+
+
Shares

केन्द्रको दबाबपछि आइतबार विद्यालय खोल्ने निर्णयबाट पछि हट्यो गोरखा नगरपालिका

विकास मरहट्टा विकास मरहट्टा
२०८३ जेठ १ गते ८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा नगरपालिकाले साताको दुई दिन बिदा दिने संघीय सरकारको निर्णय कार्यान्वयन गराउन आइतबार शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय फिर्ता लिएको छ।
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई दुई दिने बिदा कार्यान्वयन गर्न पत्राचार गर्दै दबाब दिएको थियो।
  • नगरपालिकाले कक्षा ५ र ८ को परियोजना तथा प्रयोगात्मक कार्यको विवरण शिक्षा शाखामा बुझाउन आग्रह गरेको छ।

१ जेठ, गोरखा । आइतबार शैक्षिक संस्थाहरु सञ्चालन गर्ने निर्णयबाट गोरखा नगरपालिका पछि हटेको छ ।

साताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय कार्यान्वयन गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दबाब दिएपछि नगरपालिकाले आफ्नो निर्णय फिर्ता लिएको हो । केन्द्रले मंगलबार पत्राचार गर्दै सबै स्थानीय तह तथा विद्यालयलाई संघीय सरकारले गरेको दुई दिने बिदा कार्यान्वयन गराउन निर्देशन दिएको थियो ।

यसअघि साताको दुई दिन बिदा दिने संघ सरकारको निर्णय व्यवहारिक नभएको भन्दै गोरखा नगरपालिकाले आइतबार शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको थियो । गत वैशाख २५ गते बसेको नगर कार्यपालिका बैठकले आइतबार नगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नगर शिक्षा समिति संयोजक रहमतुल्ला मियाँका अनुसार आइतबार बिदा गर्दा पाठ्यक्रम अनुसार ‘क्रेडिट आवर’ नपुग्ने भएकाले विद्यालय सञ्चालन गर्ने निर्णय भएको थियो । आइतबार विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसवापत शिक्षकहरुलाई छुट्टै पारिश्रमिक दिने नगरपालिकाको तयारी थियो ।

तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गर्दै आइतबार पनि बिदा दिन दबाब दिएपछि नगरपालिका आफ्नो निर्णयबाट पछि हटेको हो ।

नगरपालिकाले बिहीवार सूचना जारी गर्र्दै केन्द्रको पत्राचार अनुसार विद्यालय सञ्चालनको व्यवस्था मिलाउन विद्यालयहरुलाई आग्रह गरेको छ ।

साथै कक्षा ५ र ८ को पाठ्यक्रमले तोके बमोजिमको परियोजना तथा प्रयोगात्मक कार्यको सम्पूर्ण विवरण र नतिजा शिक्षा शाखामा बुझाउनुपर्ने भएकाले सो अनुरुप कार्य गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?