+
+

जागिरे भर्सेज बेरोजगार बुहारी

काम हुनलाई १० बजे अफिसको झोला बोकेर मात्रै कुद्नुपर्ने हो कि ? के देखिने काम त्यो मात्रै हो ? अरू कुनै काम होइन ?

यमुना अर्याल (काफ्ले) यमुना अर्याल (काफ्ले)
२०८० असार ४ गते १०:५४

अफिसबाट घर फर्कंदै थिएँ । अनुहारमा मास्क, टाउकोमा पछ्यौरा बेरिएको, हातमा औषधिका बट्टा सहितको झोला बोकेकी महिला मेरै सामुन्ने आएर कराइन्- ओईऽऽ मलाई चिन्यौ ?

यसो हेरें, दोधारमा परें । अनुहार पूरै नदेखेकोले ठ्याक्कै चिन्न सकिनँ ।

तिमीलाई मैले परैबाट चिनें, तर तिमीले मलाई के चिन्थ्यौ र ? तिमी जागिरे पर्‍यौ, हामी घरबारे ! यति भनेर ती महिलाले मास्क खोलिन्, अनि बल्ल उनलाई चिनें । पुरानो साथी रहिछन् । एकैछिन अघि उनलाई चिन्न नसकेकोमा ग्लानि पनि भयो । साथीसँग माफी मागें ।

तिमी कहाँबाट आउँदै छौ ? अफिसबाट होला होइन ? साथीले प्रश्न गरिन् । जवाफमा हो, भनें ।

तिमी त कति भाग्यमानी छौ है ! जे भए पनि जागिर खान पाएकी छौ ! केही काम बिगारे पनि जागिरेलाई घरका सबै कुरा कहाँ थाहा हुन्छ र ? भन्ने छुट पाएकी छौ ।

सरकारले दिएका बिदा पाएकी छौ, सबैतिरबाट इज्जत पाएकी छौ ! घर, टोल, छरछिमेक सबैजनाले फलानी त, फलानो अफिसकी जागिरे भन्छन्, तिमी भाग्यमानी हौ !

किन यस्तो कुरा गरेकी ? यत्रो पढेको मान्छे, हिम्मतिलो मान्छेले यस्ता कुरा गर्न सुहाउँछ र ? जागिर बाहेकका विकल्प छैनन् र ? तिमी त होम ट्युसन पढाएर पनि आफ्नो खर्च क्याम्पस पढ्दाखेरि नै जुटाउँथ्यौ होइन र ? त्यो बेलादेखिको हिम्मतिलो साथी अहिले निराशाका कुरा गर्न सुहाउँछ ?

मेरा कुराले साथी अवाक् बनिन् । मेरो त्यो इतिहास भइसक्यो साथी । एकैछिन बसेर गफ गरौं न । कति समयपछि भेटिएका छौं ! नजिकैको कफी पसलमा जान इशारा गरिन् । दुवै जना पसलमा गयौं ।

यो औषधि कसको लागि ? मैले कुरा अन्तै मोड्न खोजें ।

हुन त घर-घरका यस्ता कहानी धेरै हुन्छन् तर शिक्षित, सचेत परिवारमा महिलाहरू कसरी प्रताडित भएका रहेछन् भन्ने ज्वलन्त उदाहरण साथी स्वयम् रहिछन् ।

ससुराको लागि, ससुरा बालाई दम, सुगर छ त्यसकै औषधि ल्याएको ! साँझ खाने औषधि छैन, खाने बेलामा हातमा औषधि पुगेन भने बबाल गर्छन् ससुरा बा ! त्यति राम्रोसँग कान सुन्दैनन्, चित्त बुझाउन धेरै गाह्रो छ ।

साथीले धेरै कहानी सुनाइन्, हुन त घर-घरका यस्ता कहानी धेरै हुन्छन् तर शिक्षित, सचेत परिवारमा शिक्षित महिलाहरू कसरी प्रताडित भएका रहेछन् भन्ने ज्वलन्त उदाहरण साथी स्वयम् रहिछन् ।

