
२४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्ने भएका छन् । नेतृत्वप्रति असन्तुष्ट न्यौपानेले नेकपा एमालेसँग एकता गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका थिए ।
गत २१ र २२ माघको सचिवालय बैठकमा न्यौपानेले राखेको प्रस्ताव अस्वीकृत भएको थियो । त्यसपछि एमालेसँग एकता गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि न्यौपानेलाई एकीकृत समाजवादीले स्पष्टीकरण सोधेको थियो ।
त्यसको जवाफ दिंदै एकीकृत समाजवादी परित्याग गर्ने तयारी न्यौपानेले गरेका छन् । पार्टी परित्यागको घोषणा गर्ने गरी उनले शनिबार दिउँसो २ बजे अनामनगरमा पत्रकार सम्मेलन राखेका छन् ।
स्रोतका अनुसार, शनिबार एकीकृत समाजवादी परित्यागको घोषणा गरे पनि न्यौपाने तत्काल एमाले प्रवेश गर्ने छैनन् । ‘अहिले समाजवादी छोड्ने मात्रै हो, एमाले प्रवेशबारे भने कुराकानी बाँकी छ’, एक नेताले भने ।
२ भदौ २०७८ मा माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बन्दा न्यौपानेले एमाले परित्याग गरेका थिए । न्यौपाने अहिलेको एमालेका संस्थापक नेता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4