+
+
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल :

नेपालको नयाँ टिमलाई कमजोर प्रतिस्पर्धी

नमिता दाहाल नमिता दाहाल
२०७९ चैत ७ गते २०:५६

७ चैत, काठमाडौं । नयाँ मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बनाएको नेपालको नयाँ राष्ट्रिय फुटबल टिमले बुधबार पहिलो प्रतियोगिताको पहिलो खेल खेल्दैछ । आफूभन्दा कमजोर मानिएका भुटान र लाओसविरुद्धको प्रतियोगिता नेपालका लागि एउटा अवसरका रुपमा आएको छ ।

फिफा वरीयतामा लाओस र भुटान नेपालभन्दा पछाडि रहेका टिम हुन् । नेपाल वरीयतामा १७५ औं स्थानमा छ भने लाओस १८७ औं र भुटान १८५ औं स्थानमा छन् । तर वरीयताकै आधारमा मात्र कुनै पनि टिमलाई कमजोर आक्न हुँदैन । ९० मिनेटमा मैदानमा जसले राम्रो खेल्छ र गोल गर्छ त्यही टिमले फुटबल जित्छ ।

नेपालका प्रशिक्षक एनेस भन्छन्, ‘फिफा वरीयतालाई आधार मानेर कुनै पनि टिमलाई कमजोर अथवा बलियो भन्न हुँदैन । यी दुवै नेपालका लागि उत्तिकै प्रतिस्पर्धी टिम हुन् ।’

भुटान सन् २०१९ पछि पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिन लागेको टोली हो । लाओस पछिल्लो पटक खेलका ५ खेलमा जित बिहीन छ ।

२०१६ मा भएको एएफसी सोलिडारिटी कपमा लाओससँग निर्धारित समयमा २–२ को बराबरी खेलेको नेपालले टाइब्रेकरमा त्यो खेल जितेको थियो । त्यसपछि यी दुई टिम बुधबार दशरथ रंगशालामा आमनेसामने हुन लागेका छन् ।

नेपालको नयाँ टिम

प्रतियोगिताका लागि प्रशिक्षक एनेसले ६ जना नयाँ खेलाडीसहितको २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका छन् ।

१८ दिनअघि नेपाल आएका उनले नेपालको शिर्ष डिभिजनको लिगमा गरेको प्रदर्शनका अधारमा खेलाडी छानेका उनले खेलको अघिल्लो दिन मात्र टोली सार्वजनिक गरे ।

गोलकिपर अभिशेक बराल, डिफेण्डरहरू सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डहरु मणिकुमार लामा तथा फरवार्डहरू सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपल्ट टिममा परेका हुन् ।

मनाङ मर्स्याङदीबाट लिग खेलिरहेका सुमित र एपीएफबाट लिग खेलिरहेका मणि गत वर्ष ए डिभिजन फुटसल लिगको विजेता र उपविजेता टिमका प्रमुख खेलाडीसमेत थिए ।

उनले प्रतियोगितामा पूरै ९० मिनेट खेल्न सक्ने खेलाडीलाई क्षमताका आधारमा छनोट गरेको बताए । ‘खेलाडीको खेलप्रतिको झुकाव, खेल भावना तथा खेल शैलीलाई हेरेर मैले खेलाडी छनोट गरेको छु’, प्रशिक्षक एनेसले भने ।

केही क्षमतावान् खेलाडी विदेश पलायन भएकाले राष्ट्रिय टिममा संकट छ । तर लिगमा अरु पनि केही क्षमतावान् खेलाडी रहेको उनले बताए । केही क्षमतावान् खेलाडी चोटग्रस्त भएकाले टिममा नराखेको बताएका छन् । ‘अहिलेको टिममा मैले प्रतियोगिताका लागि सहि र पूर्णतया ठिक भएका खेलाडीलाई मात्र छनोट गरेको छु’, उनले भने, ‘मैले चाहेका केही खेलाडी घाइते भएका कारण टिममा परेका छैनन् ।’

