+
+

राप्रपाले प्रदेश १ सरकार तत्काल नछाड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १२:५७

१४ फागुन, विराटनगर । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो ।

राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उनले बताए ।

‘अन्य प्रदेशको तुलनामा प्रदेश १ विशिष्ट परिस्थितिको छ,’ उनले भने, ‘हाम्रा कारणले अस्थिरता नहोस भन्ने चाहन्छौं ।’ प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न पार्टीको प्रदेश समितिले बैठक बोलाएको उनले बताए ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसकेका छन् ।

हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ सरकारमा राप्रपाबाट सिटौला मन्त्री भएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा नेकपा एमालेको सहयोगमा प्रत्यक्ष तर्फ दुई सिट जितेको राप्रपा एमालेसँग नजिक छ । एमाले र राप्रपा एक ठाउँमा उभिए ४६ मत पुग्छ । कांग्रेस माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपाको गठबन्धनको मत पनि (सभामुख बाहेक) ४६ नै पुग्छ ।

प्रदेशमा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छैन । माओवादी केन्द्र र जसपा सरकारबाट बाहिरिए मुख्यमन्त्री कार्की अल्पमतमा पर्नेछन् ।प्रदेश १ प्रदेशसभामा एमालेका ४०, प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?