साथी अस्मिता पराजुली (नाम परिवर्तन) परिवारकी कान्छी बुहारी । उनको सगोलको परिवार, अहिले शहरमै बसोबास गर्छ । अस्मिताका श्रीमान्, जेठाजु र जेठानी तीनै जना सरकारी जागिरे । उनको परिवारमा अस्मिता मात्रै बेरोजगार छन् । अस्मिताका दुईवटी नन्दले एकैचोटि लोकसेवा पास गरेका रहेछन् । त्यसपछि त के चाहियो र ? सबैतिरबाट घोंचिदा, थिचिंदा, चेप्टिंदा अस्मिताको हड्डी नै मक्किन लागिसकेको रहेछ । केही गरौं भन्दा पनि यो सुन्दा, त्यो सुन्दा गर्ने जाँगर पनि मर्दो रहेछ, भित्रैदेखि मन मरेपछि कसको के लाग्छ र ? म त्यस्तै भएकी छु ! अरूले त हौसला दिन्छन् तर मेरो परिवारमा त छेडखानी मात्रै हुन्छ साथी- अस्मिताले सुनाएकी थिइन् ।

दुईवटी नन्द एउटी आफ्नै अर्की काका ससुराकी छोरी ! ओहो यी नानीहरूको नाम निस्केपछि त पूरै ब्रहृमाण्डै जिते जस्तो भयो परिवारमा । भर्खर ब्याचलर सिध्याएका थिए, दुवै जनाले शाखा अधिकृतमा नाम निकाले । मानौं यो दुनियाँमा अधिकृत हुने सायद यी दुई जना सिवाय कोही छैन जस्तो माहोल बन्यो । हुन त मिहिनेतको फलको स्वाद मीठो लाग्नु स्वाभाविक नै हो, तर स्वाद पाएँ भन्दैमा अरूको मुख टर्रो बनाउन त पाइएन नि होइन र ?

मैले हरेक दिन पकाएर खुवाएँ, यो चाहियो भाउजु, त्यो चाहियो भाउजु भने ! सबै विस्तरामै पुर्‍याएँ, परीक्षा नसिध्याउन्जेलसम्म दुवै नन्द एकै ठाउँमा बसेर पढे । एउटा ढलेको सिन्कोधरी उठाएनन्, यति गरेर पढेर नाम निकाले । उनीहरूको भाग्य र मिहिनेतले जित्यो म खुसी छु । तर मेरा यी नन्दले हाम्रो लागि भाउजुले पनि सहयोग गरेकी छ भनेर एक बचन सोचेनन् । एकपटक भाउजु तपाईंको पनि सहयोग छ भन्दै भनेनन् । हुन त यिनीहरूले भने पनि नभने पनि के नै हुने हो र ? तैपनि यसो मन राख्न त सकिन्छ नि ! अहँ त्यो फिटिक्कै भएन ।

मलाई कुनै गुनासो पनि छैन र थिएन पनि । तर हामी कुन संस्कार सिक्दै आएका छौं भन्ने महत्वपूर्ण कुरा लाग्दो रहेछ । अहिले नन्दको बिहे भइसकेको छ । हाम्रो दश जनाको परिवार छ ।

हरेक दिन बिहान सबै जनालाई अफिस जानकै चटारो हुन्छ, सिवाय अस्मिता । उनकै शब्दमा भन्दा अस्मिता कुनै काम नभएकी, दिनभरि घरमा मात्रै बस्ने बेरोजगार महिला जो परिन् । सासूले पनि खासै जेठानीलाई काम लगाउँदिनन् रे, बिचरी दिनभरि अफिसमा थाकेर आउँछे, राति अबेरसम्म खै के पढ्दै थिई, अफिसकै काम बाँकी छ भन्दै थिई, तिम्रो के काम छ र ? कहीं जानु छैन, दिनभरि घरमै बस्ने हो क्यारे ! अस्मिता यो गर, त्यो गर- सबैको फर्माइस अस्मिताले पूरा गर्नुपर्छ ।

जसको हात एकछिन खाली हुँदैन ऊ काम नभएको रे ? यो कस्तो खालको मानक हो ? काम हुनलाई १० बजे अफिसको झोला बोकेर मात्रै कुद्नुपर्ने हो कि ? के देखिने काम त्यो मात्रै हो ? अरू कुनै काम होइन ?

