+
+

माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव

रासस रासस
२०७९ फागुन २० गते १८:४७

२० फागुन, काठमाडौँ। विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको देखिन्थ्यो ।

माइतीघर सडक भइ आवतजावत गर्ने सर्वसाधरणदेखि सवारी साधनमा घुइँकिनेहरुले पनि माइतीघर पुगेपछि क्षणिक रुपमा भए पनि फरक दृश्यको दृश्यावलोकन गर्न भ्याए ।

दैनिक विभिन्न समूहको आन्दोलन भइरहने माइतीघरमा आजको दृश्यलाई सबैले उत्सुकतापूर्वक लिएका थिए । फागुको रङ्ग र अबिरले माइतीघरको सडक रङ्गिएको थियो । जम्मा भएका व्यक्तिको रङ्गले रङ्गीचङ्गी वेशभूषाले भिडतर्फ आकर्षण पर्थ्यो । त्यो दृश्यले सडकको माहोललाई बेग्लै उल्लासमय बनाएको थियो । माइतीघर मण्डलामा रङ्गिएको रङ्गमा झुम्मिएको जनसाधारणको भिडले कार्यक्रमको महिमा बढाएको थियो ।

आन्दोलनका क्रममा हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि हातहतियारसहित सुरक्षा पहरा दिइरहेका उल्लेख्य संस्थाका प्रहरी र सङ्घर्षरत समूहको हूललाई देखिरहनेका लागि बिल्कुल फरक दृश्य भएकाले उनीहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनु स्वाभाविक पनि थियो ।

मिथिला संस्कृति समाजले आयोजना गरेको उक्त फगुवा महोत्सवलाई उल्लासमय बनाउन मिथिला समाज र परिवार मात्र होइन आम सर्वसाधरणको साथले कार्यक्रमको रौनक थपेको थियो ।

त्यसै पनि माइतीघर मण्डलाको रङ्गीचङ्गी दृश्यलाई वसन्तको सङ्घारमा रङ्गीचङ्गी फूल र बोटबिरुवाका साथै मण्डला आसपास बनेका गगनचुम्बी आकर्षक भवनले सहजै ध्यान खिचिरहेको हुन्छ । सधैँ देखिरहनेभन्दा शनिबारको फरक दृश्यले जो कोहीलाई मोहित तुल्याउँथ्यो ।

होलीको पूर्वसन्ध्यामा होली पर्वको महत्व र महिमाबारे मिथिला संस्कृतिभन्दा फरक समुदायलाई जानकारी गराउने उद्देश्यले फगुवा महोत्सव आयोजना गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले बताए ।

उनले तराई/मधेसमा फगुवाका रुपमा चिनिने होली पर्वका अवसरमा काठमाडौँमा बसोबास गर्ने तराईवासीलाई एक ठाउँमा जम्मा पारेर अन्य समुदायलाई पनि देखाउने लक्ष्यका साथ फगुवा उत्सव मनाइएको उल्लेख गरे ।

होलीको सामाजिक, सांस्कृतिक र धार्मिक महत्व छ । सहरलाई मिथिला संस्कृतिको सन्देश दिन फगुवा पर्व मनाइएको अध्यक्ष ठाकुरले बताए । विभिन्न पेसा व्यवसायको सिलसिलामा काठमाडौँमा बसोबास गर्ने तराई–मधेसका विभिन्न समुदायबीच होलीको माध्यमबाट आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न महोत्सव गरिएको हो ।

मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले होलीको माध्यमबाट सामाजिक र सांस्कृतिक अन्तरघुलनको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताए । उनले भने, ‘विभिन्न समुदायबीच सामाजिक अन्तरघुलन गरी एकताको सन्देश दिने उद्देश्यले यो कार्यक्रम गरिएको हो ।

तराई/मधेशमा बसोबास गर्नेहरु चाहे ती अवध, भोजपुरा र मिथिला हुन् होलीका अवसरमा आ-आफ्नो ठाउँमा जान्छन् । आफ्नो थातथलोमा जानुपूर्व काठमाडौँमा जम्मा पारेर अन्य समुदायलाई पनि सांस्कृतिक एकताको सन्देश दिन यो सान्दर्भिक हुनेछ।’

मिथिला समुदायका मानिसले डम्फु, झ्याली, हार्मोनियमलगायतका बाजागाजाका साथ एकापसमा खुसी र शुभकामना साटेर होली उत्सवका रुपमा मनाएका थिए । आयोगका अध्यक्ष डा. दत्तले भने, ‘यो नेपाली संस्कार र संस्कृति हो तर, तराईमा छुट्टै उल्लासका साथ छुट्टै किसिमले होली मनाउने परम्परा छ, त्यसको सन्देश अन्य समुदायलाई दिन र तराई, पहाड, हिमाल सबै एकै कोही छैन पराइ भनेर सन्देश दिनका निम्ति पनि यो कार्यक्रम गरिएको छ।’

सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यले मिथिला संस्कृतिको पुरानो इतिहास होली पर्वलाई उल्लासमय बनाउन यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मधेसका विभिन्न खाले संस्कृतिलाई पहाड र हिमालमा नपुर्‍याएसम्म एकताको भावना विकास हुँदैन । हिमाल, पहाड र तराई कोही छैन पराइ भन्ने एकताको सन्देश दिन यो अभियानले सहयोग पुग्नेछ।’

समाजले अघिल्लो वर्ष पनि माइतीघर मण्डलामा फगुवा कार्यक्रम आयोजना गरेको थियो। समाजले संस्कृतिको जगेर्ना, मिथिला र मधेसको संस्कृति उत्थान विकासमा विभिन्न भूमिका निर्वाह गर्दै आएको छ । यो उत्सवमा कुनै पनि किसिमको मदिराजन्य पदार्थको प्रयोग हुन दिइँदैन ।

मालपुवा, बदाम, नरिवल, सुपाडी, छोकडा, किसमिसको मिष्ठान्न परिकारसहित अबिर दलेर यो पर्व मनाइएको हो । कुनै स्थान विशेषमा गर्दा सीमित मानिसले मात्रै फगुवाको महत्वबारे बुझ्ने भएकाले सडकमा गर्दा आम मानिसले जानकारी लिनसक्ने भएकाले साङ्केतिक रुपमा उत्सव आयोजना गरिएको अध्यक्ष ठाकुरले बताए ।

‘जबसम्म हाम्रा सांस्कृतिक पर्वहरु, आयामहरु बलियो हुँदैनन् तबसम्म हाम्रो सांस्कृतिक एकता बलियो हुँदैन त्यसैले सामाजिक एकता, सांस्कृतिक सद्भाव र भाइचारा कायम गर्न हामी माइतीघरमा जम्मा भएका छौँ’, डा.दत्तले भने। ‘काठमाडौँ सहर, माइतीघरमा होली खेलिङ्गे’ जस्ता होली गीत गाएर धुमधामका साथ होली मनाइएको थियो ।

सांस्कृतिक एकताका रुपमा चिनिने हिन्दूहरुको महान् सांस्कृतिक पर्व होलीको पावन अवसरमा tतराई/मधेसका वरिष्ठ समाजसेवी तथा राजनीतिककर्मीहरुको उपस्थितिमा फगुवा प्रदर्शनी आयोजना गरिएको हो ।

तराई/मधेसमा पौराणिक कालदेखि नै विशेष उत्सवका रुपमा मनाउँदै आइरहेको र यस संस्थाको स्थापनाकालदेखि नै संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्नु रहेको अध्यक्ष ठाकुरले उल्लेख गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?