+
+

पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश राष्ट्रिय हक्कीको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १५:१२

२५ चैत, विराटनगर । विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

शनिबार लिग चरणमा सबै खेल पूरा हुँदा अंक तालिकाको आधारमा समूहमा त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह बीमा पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश छन् ।

प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेलमा आर्मी र मधेस प्रदेश तथा दोस्रो खेलमा सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरेका थिए । मधेस प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।

त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेश २–२ गोलको बराबरी खेलेर अंक बाँड्दै लिग चरणबाट बहिरिएका छन् । गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे । कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भए ।

नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल

नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल शुक्रबार राति भएको छ ।

सो खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल अन्तरमा पराजित गरेको छ । आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे । गण्डकीका असिम बाहेकले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने भए ।

प्रतियोगिताका संयोजक तथा पूर्व अन्र्तराष्ट्रिय खेलाडी रञ्जन थापाका अनुसार हक्कीलाई रात्रीकालीन बनाउन सकिने आधार तयार गर्ने क्रममा पहिलो पटक विराटनगरमा रात्रीकालीन खेल सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?