कहिलेकाहीं त आफ्नै मन विस्फोट होला जस्तो हुन्छ तर भएर के गर्नु ? आफू बेरोजगारी परियो । कुनै काम नभएको तर एक मिनेट फुुर्सद पनि नहुने परियो ! अस्मिताले दुःखेसो सुनाएकी थिइन् ।

सुन्दा सामान्य जस्तो लाग्छ तर कण-कणमा विभेदका झिल्काहरू देखिन्छन् । ‘जेठानी बिहान अबेरसम्म सुत्दा पनि खासै तनाव हुँदैन, सासूआमा बुझकी छन्, दिनभरिको कामले थाकेकी होली, एकछिन आराम गरोस् न त, अस्मिता अहिले ढिलो हुन्छ भान्साको काम छिटो गर’, हरेक दिनजसो यस्तै माथिको आदेश आउँछ ।

म यतिविधि गँवार थिएँ भने ७० प्रतिशत नम्बर ल्याएर मास्टर्स पास हुने थिइनँ होला । मेरा सर्टिफिकेटको नम्बर मैले आफैंले लेखेर आएको हो महोदय, म कामै नलाग्ने केटी पनि होइन ! कहिलेकाहीं त ग्वाँ-ग्वाँ रुन मन लाग्छ साथी, तर के गरौं ?

म ‘हस् साब भन्नुपर्ने हालतमा बस्नुपर्छ । सबैतिर फनफनी घुम्नुपर्छ मैले । मलाई कहिल्यै थाक्ने छुट छैन, किनकि म बेरोजगार हुँ, दिनभरि घरमै बस्छु, मेरो कुनै काम छैन’, भेटमा अस्मिताले विरह सुनाएकी थिइन् । घरमा कोही सहयोगी राख्न हुँदैन, बाआमाले अरूले पकाएको नखाने, म अफिस नजाने ! अनि के चाहियो र ?

‘घरमा कोही आफन्त आउँछन्, जागिरेहरूको पारा बेग्लै हुन्छ । ओहो ठूली बुहारीको यसपालि बढुवा भएछ है, गर्नेहरू त जसरी पनि प्रगति गर्छन्, घर धानेर, दुईवटा बच्चा हुर्काएर पनि बढुवा भइछाड्यौ !’ जेठानीतिर हैसिएको नजर अस्मितातिर र्फकंदा खिसि्रक्क पर्छ, ‘ए कान्छी तिमीले कतै कोसिस गरिनौ ? यसो जेठानी दिदीसँग सिके हुने, घरभरि सरकारी जागिरेको ताँती छ, बाँकी तिमी मात्रै भयौ !’

यस्ता कुरा सुन्दा कस्तो हुन्छ होला ? मन कसरी मडारिन्छ होला ? अस्मिताको अनुहारमा एकाएक ग्रहण लाग्छ तर वाक्य फुट्दैन, उनीसँग जवाफको लागि कुनै शब्द हुँदैन । ‘घरको सारा कामधन्दा सिध्याउने, कामदार भन्दा चर्को भूमिका मेरो तर बाहिर देखिंदा घर धानेर नाम निकाल्ने जेठानी रे ! यत्रो घर धानेको कसैले देख्दैन, जागिर नखाएको सबैले देख्छन् । कहिलेकाहीं त आफ्नै जिन्दगी एकदम दिक्दार लाग्छ’, अस्मिताको थप गुनासो थियो ।

पहिले पहिले त श्रीम्ाान्ले यो पढ, त्यो पढ, पढेपछि नाम निस्कन्छ भन्थे तर आजकल श्रीमान् पनि मसँग, मेरो क्षमतासँग विरक्तिएका छन् । कहींकतै विज्ञापन देखें भने सोध्छु- ए बुढा यसमा फारम भर्दा कस्तो होला ? पाठ्यक्रम कस्तो छ ? मलाई ल्याइदिनुस् न !

मेरो प्रश्नमा श्रीमान् केही बोल्दैनन् ।

एकैछिनमा जवाफ आउँछ, नाम निकाले जहाँ पनि राम्रो हुन्थ्यो नि, फारमको पैसै उठ्दैन र पो चिन्ता भयो नि ! जतिपटक जाँच दिए पनि नाम निकाल्ने होइन, बेकारमा पैसाको नाश !

