+
+
महिला फुटबल  :

भारतमा चम्कँदै नेपाली खेलाडी, घरेलु फुटबल शून्य

भारतीय लिगमा गएर नेपाली खेलाडीले उच्च प्रदर्शन गरिरहेका छन् । तर नेपाली खेलाडीहरु आफ्नै देशमा लिग खेल्न नपाउँदा भने दु:खी छन् ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० वैशाख २६ गते १४:४५

२६ वैशाख, काठमाडौं । भारतमा अहिले महिला फुटबल लिग सञ्चालन भइरहेको छ ।  इन्डियन वुमन्स लिग आईडब्लूएलमा  नेपाली महिला फुटबलकी गोलमेसिन सावित्रा भण्डारी ‘साम्बा’ चम्किरहेकी छन् । उनले पाँच खेल खेल्दा तीन खेलमा ह्याट्रिकसहित सर्वाधिक १५ गोल गरिसकेकी छन् । लिगमा अझै खेलहरु बाँकी रहेकोले उनको गोल संख्या थपिने पक्का छ ।

विदेशी लिगमा गएर नेपाली खेलाडी चम्कनु र उच्च प्रदर्शन गर्नु खेलाडी र देशकै लागि राम्रो हो । तर नेपाली खेलाडीहरु आफ्नै देशमा लिग खेल्न नपाउँदा भने दु:खी छन् ।

नेपालको घरेलु फुटबलको संरचना पुरानो शैलीको हुनु र महिला फुटबलको त अझ संरचना नै नहुनुले महिला फुटबलरले प्रतियोगिता खेल्न धेरै कुर्नुपर्छ ।

तर छिमेकी देशहरुमा भने अवस्था फरक छ । भारतमा महिला लिग भइरहेको छ भने  बंगलादेशले एसियाकै पहिलो महिला फेञ्चाइज लिग फुटबलको घोषणा गरिसकेको छ । उक्त फ्रेन्चाइज फुटबल यही मेमा सुरु गर्ने तयारी छ । जहाँ दक्षिण एसिया देखि विश्वका अन्य देशका खेलाडी समेत आउने त्यहाँका सञ्चारमाध्यले जनाएका छन् ।

भारत महिला फुटबलमा दक्षिण एसियाकै पावर हाउस हो उपाधि जितेको हिसावमा । भारत र नेपाल दुवैलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिप जितेको बंगलादेश दक्षिण एसियामै उदाउँदा शक्ति बनेको छ ।

नेपाल भने प्रतियोगिताको केही अघि मात्र तयारी सुरु गरेर उपाधि जित्ने लक्ष्य राख्नमै सिमित छ । घरेलु प्रतियोगिताहरु नहुँदा खेलाडीहरु निराश छन् ।

पहिलो पटक भारतीय लिग खेल्दा उत्साहित भए पनि मिडफिल्डर रेनुका नगरकोटे नेपालमा खेल नहुँदा दु:खी छन् । ‘नेपालमा गेम नहुँदा दु:ख लाग्छ । तर बाहिर आएर खेल्दा नेपालकरो नाम राख्न पाउँदा नेपालबाट आएको खेलाडी भन्दा खुशी मिल्छ,’ किकस्टार्ट एफसीबाट भारतीय महिला लिग खेलिरहेकी रेनुकाले भारतबाटै अनलाइनखबरसँग भनिन् ।

नेपालमा पनि नियमित लिग हुने हो भने खेलाडीलाई एस्पोजर मिल्ने र नयाँ खेलाडीहरुले पनि अवसर पाउने उनको विश्वास छ । रेनुका जस्तै पहिलो पटक भारतीय महिला लिग खेलिरहेका सरु लिम्बु, रेखा पौडेल र एन्जिला तुम्बापो पनि उत्साहित छन् । तर विदेशी लिग निश्चित अवधिका लागि हुन्छ । आफ्नै देशकमा लिग वा प्रतियोगिता नहुँदा भने उनीहरुले आफ्नो प्रदर्शन देखाउने अवसर पाउँदैनन् । जसले गर्दा राष्ट्रिय टिमको प्रदर्शनमा पनि असर गर्छ ।

आईडब्लुएल : ६ खेलाडी ५ टिम

भारतीय महिला लिगमा यस पटक नेपालबाट ६ खेलाडी सहभागी छन् । प्राय सबै खेलाडीले पहिलो रोजाईँमै खेलिरहेका छन् ।

यसअघि भारतीय लिग खेलिसकेका सावित्रा भण्डारी र अनिता बस्नेतसहित नेपाल महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा, पूर्व कप्तान रेनुका नगरकोटे युवा फरवार्ड रेखा पौडेल र युवा मिडफिल्डर सरु लिम्बु छन् ।

सावित्राले साविक विजेता गोकुलम केरलाबाट खेलिरहेकी छन् । यसअघि सावित्रा र अनिता बस्नेतले खेलिसकेको टिम सेथु एफसीबाट यसपटक कप्तान एन्जिलाले खेलिरहेकी छन् ।