पूर्व राष्ट्रिय टिमका धेरै खेलाडी विदेशिँदा नेपालको टिममा परिवर्तन भएको छ । कप्तान किरण लिम्बुले भने, ‘हामीसँगै खेलिरहेका धेरै खेलाडीहरु विदेशीएका कारण अहिले सबै नयाँ खेलाडीहरु छन् । नयाँ खेलाडी र नयाँ प्रशिक्षकको राणनीतिमा छोटो समय प्रशिक्षण गरे पनि हामी प्रतियोगिताका लागि तयार छौं ।’

उनले नेपाली टिम एक परिवार भएकाले यस प्रतियोगितामा एक जुट भई जितकै लागि खेल्ने बताए । ‘नयाँ खेलाडी र प्रशिक्षकसँग थोरै समय पाए पनि हामीले प्रशिक्षकको रणनीति सिकेर जितकै लागि एकजुट भएर खेल्नेछौं ।’

तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलका फर्कदै भुटान

२०१९ पश्चात पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको भुटानको भने प्रतियोगितामा सहभागिता जितकै लागि रहेको प्रशिक्षक पेमा दोर्जीले बताए । ‘हामी तिन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका छौं । हामी जितको लागि नै यहाँ आएका हौं ।’

‘हामी लिग पछि २ महिना तयारी गरेर यहाँ आएका हौं । हामी विगत ३ वर्षयता कुनैपछि अन्तर्राष्ट्रिय खेलेका छैनौं । तर हामी हाम्रो उत्कृष्ट दिनेछौं’, प्रशिक्षक दोर्जीले तयारीका बारेमा भने ।

भुटानले पछिल्लो समय २०१९को सेप्टेम्बर २९ र अक्टोबर ३ मा बंगलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा दुवै खेलमा भुटान बंगलादेशसँग पराजित भएको थियो । आधिकारीक प्रतियोगिता हेर्ने हो भने भुटानले २०१९ को साफ च्याम्पियनसिप पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

उमेर समुहमा राम्रो भएको भुटानले यस पटक युवा खेलाडीका साथमा नेपाल आएको छ । ‘उमेर समुहका खेलाडी र सिनियर खेलाडीको साथमा उनीहरुले राम्रो गर्नेछन्’, कप्तान चेन्चो ग्येल्त्सनले भने ।

त्रिदेशीय प्रतियोगिता खेल्न आएका चेन्चो दुवै प्रतिस्पर्धी उत्तिकै बलियो रहेको बताउँछन् । ‘प्रतिस्पर्धीको रुपमा भन्नुपर्दा नेपाल बलियो टिम हो र लाओसले राम्रो गरिरहेको छ ।’

लाओसको भविष्यको तयारी

नेपालसँगको खेलबाट प्रतियोगिता सुरु गर्न लागेको लाओसको टिम पनि नयाँ र युवा छ । लाओसले नेपालमा उपाधि भन्दा पनि अनुभव बटुल्ने लक्ष्य राखेको छ । त्यसैले लाओसका प्रशिक्षक माइकल विसले यो प्रतियोगिताले लाओस फुटबलको भविष्यका लागि निकै सहयोगी हुने बताउँछन् । उनले भने, ‘यो टिम अहिले निकै युवा छ । यो हाम्रो लागि राम्रो अवसर हो । हाम्रो युवा खेलाडीहरुलाई भविष्यका लागि राम्रो तयारी हो ।’

दक्षिण एसियाको राम्रो टिमहरुसँग खेल्नु लाओसको लागि पनि राम्रो अवसर भएको उनले बताए । ‘दक्षिण एसियाका राम्रो देशहरुसँग यसरी खेल्दै गर्दा हाम्रो क्षमता पनि सुधार हुनेछ ।’

लाओस नेपाली समर्थकबीच नेपालविरुद्ध खेल्न उत्साही छ । टिमका कप्तान सौकाफोन भोङ्छिङ्खाम भन्छन्, ‘म नेपाल आउन पाउँदा निकै खुसी छु । पहिलो पटक नेपाल आएको हुनाले धेरै उत्साहित छु । हामी लाओसको फुटबल यहाँ देखाउन चाहन्छौं ।’

नेपाली टिम

गोलरक्षक : किरण कुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेण्डर : सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का ।

मिडफिल्डर : पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास ।

फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?