+
+

संसदमै अर्धनग्न बने सांसद अमरेशकुमार सिंह

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० वैशाख २५ गते ११:३१

२५ वैशाख, काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको नियमावलीको नियम २१ मा संसदमा हुने छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम सम्बन्धी व्यवस्था छ ।

सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ ।

तर, सांसद सिंहले सभामुखले अनुमति नदिएपछि विरोधका रुपमा लुगा खोलेका हुन् ।

संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ । यो नियमावलीको व्यवस्था उलंघन गरेको भन्दै सभामुख घिमिरेले अन्यथा कारबाही हुने चेतावनी दिए ।

‘तपाईंलाई म चेतावनी दिन चाहन्छु । तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नुस्,’ सभामुख घिमिरेले भने । तर, सांसद सिंहले मानेनन् ।

त्यसपछि सभामुख घिमिरेले सभामुखको निर्देशन नमान्दा कारबाही हुने चेतावनी दिए । प्रतिनिधिसभा नियमावलीको नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ । चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्ने नियमावलीमा उल्लेख छ ।

सभामुखको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने अधिकार राख्दछन् । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर जानु पर्नेछ र त्यस बैठकमा सांसद बाँकी अवधिको बैठकमा उपस्थित हुन नपाउने व्यवस्था छ ।

सभामुखको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्ने अधिकार सभामुखमा रहने व्यवस्था नियमावलीमा छ ।

बैठकबाट निष्काशित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । जानीजानी बारम्बार अभद्र व्यवहार गर्ने वा संविधान वा प्रतिनिधिसभा नियमावलीको जानीजानी उल्लङ्घन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले तोक्न सक्ने र निलम्बनसम्म गर्न सक्ने व्यवस्था छ ।

सभामुख देवराज घिमिरेले कारबाहीकै चेतावनी दिएपछि सांसद सिंह सर्ट लगाएर आफ्नो सिटमा बसे । त्यसपछि सभाको कामकारबाही अगाडि बढ्यो । लगत्तै शून्य समयमा बोल्दै एमाले सांसद अच्युतप्रसाद मैनालीले सांसद सिंहको स्वास्थ्य जाँचको माग गरे । उनले भने, ‘संसदमा जे गतविधि देखा परेको छ । म मननीय सदस्यको स्वाथ्य जाँचको माग गर्दछु ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?