सरु लिम्बु र रेनुका नगरकोटे ।

यस्तै रेनुका र सरुले किकस्टार्ट एफसी तथा रेखाले स्पोर्ट्स ओडिसाबाट खेलिरहेका छन् । अनिता बस्नेतले भने नयाँ टिम लर्ड्स एफबाट खेलिरहेकी छन् । रेनुका र अनिता बाहेक सबै खेलाडीले पहिलो रोजाईँमा खेल्ने अवसर पाएका छन् । यी दुई खेलाडीले वैक्लपिक खेलाडी रुपमा मैदानमा अवसर पाएका छन् ।

सावित्रा गोल मेसिनकै रुपमा देखिएका छन् । उनले गोल गर्नमा भारतकै स्टार खेलाडीहरुलाई पछि पारेकी छन् । यसले पनि सावित्रा नेपाल मात्र नभएर दक्षिण एसियाकै स्टार खेलाडी भएको प्रमाणित गर्छ ।

सावित्राले तीन खेलमा ह्याट्रिक गर्दा एक खेलमा दुई गोल गरेकी थिइन् । एक खेलमा भने उनी गोलविहिन भइन् । जुन खेलमा गोकुलम केरला मिसाकासँग गोलरहित बराबरीमा रोकिएको थियो । सावित्राले पहिलो खेलमा इस्ट बंगला विरुद्ध ५, दोस्रो खेलमा स्पोर्ट्स ओडिसा विरुद्ध ४ गोल गरेकी थिइन् । तेस्रो खेलमा होप्स विरुद्ध २ गोल गरिन् । यस्तै पाँचौ खेलमा कहानी विरुद्ध ४ गोल गरिन् । सरुले ४ तथा रेखाले ३ गोल गरेकी छन् ।

यस्तै पोष्टमा एन्जिला अब्बल देखिएकी छन् । उनले पाँच मध्ये चार खेल खेल्ला तीन खेलमा क्लिनसिट राखेकी छन् ।

समग्रमा नेपाली खेलाडीहरुको प्रदर्शन हेर्न लायक नै छ ।

सावित्रा भण्डारी ।

सावित्रा रहेको टिम गोकुलम केरला ५ खेलमा १३ अंकसहित समूहको शीर्ष स्थानमा छ । यही समूहमा रहेको रेखा सम्मिलित टिम स्पोर्ट्स ओडिसा ९ अंकसहित पाँचौ स्थानमा छ ।

समूह बीको शीर्ष स्थानमा रहेको एन्जिला सम्मिलित सेथुले शतप्रतिशत जित निकालदै १५ अंक जोडेको छट । सरु र रेनुका रहेको टिम किकस्टार्ट एफसी १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

अनिता सम्मिलित लर्डस समूह बी मा ३ अंकसहित छैटौं स्थानमा छ ।

यस पटक आईडब्लुएलमा फर्म्याट केही फरक छ । जसमा १६ टिम सहभागि हुँदा ८-८ टिमको दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।

दुवै समूहबाट शीर्ष चारमा रहने टिम क्वाटरफाइनल प्रवेश गर्नेछन् । यही ८ टिम अर्को सिजनको महिला लिगका लागि सिधै छनोट हुनेछन् ।

महिला फुटबलमा भारतमा जस्तो नेपालमा छैन निरन्तरता

छिमेकी देश भारतले विदेशी खेलाडीलाई सहभागी गराइ महिला लिग फुटबल आयोजना गरिरहँदा नेपालमा भने घोषित प्रतियोगिता नै पूरा हुन पाएन ।

२०७७ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला डबल लिगका आधारमा राष्ट्रिय महिला लिगको सुरुवात गरेको थियो । जसमा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबसहित नगरपालिकाका टोली गरी कूल ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

भारतदेखि अफ्रिकासम्मका खेलाडीहरु नेपाल आएर खेलेका थिए । जसले महिला फुटबलमा पनि एउटा माहोल बनाएको थियो ।

त्यसैको निरन्तरता स्वरुप २०७८ सालमा पनि महिला राष्ट्रिय लिग सुरु भयो । तर बिडम्बना डबल लिग सिंगल लिगमै सकियो ।

२०७८ फागुन २४ देखि चैत ३० गतेसम्म चितवनमा महिला राष्ट्रिय लिगको पहिलो चरण सम्पन्न भएको थियो । तीन विभागीय सहित ८ टिम सहभागी थिए । २०७७ को लिगको शीर्ष ६ टिम यथावत थिए भने  २ नयाँ टिम ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका छनोट चरण पार गरेर आएका थिए  ।

दोस्रो लेग ७ वैशाख २०७८ देखि विराटनगरमा सुरु गर्ने गरी कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेको एन्फाको अघिल्लो कार्यसमितिले विराटनगरमा महानगरपालिकासँग एन्फाले सम्झौता पनि गरेको थियो । तर एन्फा आफ्नै निर्वाचनमा व्यस्त हुँदा मैदानको खेल प्राथमिकतामा पर्न सकेन ।