यसपछि मसँग के शब्द बाँकी होला र ? जसले ढाडस दिनुपर्ने हो उही मसँग नकारात्मक भएपछि अरूको भरोसा कसरी हुन्छ ? म यतिविधि गँवार थिएँ भने ७० प्रतिशत नम्बर ल्याएर मास्टर्स पास हुने थिइनँ होला । मेरा सर्टिफिकेटको नम्बर मैले आफैंले लेखेर आएको हो महोदय, म कामै नलाग्ने केटी पनि होइन !

कहिलेकाहीं त ग्वाँ-ग्वाँ रुन मन लाग्छ साथी, तर के गरौं ?

हेर साथी, जागिरेहरूको भीडमा एकजना बेरोजगारी बुहारी थपिनुपर्छ, मानसिक रोग खोज्न कहीं जानुपर्दैन रहेछ आफ्नै घर काफी हुन्छ । कमाउने बुहारीको रवाफ बेग्लै हुन्छ । आमा मेरो आज तलब आएको, ल यो किन्नुस्, त्यो किन्नुस्, तपाईंलाई यो मन पर्छ ? मैले ल्याइदिएको ! यस्ता कुरा सुनेपछि सासुआमा मख्ख । जेठी बुहारीले यो ल्याइदिई, यति पैसा दिई तर कान्छीले के गरी ? कान्छीले उनकै छोराको कमाइ खानुपरेको छ उसले के गर्न सक्छे र ? जो पनि बलेको आगो ताप्ने रहेछन् ।

कान्छीको त कुनै कामै छैन, दिनभरि घरमै बस्ने हो, ऊ बेरोजगार हो ।

अस्मिताको पीडा बेग्लै छ । उनले मास्टर्स पढेकी छन् । प्राइभेट अफिसमा जागिर गर्दैथिइन्, त्यही बेलामा बिहे भयो । बिहेपछि परिस्थिति बदलियो । परिवारको दबाबमा प्राइभेट जागिर छोडिन्, लोकसेवा पढ्नुपर्छ भन्ने सबैको भनाइ थियो । अस्मिता पनि हौसिएकी थिइन्, जसरी पनि सरकारी जागिरे हुने सोच पलाएको थियो । बिहेको एक वर्ष पछि उनी गर्भवती भइन् । बच्चा जन्माएपछि पनि कोसिस छाडिनन्, सुत्केरी भएर माइतीमा बस्दा पनि पढाइ छोडिनन् रे ! बल्लतल्ल एकठाउँमा नाम निस्केको पनि थियो, तर अन्तर्वार्तामा छनोट भइनन् ।

त्यसपछि उनको पदस्थापन वैकल्पिकमा मात्रै भइरहेको छ । ‘कान्छी यो काम गर, यो नभए त्यो गर हरेक स्थानमा वैकल्पिकमा पर्दै आएकी छु, मास्टर्स पढेर यति बचन सुनी-सुनी घरमा बस्नु मेरो रहर त पक्कै होइन होला तर मेरो कामको मूल्यांकन कहिल्यै कसैले नगरेको देख्दा चाहिं उदेक लाग्छ । जागिरेको त एकोहोरो काम हुन्छ, थाक्न त उनीहरू पनि काम गर्नै जाने हुन् थाक्छन् होला तर घरमा बस्ने भन्दैमा उपरखुट्टी लगाएर त कोही बस्दैन नि ? घरको काम कति हुन्छ ? त्यो कामको मूल्यांकन कहिले हुन्छ ? कसले गर्छ ?’ अस्मिताको थप दुःखेसो ।

साँझ अफिसबाट फर्केकी जेठी बुहारी थाकेकी हुन्छिन् । ल अस्मिता दिदीलाई एक कप चिया ल्याइदेऊ, दिनभरि काम गर्दा खाजा चिया खाई कि खाइनँ ? मानौं दिनभर अफिसमा जेठी बुहारीले एक कप चियाधरी खान पाइन जसरी । सासूलाई के विधि माया लागेको ! बुहारीको माया हो कि उसको कमाइको माया हो ? दिनभरि यता र उता दौडिने कान्छी तैंले एक कप चिया खाइस् त ! अहँ सासूको वाक्य फुट्दैन ।

