+
+

ओली रिसाएपछि मणि थापा छुट्टीमा

कतिपयले निलम्बित एमाले सचिव टोपबहादुर रायमाझी शरणार्थीको नक्कली सूची प्रकरणमा मुछिएसँगै एमालेमा जाने पूर्वमाओवादी समूह असन्तुष्ट बन्न थालेको चर्चा गरेका छन् । एमाले स्रोत भने थापाको निस्क्रियतासँग त्यस प्रकरणको सम्बन्ध नरहेको बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १२:५५

२९ जेठ, काठमाडौं । एमाले स्थायी कमिटी सदस्य मणि थापाले पार्टीसँग छुट्टी मागेका छन् । यति बेला उनले विकल्पका बाटाहरुबारे सोचिरहेको चर्चा छ । थापाले एमाले महासचिव शंकर पोखरेल र केही नेतासँग भेटेर आफू छुट्टी बस्न चाहेको भनाइ राखेपछि पार्टीले यसलाई स्वीकृत गरेको हो ।

एमालेले जारी गरेको पछिल्लो अन्तरपार्टी निर्देशन (अपानि)मा थापा छुट्टीमा रहेको उल्लेख छ । ‘उहाँले छुट्टी माग्नुभयो, हामीले दियौं,’ एमालेका एक उच्च नेताले भने, ‘यस्तै हो, कोही थाक्छन्, कोही बिरामी हुन्छन् । पार्टीमा सकुन्जेल र मन लागुन्जेल काम गर्ने न हो ।’

थापालाई नजिकबाट जान्नेहरुका अनुसार थापा छुट्टी बस्नुको खास कारण अर्कै छ । हाल नेकपा एकीकृत समाजवादीका महासचिव रहेका तत्कालीन एमाले नेता घनश्याम भुसालको संयोजनमा काभ्रेको पनौतीमा पोहोर साउनमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा थापाले दिएका अभिव्यक्तिले एमालेभित्र खैलाबैला भएको थियो । उनले त्यहाँ पीताम्बर शर्माको कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा एमाले नेतृत्व दक्षिणपन्थी भइसकेको आलोचना गरेपछि अध्यक्ष केपी ओली उनीसँग क्रुद्ध भएका थिए ।

‘परिवर्तन सही ढंगले समयमा संस्थागत नहुँदा दक्षिणपन्थ मौलायो, त्यसले समग्र नेतृत्वलाई नै दक्षिणपन्थी बनायो,’ थापाले भनेका थिए, ‘एमाले पनि दक्षिणपन्थी भयो । दक्षिणपन्थी हुने क्रम नेतृत्वबाट सुरु भयो ।’

एमालेमै छु । अन्त जाने सोच बनाएको छैन अहिले । लेख्ने पढ्ने नै हो

थापाले भनेका थिए, ‘अहिले नेपालमा भएका सबैजसो पार्टीहरु दक्षिणपन्थी हुन् । अहिले म एमालेमा छु । यो पनि दक्षिणपन्थी हो । विद्रोह गरेर नयाँ  कडा  वामपन्थी पार्टी बनाउनुपर्छ । अरुले कोसिस गर्ने हो भने म साथ दिन तयार छु ।’

स्रोतका अनुसार त्यसपछि अध्यक्ष ओलीले थापाका बारेमा कडा टिप्पणी गरेका थिए । ‘स्थायी कमिटी सदस्य भनेको पार्टीको नेतृत्व नै हो, उसैले दक्षिणपन्थी मानेर कसरी काम गर्न सकिन्छ,’ ओलीले थापाका बारेमा गरेको टिप्पणी उद्धृत गर्दै स्रोतले भन्यो । त्यसपछि नै उनी निस्क्रिय बन्ने क्रम सुरु भइसकेको थियो ।

कतिपयले निलम्बित एमाले सचिव टोपबहादुर रायमाझी शरणार्थीको नक्कली सूची प्रकरणमा मुछिएसँगै एमालेमा जाने पूर्वमाओवादी समूह असन्तुष्ट बन्न थालेको चर्चा गरेका छन् । एमाले स्रोत भने थापाको निस्क्रियतासँग त्यस प्रकरणको सम्बन्ध नरहेको बताउँछ ।

थापाले अनलाइनखबरसँग कुरा गर्दै आफू निस्क्रिय बस्नुका कारणहरु बताए । ‘पार्टीभित्र काम गर्ने वातावरण बनिरहेको थिएन, त्यसैले म मिसन ग्रासरुट्स लगायत कुनै पनि अभियान र काममा सामेल भएको थिइनँ,’ उनले भने, ‘केही समय लेख्ने पढ्ने हो ।’

अनलाइनखबर : ‘लेखपढ गर्न पार्टी काम नै छाड्नुभएको ?’

थापा : खास चैं भित्र बसेर काम गर्ने वातावरण बनिरहेको थिएन । म स्थायी समितिमा बसे पनि सजिलो अनुभूति भएन ।

अनलाइनखबर : उसो भए तपाईं अहिले एमालेमा हुनुहुन्छ कि हुनुहुन्न ?

थापा : एमालेमै छु । अन्त जाने सोच बनाएको छैन अहिले । लेख्ने पढ्ने नै हो क्या ।

अनलाइनखबर : तपाईं विप्लवको समूहमा जाने कुरा बाहिर चलेको छ ।

थापा : त्यो सत्य होइन । म अहिले कतै जाँदिन । एमालेको सदस्यता त्यागेको छैन ।

अनलाइनखबर : एमालेमा बसिरहेका पूर्वमाओवादी नेताहरुको अवस्था के छ ?

थापा : माओवादीबाट आउने नेता साथीहरुको समग्र अवस्था पनि मेरो जस्तै हो । उहाँहरुलाई पनि एमालेमा बसेर काम गर्ने वातावरण बनिरहेको छैन ।

अनलाइनखबर : मेसो मिलाएर माओवादी केन्द्र, विप्लव या अन्त कतै जाने होला नि ?

थापा : कुनै सोचाइ बनाएको छैन । अहिले त्यता नजाउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?