२०७९ असारमा पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति एन्फामा आएपछि लिग गर्न सकेन ।

नयाँ कार्यसमितिले भदौ-असोजमा साफ महिला च्याम्पियनसप सकिएपछि एन्फाले महिला लिगको दोस्रो चरण सुरु गर्ने बताएको थियो ।

दोस्रो चरण असोज कात्तिकमा सुरु गर्ने एन्फाले बताए पनि सुरु गर्न सकेन । त्यसपछि झन् पछि धकेलिँदै गयो । अन्तिममा एन्फाले पहिलो चरणकै अंकका आधारमा विजेता घोषणा गर्‍यो । जसको कुनै रौनक नै रहेन ।

पहिलो चरणमा एपीएफले खेलेको ७ वटै खेल जितेर शीर्ष स्थानमा थियो ।

समान ५ खेल जितेको नेपाल पुलिस र आर्मी दोस्रो र तेस्रो भयो ।

२०७८ को अन्तिममा पहिलो चरण भएपछि २०७९ सालभर महिला लिग भएन । अहिले एन्फालले जसोतसो पुरुषको शहीद स्मारक ए डिभिजन लिग आयोजना गरिरहेको छ । महिला फुटबलको कुनै चासो नै छैन ।

नेपालको राष्ट्रिय महिला फुटबल टिम ।

गत वर्ष भदौमा नेपालले साफ महिला च्याम्पियनसिपमा आयोजना गरेको थियो । तर भारतलाई हराएको नेपाल बंगलादेशसँग फाइनलमा घरेलु मैदानमै पराजित भएर उपविजेता बन्यो । यसमा घरेलु लिग संरचना नहुनु र नियमित खेल नहुनुको पनि दोष रह्यो ।

२०७८ मा नेपालको महिला टिम अन्तर्राष्ट्रिय प्रतियोगिता भने व्यस्तै रह्यो । तर शुन्य जस्तै घरेलु संरचना र ग्रासरुट बिना खेलेको नेपालले साफ महिला यू-१५ च्याम्पियनसिपको उपाधि जित्नु बाहेक अन्यमा सफलता पाउन सकेन ।

अहिले भारत र बंगलादेशले महिला फुटबललाई निकै महत्व दिएर अगाडि बढाइरहेको छ । भारतीय फुटबल महासंघले भिजन २०४७ सार्वजनिक गर्दै पुरुष र महिला फुटबल दुवैमा सर्ट टर्म र लङ टर्म लक्ष्य सहित काम गरिरहेको छ । बंगलादेश फुटबल फेडेरेसनले पनि लामो समयदेखि महिला फुटबलमा गरेको लगानीको प्रतिफल अहिले देखिन थालेको छ ।

एन्फा भने बोलीमै मात्र महिला र पुरुष दुवैको साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको छ । तर त्यही अनुसारको लगानी र तयारी गरेको भने देखिँदैन ।

के छ एन्फाको तयारी ?

नगरपालिकाको टिम सहभागी हुनुअघि विभागीय टोली र विकास क्षेत्रकै टिमहरु सहभागी महिला लिग हुने गरेका थियो । जसमा तीनवटा विभागनै हावी हुन्थे । यो लिग पछिल्लो पटक सन् २०१८ मा आयोजना भएको थियो । त्यसपछि कोभिड-१९ महामारीले गर्दा महिलाको लिग भएन ।

त्यसपछि एन्फाले फिफाको सहयोगमा दुई चरणको उपमेयर कप गर्दै महिला राष्ट्रिय लिग आयोजना गरेको थियो । नगरपालिकाको टिम सहभागी हुँदा समस्या हुने भन्दै एन्फाको नयाँ कार्यसमितिले फेरि नयाँ शैलीमा महिला लिग फुटबल आयोजना गर्ने तयारी गरेको छ । ‘यसअघि नगरपालिकाको टिम सहभागी थियो । तर पालिकामा निर्वाचनपछि नेतृत्व परिवर्तन हुँदा बजेट लगायत विषयमा समस्या भयो’, एन्फा प्रवक्ता सुरेश शाहले भने ।

यसअघि महिला लिगको दोस्रो चरण आयोजना गर्न नसकेको एन्फाले अहिले विभिन्न बहाना बनाएर टार्‍यो । अब भने एन्फाले महिला फुटबलको लागि नयाँ प्रोसेस सुरु गरेको शाहले बताए । ‘अब महिला फुटबलमा पनि नगरपालिकाको सट्टा क्लब समावेश गर्ने गरी प्रोसेस भइरहेको छ । यसमा ए डिभिजन क्लबका महिला टिम वा अन्य क्लब समेत हुन सक्छन्’, प्रवक्ता शाहले छोटकरीमा प्रतिक्रिया दिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?