बिहान पाँच बजे उठ्यो, घर सफा गर्‍यो, पूजाका भाँडाकुँडा सफा गर्‍यो, घरका सबै जनालाई चिया खुवायो, खाना बनायो, खाना खुवायो । जेठानीलाई सधैं हतार हुन्छ, खाएको थालधरी नपखालीकन हिंड्छिन् । सबैका भाँडा माझ्यो, आफ्ना दुई वटा, जेठाजुका दुईवटा बच्चाबच्चीलाई स्कुल पुर्‍यायो, उनीहरूलाई खाजा नास्ता बनायो, फेरि स्कुलमा लिन गयो, बच्चाबच्ची आएपछि उनीहरूलाई खाजा नास्ता खुवायो, उनीहरूका लुगा धोयो, होमवर्क गरायो, दिउँसोको नास्ता बनायो सासू-ससुरालाई खुवायो । कोही न कोही पाहुना टुट्दैनन् घरमा सबैलाई मेजमानी गर्‍यो, अनि साँझको खाना पकाउने बेला हुन्छ । साँझमा जागिरेहरू थाकेर आउँछन्, दिनभरको यो दौडधुपमा म कति थाक्छु होला ? मेरो गणना कसले गर्छ र ? सासूलाई छिमेकीसँग ठूली बुहारीको कमाइ र उसले बनाइदिएका गहना, उसले किन्दिएका लुगा, उसको बढुवाको तारिफ गरेर फुर्सद हुँदैन ।

कोही बिरामी भेट्न अस्पताल जाने मै काम नभएको, कोही सुत्केरी हुँदा भेट्न जाने मै, कोही गाउँबाट आए लिन, पुर्‍याउन जाने मै, कोही कसैकोमा बिहे-व्रतबन्ध पर्‍यो अरूको फुर्सद हुँदैन जाने मै, घरमा केही काम गर्नुपर्‍यो, अरूको फुर्सद हुँदैन सबै तारतम्य जुटाउने मै तर पनि बेकामे मै !

केही गरौं भन्दा पनि अहिले त दिमागै बोधो भइसक्यो । कुनै दिन थाक्ने छुट हुँदैन, बिरामी हुने छुट हुँदैन, कुनै गुनासो गर्ने छुट हुँदैन । बेरोजगार र जागिरे बुहारीमा यतिविधि विभेद शहरमा शिक्षित परिवारमा भएको देख्दा विरक्त लाग्छ । पैसामै तुलना गर्ने हो भने, मैले गरेको सारा कामको मूल्य कति होला ? जेठानी सरकारी छात्रवृत्तिमा पढ्न भनेर विदेश गइन्, ९ महिनाको बच्चा छाडेर । त्यो बच्चा मैले हुर्काएँ तर जेठानीले मेरो गुन कहिल्यै देखिनन् । साथ सपोर्ट गर्ने त परैको कुरा अझ उनकै डाँको ठूलो हुन्छ, प्रगति गर्नेहरू जसरी पनि प्रगति गर्छन्, नगर्नेहरू बहानाबाजी गर्छन् भन्दै आदर्शका गफ चुट्न व्यस्त हुन्छिन् । उनको ९ महिनाको छोरो दुई वर्षसम्म हुर्काउँदा मैले कति पैसाको हुर्काए होला ? अरुले हुर्काएको भए सित्तैंमा यो काम गर्थे होला र ? परिवारका सदस्य नै बेरोजगार बुहारीलाई यति होलाहोचो गर्छन् कि डिप्रेसनको लेवलमा पुग्न कठिन रहेनछ ।

मासिक पारिश्रमिक नआए पनि जागिर खानेको भन्दा कैयौं गुणा बढी योगदान बेरोजगार बुहारीको छ, यसको मापन कसरी गर्ने सासूआमा ? अस्मिता प्रश्न गरिरहेकी छिन्, यसको जवाफ कहिले आउला ? मलाई घरपरिवारले पैसै दिनु पर्दैन बस्, मैले महिनाभरि गरेको कामको मूल्य कति रहेछ त्यो मात्रै थाहा पाउन पाए कति पैसाको काम गर्दिरहेछु भन्ने थाहा त हुन्थ्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?