
२७ माघ, गोरखा । गोरखा नगरपालिका-११ मा रहेको चन्द्रज्योति आधारभूत विद्यालयको मतदान केन्द्र अन्यत्र सार्न सिफारिस गरेपछि स्थानीयले विरोध गरेका छन् ।
आफूहरुसँग आवश्यक छलफल नगरी वडाध्यक्षले गरेको एकल निर्णयको आधारमा केन्द्र सार्न सिफारिस गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
हाल रहेका मतदान केन्द्रहरु पायक नपर्ने भएमा उपयुक्त स्थान सिफारिस गर्न भन्दै माघ १३ गते जिल्ला निर्वाचन कार्यालयले सबै पालिकालाई पत्राचार गरेको थियो ।
सोही पत्राचारको आधारमा गोरखा नगरपालिकाले वडा-११ स्थित चन्द्रज्योति आधारभूत विद्यालयको मतदान केन्द्र वडा कार्यालयको भवनमा सार्न सिफारिस गर्यो । तर वडाध्यक्षको एकल निर्णयको आधारमा स्थान सिफारिस गरेको भन्दै स्थानीयहरुले असन्तुष्टी जनाएका छन् ।
‘मतदान केन्द्र सार्नका लागी सर्वपक्षीय भेला गरेर निर्णय गर्नुपर्थ्यो,’ स्थानीय अनिल कुवँरले भने, ‘तर यहाँ वडाध्यक्ष एक्लैले निर्णय गरेर पठाए, त्यसकै आधारमा नगरपालिकाले सिफारिस गर्यो ।’ विधि र प्रक्रिया अनुसार मतदान केन्द्रको स्थान सिफारिस गर्नुपर्ने उनको माग छ ।
स्थान सिफारिसका लागि वडाध्यक्षले आफूहरुसँगसमेत छलफल नगरेको वडा सदस्यहरुको गुनासो छ । ‘वडाध्यक्षले वडा कार्यसमितिको बैठक पनि राख्नुभएन, आफू एक्लैले निर्णय गरेर पठाउनुभएछ,’ वडा सदस्य अप्सरा रेग्मी नेपालीले भनिन्, ‘मतदान केन्द्र सिफारिस गरिएको भनेर समाचार आएपछि मात्र हामीले थाहा पायौ ।’
मतदान केन्द्र हेरफेरको निर्णय स्थगित गरिदिन माग गर्दै वडा सदस्यहरुले जिल्ला निर्वाचन कार्यालयमा निवदेन बुझाएका छन् । वडा कार्यसमितिको समेत सहमति नभएकाले निर्णय स्थगित गर्न माग गरिएको निवेदनमा उल्लेख छ ।
स्थानीय तथा राजनीतिक दलका वडा प्रतिनिधिहरुले समेत असन्तुष्टि जनाएका छन् । मतदान केन्द्र सिफारिस प्रक्रिया स्थगित गर्न माग गर्दै उनीहरुले निर्वाचन आयोगलाई पत्र समेत बुझाएका छन् । यसबारे वडाध्यक्ष रामबहादुर खड्कासँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
प्रतिक्रिया 4