
११ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ ।
एन्फा मुख्यालयमा भएको खेलमा सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराउँदै फ्रेण्ड्सले महत्वपूर्ण ३ अंक बटुलेको हो ।
फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे ।
खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २–० को अग्रता दिलाएका थिए ।
खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई ३–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४–० को जित निश्चित गरे ।
जारी लिगमा छैटौं जित निकालेको फ्रेण्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेण्ड्स १२ औं स्थानमा छ । फ्रेण्ड्सभन्दा मुनि संकटा क्लब (२३ अंक) र एफसी खुमलटार (२१ अंक) छन् । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ र उ अंक तालिकाको पाँचौ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4