्ठलाई फराकिलो मतान्तरले हराएका थिए । लामिछानेले ४९ हजार ३०० मत प्राप्त गर्दा श्रेष्ठले १४ हजार ९८८ र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ मा पुन निर्वाचन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?